काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजनालाई सार्वजनिक/निजी साझेदारीमा तत्काल अगाडि बढाउनुपर्ने बताएका छन्।
शुक्रबार गोरखा चेम्बर अफ कमर्सद्वारा गोरखामा आयोजित कृषि, पर्यटन तथा व्यपार प्रवद्र्धन मेलालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया सार्वजनिक÷निजी साझेदारीमा तत्काल सुरु गर्नुपर्नेमा जोड दिएका हुन्।
अध्यक्ष मल्लले भने, ‘नेपालबाट भारतमा १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौता भएको छ। यसलाई कार्यान्वयन गर्न पनि बूढीगण्डकी आयोजनालाई सार्वजनिक÷निजी साझेदारीमा अघि बढाउन आवश्यक छ। निजी क्षेत्र लगानीका लागि तयार छ।’
उनले विद्युत् निर्यातबाट विद्यमान व्यापार घाटा कम गर्न सकिने औंल्याए। अध्यक्ष मल्लले नेपालको आर्थिक विकासका लागि जलविद्युत्, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर नीति योजना तर्जुमा हुनुपर्ने आवश्यकता औंल्याए।
कृषिलगायत स्थानीय उत्पादनको बजारीकरण एवं प्रवद्र्धनका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय हुनुपर्ने अध्यक्ष मल्लको भनाइ छ।
नेपालको जडीबुटी प्रवद्र्धन एवं प्रशोधन गरी निर्यात गर्नुपर्नेमा उनले जोड दिए। अध्यक्ष मल्लले भने, ‘नेपालमा प्रशोधित जडीबुटी छिमेकी चीनलगायत देशमा माग उच्च रहेको छ।’
मुलुकको अर्थतन्त्र शिथिल हुँदै जाँदा नागरिकको क्रय क्षमतासमेत कमजोर हुँदै गएको अध्यक्ष मल्लले बताए। मूल्यवृद्धि नियन्त्रण गरेर नागरिकको दैनिकीलाई सहज बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए। बैंक तथा वित्तीय संस्थामा उच्च ब्याजदरका कारण अझै पनि कर्जा विस्तार हुन नसकेको अध्यक्ष मल्लले बताए।