दैलेख। पछिल्ला वर्षमा विद्युत् प्रयोग गर्ने नागरिकको संख्या बढ्दै गएको पाइएको छ। जिल्लामा विद्युतीकरणले तीव्रता पाएसँगै दैलेखमा विद्युत् प्रयोग गर्ने नागरिकको संख्या बढ्दै गएको हो।
जिल्ला विद्युत् वितरण केन्द्रका अनुसार पछिल्ला दुई महिनामा विद्युत् प्रयोग गर्ने घरधुरीको संख्या आठ सयले वृद्धि भएको छ। केन्द्रका प्रमुख नरेशदत्त रावलले हाल जिल्लामा विद्युत् प्रयोग गर्ने घरधुरी १५ हजार आठ सय रहेका जानकारी दिए।
उनका अनुसार जिल्लाका ११ स्थानीय तहका ९० वडामा हालसम्म ७० प्रतिशत विद्युतीकरण सम्पन्न भएको छ। दैलेखका ९० वडामध्ये हालसम्म ८२ वडामा विद्युतीकरणको काम सम्पन्न भएको कार्यालय प्रमुख रावलले जानकारी दिए।
‘विद्युतीकरणको तीव्र विस्तारसँगै विद्युत् उपभोग गर्ने घरको सङ्ख्या बढ्दै गएको छ। दुई महिनाको अवधिमा थप आठ सय घरधुरीमा विद्युत् विस्तार भएको छ’, उनले भने।
आठबिस नगरपालिका, ठाँटीकाँध गाउँपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिकाका केही वडामा मात्र विद्युतीकरणको काम हुन बाँकी रहेको जनाइएको छ।
कार्यालय प्रमुख रावलका अनुसार मंगलबार मात्र ठाँटीकाँध गाउँपालिका–५ मा रहेका ६ सय घरधुरीमध्ये पाँच सय ५० घरमा बत्ती बालिएको छ। स्थानीय सरकार सञ्चालनमा आएसँगै दैलेखमा विद्युतीकरणले तीव्रता पाएको हो।
सामुदायिक विद्युतीकरणअन्तर्गत स्थानीय तहले विद्युत् विस्तारको कामलाई अघि बढाएका थिए। हाल सामुदायिक विद्युतीकरणअन्तर्गत केही स्थानीय तहको काम विद्युत् वितरण केन्द्र दैलेख मातहत हुँदै आएको छ।–रासस