काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सहायक कम्पनीमार्फत निर्माण गर्न लागेको ६१.८ मेगावाटको माथिल्लो मोदी ‘ए’ जलविद्युत आयोजनालाई ऋण लगानी जुटेको छ।
आयोजनामा एनएमबी बैंकको अगुवाइमा ७ अर्ब ४० करोड रुपैयाँ ऋण लगानी हुने भएको छ। एनएमबीले ४ अर्ब ४० करोड र बाँकी हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को ऋण लगानी हुने भएको छ।
आउँदो सोमबार ऋण लगानी सम्झौताको तयारी भएको विकासकर्ता मोदी जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक सूर्यप्रसाद पौडेलले बताए।
यसअघि आयोजना कोरियाको निर्यात–आयात (एक्जिम) बैंकको ऋण लगानीमा बन्ने तयारी भए पनि प्रक्रियागत कारणले ढिलाइ हुने भएपछि नेपाली लगानीमा बन्न लागेको हो।
आयोजना बनाउन १० अर्ब ५० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ। ३ अर्ब १० अर्ब रुपैयाँ स्वपुँजी (इक्विटी) हुने छ। आयोजनामा ७० प्रतिशत अर्थात ऋण र बाँकी ३० प्रतिशत इक्विटीबाट लगानी जुटाइने भएको छ।
नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता भइसकेको छ। पिपिएपछि बैंकसँग अन्तिम ऋण लगानी सम्झौता हुन लागेको हो। उनका आयोजना निर्माणका लागि निर्माण व्यवसायी छनौटको काम अन्तिम चरणमा पुगेको छ।
४ महिनाभित्र निर्माण व्यवसायी आयोजना स्थलमा परिचालन हुने उनले जानकारी दिए। ४२ मेगावाटको माथिल्लो र १९.८ मेगावाटको तल्लो गरी २ आयोजना अघि बढाउन कोरियाको एक्जिम बैंकसँग ऋण लिन प्रक्रिया अघि बढेको थियो।
आयोजना इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट (इपिसी) खाकामा निर्माण हुनेछ। दुवै आयोजना बेग्लै प्याकेजमा निर्माण हुने भएका छन्। जसअनुसार आयोजनाको सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको जिम्मा प्रतिस्पर्धाबाट छनौट हुने ठेकेदारले पाउने भएको छ।
४२ मेगावाटको माथिल्लो आयोजनाबाट बिजुली उत्पादन गरेर बाहिरिने पानीलाई पुनः सुरुङमा लगेर १९.८ मेगावाट बिजुली उत्पादन गर्ने कम्पनीको योजना रहेको छ। मोदीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) समेत तयार भइसकेको छ।
कम्पनीको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ छ। जसमा विद्युत प्राधिकरणको ६८ प्रतिशत र बाँकी ३२ प्रतिशत सर्वसाधारणलाई सेयर निष्कासन गर्ने योजना कम्पनीको छ। आयोजनाबाट वार्षिक ३१ करोड ५० लाख युनिट विद्युत ऊर्जा उत्पादन हुनेछ।
आयोजना सञ्चालमा आएको ८ वर्षमा ऋण चुक्ता गर्ने बताएको छ। माथिल्लो आयोजनाको सुरुङको लम्बाइ ६ र तल्लोको ४ किलोमिटर हुनेछ । दुवैको विद्युतगृह संरचना सतहमा हुने प्रस्ताव गरिएको छ।
आयोजनाबाट उत्पादन हुने बिजुली २१ किलोमिटर लामो प्रसारण लाइन हुँदै विद्युत प्राधिकरणले प्रस्ताव गरेको १३२ केभी न्यू मोदी सब–स्टेसनमा जोडिनेछ।
माथिल्लो आयोजनाको हेड २ सय ८६ र तल्लोको १ सय ३५ मिटर छ। आयोजना कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्छ। यसअघि कोरिया वाटर रिसोर्स कर्पोरेसन (के–वाटर) ले बनाउन प्रस्ताव गरेको थियो।
के वाटरलाई पत्राचार गरी ५१ प्रतिशत सेयर लिने प्रस्ताव गरेको थियो। के वाटरपछि हटेपछि प्राधिकरणले सहायक कम्पनीमार्फत आयोजना अघि बढाएको हो।