काठमाडौं। नेपालको रमेश कर्प र भारतको कजरिया सेरामिक्स लिमिटेडको संयुक्त लगानीमा नेपालमा टायल उद्योग सञ्चालनमा आउने भएको छ।
उद्योग सन् २०२४ भित्र सञ्चालनमा आउने भएको छ। गत असोजसम्म उद्योगको १६ प्रतिशत वित्तीय प्रगति भएको छ। कजरिया भारतमा ३५ वर्ष पुरानो उद्योग हो।
कजरिया रमेश टायल्स लिमिटेडमा भारतको कजरिया सेरामिक्सको ५० र रमेश कर्पको ५० प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ।
उद्योग नवलपरासीमा रहने भएको छ। अहिले प्लान्ट स्थापनाको काम जारी रहेको छ। उद्योगको टायल्स उत्पादन क्षमता वार्षिक २ करोड ५६ लाख स्क्वायर फिट ग्याल्ज भेरिफायड टायल्स र २ करोड ९३ लाख फिट वाल टायल्स छ। उद्योगबाट उत्पादन हुने टायल्स कजरिया ब्रान्डमा बिक्रीवितरण हुने भएको छ।
उद्योगमा ७५ प्रतिशत ऋण र बाँकी २५ प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) लगानी रहेको छ। नेपालमा स्थापना भएको कजरिया रमेश टायल्समा एभरेष्ट बैंकको अगुवाईमा ३ अर्ब रुपैयाँ ऋण लगानी भएको छ।
अगुवा बैंकको तर्फबाट एभरेष्टका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदेश खालिङ तथा रमेश कर्पका तर्फबाट कम्पनीका उपाध्यक्ष रोहित गुप्ताले गत असोज १८ गते ऋण लगानी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।
सह–वित्तियकरणमा नबिल बैंक, नेपाल बैंक र प्रभु बैंकले ऋण लगानी गर्ने भएका छन्। उद्योगमा कूल ४ अर्ब रुपैयाँ लगानी हुने भएको छ।
कजरिया रमेश टायल्स लिमिटेडले ३ अर्ब ४ करोड ऋणको रेटिङ गराएको छ।
कजारिया भारतको संयुक्त लगानी रहेको रमेश टायल्सले नेपालमा आधुनिक उपकरणहरु प्रयोग गरी गुणस्तरीय टायल्स तथा सेरामिक्स उत्पादन गर्ने भएको छ।
टायल्स तथा सेरामिक्सलगायत अन्य उत्पादनहरु अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम गुणस्तरीय हुने कजरिया रमेश टायल्सले जानकारी दिएको छ। कम्पनी सन् २०२३ मा स्थापना भएको हो।