काठमाडौं। नेपाल अटोमाबाइल्स एसोसिएसन (नाडा) अध्यक्षमा करण चौधरी सर्वसम्मत चयन भएका छन्। शुक्रबार नाडाको ४७औं साधरणसभाले आगामी कार्यकालका लागि चौधरीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।
नाडा अध्यक्षमा चौधरी र आकाश गोल्छा चुनाव लड्ने निश्चित भए पनि अन्तिम समय गोल्छा पछि हटेपछि करणलाई अध्यक्ष हुने बाटो खुलेको थियो।
वरिष्ठ उपाध्यक्षमा गोल्छालाई नियुक्त गर्ने सहमति बनेको छ। चौधरीपछिको कार्यकालमा गोल्छा स्वतः अध्यक्ष बन्नेछन्।
नवनिर्वाचित अध्यक्ष चौधरीले संगठनमा आबद्ध व्यवसायीको हकहितका लागि एकल र सामूहिक रुपमा काम गर्ने प्रतिबद्धता जनाए।
यस्तै, निवर्तमान अध्यक्ष ध्रुव थापाले देश आर्थिक मन्दीमा गएका बेला व्यवसायीको हकहितका लागि काम गरेको बताए। उनले भने, ‘मैले कार्यकालभर निःस्वार्थ रुपमा सकेको काम गरें। आर्थिक मन्दीका कारण सोचे जति गर्न नसके पनि व्यवसायीमैत्री नीति निर्माणका लागि पहल गरें।’
कार्यक्रममा अर्थमन्त्री डा.प्रकाशशरण महतले अटो व्यवसायीले उठाएका करबारे पृष्ठभूमि बुझ्न जरुरी रहेको बताए। पहिले हुनेखानेले गाडी चढ्छन् भनिएकाले अटो मोबाइलमा धेरै कर लगाउन थालिएको उनको भनाइ छ।
अर्थमन्त्रीले भने, ‘हामी ग्रिन इनर्जीमा जानुपर्छ। त्यसकारण इभीमा कर कम लिएका हौं। बजेटमा इभीको कर थोरै तलमाथि गर्दा अटो व्यवसायीबाट विरोध भए पनि गाडी आयात घट्दैन भनेको हुँ। अहिले त्यो कुरा ठ्याक्कै मिलेको छ।’
बरु राज्यले पाउने राजस्व घटे पनि यसले ग्रिन इनर्जीलाई प्रोत्साहन गरेको र थोरै भए पनि व्यापार घाटा कम गर्न सघाएको उनको धारणा थियो।