काठमाडौं। तीन महिनाअघि भएको दुर्घटनापछि हेलिकोप्टरविहीन बनेको मनाङ एयरले लगानी विस्तार आक्रामक रुपमा गर्ने भएको छ। लगानी विस्तारसँगै कम्पनीले तीन वटा एयरबस बी–३ सिरिजका हेलिकोप्टर खरिद गर्ने भएको हो।
केही महिनाअघि फ्रान्समा हेलिकोप्टर खरिद गरी काठमाडौंका लागि हिँडिसकेको मनाङ एयरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए।
अबको २५ देखि ३० दिनभित्रै काठमाडौंमा हेलिकोप्टर आइपुग्ने उनको भनाइ छ। २६ वर्ष पुरानो मनाङ एयरमा तीन महिनाको अन्तरालमा दुईटा दुर्घटनापछि कम्पनी हेलिकोप्टरविहीन भएको थियो।
उड्डयन क्षेत्रमा लामो अनुभव रहेको मनाङले एक महिनाभित्रै एउटा हेलिकोप्टर काठमाडौंमा भित्र्याइसक्नेछ। फ्रान्सबाट पानीजहाजमार्फत हेलिकोप्टर आउँदै गरेको र एक वर्षभित्रै २ वटा थप्ने उनले बताए। तीन वटा हेलिकोप्टरमा करिब १ अर्बभन्दा बढी लगानी हुने उनले जानकारी दिए।
विगतका हवाई दुर्घटनाबाट पाठ सिक्दै नयाँ ढंगले कम्पनी सञ्चालन गर्ने योजनाका साथ अगाडि बढ्न लागेको अध्यक्ष मल्लले बताए।
मनाङले एयरबस बी–३ सिरिजका हेलिकोप्टर ल्याउने भएको हो। हाल नेपालमा सञ्चालित अधिकाशं हेलिकोप्टर फ्रान्समा निर्मित हुन्। नयाँ हेलिकोप्टर पाउनै समस्या हुने भएकाले थपिने दुईटा हेलिकोप्टर अन्य कम्पनीसँग खरिद गर्ने योजना कम्पनीले बनाएको छ।
नेपाल ल्याउने हेलिकोप्टरको मूल्य एउटाको करिब ३० करोड रुपैयाँ पर्छ। यो वर्षदेखि सरकारले जहाज खरिदमा समेत भ्याट लगाइदिएपछि यसअघिको बजार मूल्यभन्दा केही रकम बढी पर्ने भएको हो।
गत असोजमा मनाङ एयर दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले कम्पनीको इजाजतपत्र निलम्बन गरेको छ। निलम्बन फुकुवाका लागि कम्पनीले अहिले प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ।