काठमाडौं। निजी लगानीमा नयाँ राइस मिल सञ्चालनमा आउन लागेको छ। साढे ७९ करोड रुपैयाँ लगानीमा सरोवर एग्रो इन्डष्ट्रिज प्रालि सञ्चालनमा आउन लागेको हो।
उद्योगको भौतिक पूर्वाधार निर्माणको काम जारी छ। राइस मिल आउँदो २०८१ वैशाखदेखि सञ्चालनमा ल्याउने तयारी भएको छ। उद्योगले उसिना चामल उत्पादन गर्नेछ। उद्योगको उसिना चामल उत्पादन क्षमता प्रतिघण्टा १२ टन छ। उद्योगको वार्षिक ४० हजार ६ सय ४० टन उसिना चामल उत्पादन गर्नेछ।
उद्योगका लागि संस्थापकहरुले बैंकबाट ५९ करोड ६० लाख रुपैयाँ ऋण लिएका छन्। बाँकी १९ करोड ९० लाख रुपैयाँ स्वपुँजी (इक्विटी) लगानी रहेको छ। जसअनुसार बैंकको ऋण ७५ र २५ प्रतिशत संस्थापकको इक्विटी हुने गरी लगानी संरचना तयार पारिएको छ।
गत असोजसम्म ८१ प्रतिशत वित्तीय प्रगति भएको छ। गत असोजसम्म उद्योगमा ४१ करोड ४७ लाख रुपैयाँ ऋण लगानी भइसकेको छ भने संस्थापकहरुबाट साढे २० करोड रुपैयाँ खर्च भएको उद्योगले जनाएको छ।
उद्योगको सिभिल निर्माणको काम सकिएको छ। उसिना चामल उत्पादन गर्नेका लागि आवश्यक उपकरण भारतबाट आयात भइसकेको छ।
सरोबारले १ अर्ब १० करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ।
उद्योग सन् २०२० को जनवरीमा स्थापना भएको हो। उद्योग रुपन्देहीमा रहेको छ। नेपालमा जुन र अगस्टको बीचमा मनसुन सुरु भएपछि धान रोपिन्छ र असोज र कात्तिकका बीचमा धान काटिन्छ।
उद्योगको अध्यक्ष सौदागरप्रसाद जैसवाल रहेका छन्। चामल प्रशोधनमा उनको १५ वर्ष लामो अनुभव रहेको छ। उनको आरके एग्रो इन्डष्ट्रिज र एचएलडी फूडस प्रालिका सञ्चालक पनि हुन्। उद्योगका अर्का सञ्चालक सर्भेस जयसवाल रहेका छन्।