काठमाडौं । यातायात व्यवस्था विभागका कर्मचारीले विदेशबाट तालिम लिएर आएपनि स्मार्ट लाइसेन्स छाप्ने काम सुरु भएको छैन ।
दुई महिनाअघि भारतीय कम्पनी मद्रास प्रिन्टर मार्फत नेपालमा ल्याएको मास प्रिन्टर सञ्चालन गर्न विभागका कर्मचारी विदेशमा तालिम लिएर आए । तर उनीहरुले लाइसेन्स छाप्ने मेसिन चलाउन सकेका छैन ।
पहिला ल्याइएको मेसिनले स्मार्ट लाइसेन्सको मागलाई पुरा गर्ने नसकेपछि बाँकी लाइसेन्स छपाइका लागि करोडौं खर्च गरेर मास प्रिन्टर ल्याएको हो ।
विभागमा पुराना १० ओटा साना प्रिन्टर रहेका छन् । अहिले सात ओटा मेसिन बिग्रिएर तीन ओटाले मात्र स्मार्ट कार्ड छापिरहेका छन ।
विभागले भएका मेसिन बिग्रिएका तथा साना प्रिन्टरले माग अनुसार कार्ड छाप्न नसको भन्दै भदौमा नयाँ ‘मास प्रिन्टर’ ल्याएको थियो । जडानको काम सकेर स्मार्ट लाइसेन्स छाप्ने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताउदै आएका थिए ।
महानिर्देशक हमालले बोलेअनुसार काम हुन सकेन । मेसिन जडान गर्नलाई चार महिना लाग्यो । अहिले नयाँ ल्याएको मास प्रिन्टरको प्रति घण्टा ५०० देखि ६०० तथा दिनमा १० हजार स्मार्ट लाइसेन्स छाप्न सक्छ ।
मद्रास प्रिन्टरले सरकारसँग सम्झौता गरेको चार महिनापछि मास प्रिन्टर ल्याएको थियो । कम्पनीले १० लाख स्मार्ट लाइसेन्स सहित १९ करोड ७० लाखमा सम्झौता अनुसार आपूर्ति गरेको थियो ।
विभागमा मास प्रिन्टर आएपछि कर्मचारीलाई नै तालिम दिएर मेसिन सञ्चालन गर्ने भने पनि उच्च प्रविधिको भएकाले विभागका कर्मचारीले मेसिन चलाउन सकेन्न ।
त्यसैले प्रिन्टर ल्याउने कम्पनीले तालिम दिने व्यवस्था समेत सम्झौता भए अनुरुप मेसिन सञ्चालन गर्ने सम्बन्धमा जानकारी लिन प्राविधिक कर्मचारी जानुपर्ने भ्रमणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रशासन महाशाखा प्रमुख सहसचिव राजेश्वर ज्ञवाली, यातायात महाशाखाका सहसचिव प्रमिला बज्राचार्य, यातायात विभागका महानिर्देशक हमाल, विभागका निर्देशक बन्धु बास्तोला, तत्कालीन मन्त्री महासेठका निजी सचिव सोमराज बराल र प्राविधिक यातायात व्यवस्था विभागका कम्प्युटर इन्जिनियर केशव गौतम इटाली पुगेका थिए ।
मास प्रिन्टर चलेन,उल्टो कम्पनीले भारतबाट नै प्राविधिक ल्याएर सफ्टवयर बनाइ रहेको उच्च स्रोतले जनाएको छ ।
उच्च स्रोतका अनुसार मास प्रिन्टरले एक हप्ता अघिदेखि छपाइ सुरु गरेको भनिए पनि ‘सफ्टवयर एरर’ देखाएकाले स्मार्ट लाइसेन्स छपाइ रोकिएको छ ।
‘प्रिन्टरमा सफ्टवयर समस्या देखिएकाले विभागका प्राविधिकले बनाउन नसक्ने भएकाले कम्पनी मार्फत भारतबाट प्राविधिक ल्याएर प्रिन्टर बनाइ रहेको छ ।’स्रोतले जनाएको छ ।
अहिले मेसिनले कही काम गरेको छैन,उच्च स्रोतले भन्यो‘विभागले दैनिक २ हजार स्मार्ट लाइसेन्स छपाइ भएको भने पनि मेसिनले काम नै गरेको छैन, पहिलाकै पुराना मेसिनले नै देनिक १ हजार ५०० देखि २ हजार स्मार्ट लाइसेन्स छाप्दै आएको छ ।’
विभागको लापरबाहीले लाखौ सेवाग्राहीको बिचल्ली
सरकारले लाइसेन्सलाई प्राविधिमैत्री बनाउने भन्दै २०७२ सालमा नै स्मार्ट लाइसेन्स वितरण गरेको थियो । अहिले सम्म विभागबाट १० लाख स्मार्ट लाइसेन्स मात्र सेवाग्राही लाई वितरण गरेको विभागले जनाएको छ ।
स्मार्ट लाइसेन्सको माग प्रति दिन बढ्दै गएपछि धेरै स्मार्ट लाइसेन्स छाप्न सक्ने क्षमताको मास प्रिन्टर ल्याएको थियो । तर, विभागको लापरबाहीले गर्दा आज सम्म पनि मास प्रिन्टर बाट स्मार्ट लाइसेन्स छपाइको काम भएको छैन ।
विभागमा नयाँ मेसिन आएपछि दुई महिना भित्र ट्रायल पास गरेको ७ दिनभित्र स्मार्ट लाइसेन्स दिने भन्दै विभागका महानिर्देशकले बरम्बार बोल्दै आएका छन ।
अहिले झण्डै ५ लाख सेवाग्राही सबै प्रक्रिया पूरा गरेर पनि लाइसेन्स नपाएर विभागलाई पैसा तिरेको रसिदका भरमा सवारी चलाइरहेका छन ।