काठमाडौं। नेपालको पहिलो राइडसेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काठमाडौं टेकुको टोलीले भट्टलाई बिहीबार पक्राउ गरेको हो।
उनीविरुद्ध उजुरी आएको जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता एसपी कुमुद ढुंगेलले जानकारी दिए। ‘उजुरी आएको छ। यस्ता उजुरी धेरै आउँछन्। यो विषयमा अहिले मैले बोल्ने यत्ति मात्र हो’, उनले भने।
भट्टलाई कपीराइट र आपराधिक जालसाजीको अभियोगमा पक्राउ गरिएको बताइन्छ। उनले १ करोडमा कम्पनी बेचेको र आफ्ना साझेदारलाई रकम नदिएको भन्ने आरोप लागेको बुझिएको छ।
२०१७ मा नेपालको पहिलो राइड सेयरिङ कम्पनीको रुपमा उदाएको टुटल सर्वसाधरणको रोजाइमा पर्यो। प्रशासनले धेरै पटक बन्द गराउन खोज्दा जनदबाबका कारण बन्द निरन्तर सञ्चालनमा आएको टुटललाई पठाओ नेपाल भित्रिएपछि भने दबाब पर्यो।
पठाओको लोकप्रियता बढ्दै जाँदा टुटल निरन्तर ओरालो लाग्यो। पठाओसँगको प्रतिस्पर्धापछि बन्द हुन पुगेको टुटललाई गत भदौ २९ देखि ज्याप नामक कम्पनीले पुनः सञ्चालनमा ल्याएको थियो।
यसरी ओरालो लागे शिक्षित
पठाओसँग प्रतिस्पर्धा गर्न शिशिरलाई लगानीको खाँचो थियो। यसका लागि उनले विभिन्न लगानीकर्तासँग सहकार्य गर्दै आएका थिए। पछि २०२१ अन्तिममा भट्ट मण्डला डिजिटल होल्डिङ्स प्रालिमा लगानी प्रस्ताव गर्न पुगे।
टुटलको सम्पत्ति मूल्यांकन गरेर मण्डलाले १० प्रतिशत सेयर लिने सहमति भयो। यसको बदलामा मण्डलाले टुटल नेपाललाई १ करोड २० लाख रुपैयाँ दिने सहमति भएको थियो। यो रकम कम्पनीले एकैपटक नदिई पहिले आधा दिने र टुटलले निश्चित लक्ष्य पूरा गरेपछि बाँकी पैसा दिने सहमति थियो।
मण्डलाले लगानी गरेपछि टुटलको न एप राम्रो भयो, न त प्रयोगकर्ताको रोजाइमै पर्यो। अझ टुटलमा काम गर्ने कर्मचारीको तलबै ३ महिना रोकिएपछि मण्डलाले यसमा चासो देखायो। शिक्षितले पछि यी सबै समस्या समाधान गरे।
कम्पनी चलाउन नसक्ने भए अहिलेका लागि यसलाई होल्ड गरेर राख्ने मण्डलाको तर्क थियो। थप लगानी गर्नुको अर्थ नभएपछि एप होल्ड गर्नु नै उचित हुनेमा सबै लगानीकर्ता सहमत भए।
अन्ततः टुटल बन्द हुन पुग्यो। यहीबीच टुटलको पुनरागमनको हल्ला चल्यो। नभन्दै टुटल सञ्चालनमा पनि आयो। यसबारे शिक्षितलाई सोध्दा सधैं आलटाल गरेको मण्डलाको दाबी छ।
‘कहिले बेचेको छैन भन्ने, कहिले सञ्चालकको पासवर्ड कसरी गयो भन्ने थाहा छैन भन्नेलगायत उत्तर आउन थाल्यो। त्यसपछि हामीले अदालतमा रिट दायर गरेका हौं,’ मण्डलाका एक प्रतिनिधिले क्यापिटल नेपालसँग भने। मण्डला डिजिटल होल्डिङ्सले पत्र पठाएरै यो विषय प्रस्ट पार्न भने पनि शिशिरले जवाफ नदिएको कम्पनीको दाबी छ।
त्यसपछि मण्डला अदालत पुगेको थियो। उच्च अदालत पाटनका न्यायाधीशद्वय धीरबहादुर चन्द र जनक पाण्डेको संयुक्त वाणिज्य इजलासले टुटल एप प्रयोग नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो।
मण्डला डिजिटल होल्डिङ्स प्रालिका तर्फबाट शिवांक थापाले शिक्षितलाई विपक्षी बनाई रिट दायर गरेका थिए। निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र अधिवक्ता अञ्जन न्यौपानेले बहस गरेका थिए।