काठमाडौं। नेपालमै पहिलोपटक हाई अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सञ्चालनमा आएको छ। लमजुङको दोर्दी गाउँपालिका–८ थोंतीमा बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले हाई अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सञ्चालनमा ल्याएको हो।
३ हजार ९ सय मिटरमा सञ्चालनमा आएको स्कुलमा हाई अल्टिच्युडमा प्याराग्लाइडिङ गर्न चाहनेले तालिम लिन सक्नेछन्।
नागरिक उड्डयन प्राधिकरणको स्वीकृति र स्थानीय तहसँगको सहकार्यमा स्कुल सञ्चालनमा ल्याइएको कम्पनी सञ्चालक सानोबाबु सुनुवारले जानकारी दिए। स्कुलमा उच्च हिमाली हावापानीमा कसरी प्याराग्लाइडिङमा उड्ने र उडाउनेबारे सिकाइने उनको भनाइ छ।
प्याराग्लाइडिङ स्कुलका लागि आवश्यक पूर्वाधार तयारीमा दोर्दी गाउँपालिकाले समेत सहयोग गरेको छ। अन्य सुविधा पनि क्रमशः विस्तार गरिने गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए। गाउँपालिकामा रहेको भेडीगोठसहितका अन्य गन्तव्य पर्यटकीय प्रवद्र्धन गर्न पनि प्याराग्लाईडिङ स्कुल महत्त्वपूर्ण हुने गाउँपालिका अध्यक्ष अधिकारीको भनाइ छ।
लमजुङको दोर्दी गाउँपालिका–८ थोंतीमा बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले हाई अल्टिच्युडको प्याराग्लाइडिङ स्कुल सञ्चालनमा ल्याएको हो। ३ हजार ९ सय मिटरमा सञ्चालनमा आएको स्कुलमा हाई अल्टिच्युडमा प्याराग्लाइडिङ गर्न चाहनेले तालिम लिन सक्नेछन्।
पालिकामा प्याराग्लाइडिङ स्कुल सञ्चालनमा आएपछि स्थानीयलाई समेत नयाँ अवसर सिर्जना हुँदै जाने उनी बताउँछन्। उनले भने, ‘पर्यटकीय क्षेत्रमा नै स्कुल सञ्चालन हुँदा स्थानीयलाई रोजगारी अवसर पनि सिर्जना हुन्छ। यसबाहेक स्थानीयले तालिमसमेत लिन मिल्ने भएपछि रोजगारीको नयाँ अवसर पाइने देखिन्छ।’
बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले यसअघि ९ वर्षदेखि स्याङ्जाको भीरकोट नगरपालिका–५ स्वरेक मैदानमा प्याराग्ग्लाइडिङ स्कुल सञ्चालन गर्दै आएको छ।
प्याराग्लाइडिङ स्कुलसँग सहकार्य र सहयोगका लागि विभिन्न कम्पनीले चासो देखाएका छन्। हालै मात्र रेडबुलको एड्भेन्चर टिम नेपाल आएर स्कुल अवलोकन भ्रमण गरेको थियो। त्यसपछि उनीहरुले स्कुलसँग सहकार्य गर्ने प्रतिबद्धता दिएको सञ्चालक सुनुवारले जानकारी दिए।
अब नेपालमा हिमाल आरोहणका लागि मात्रै नभई विदेशी पर्यटक हाई अल्टिच्युड प्याराग्लाइडिङको मज्जा लिन पनि आउने नेपाल हवाई खेलकुद संस्था (ना)का निवर्तमान अध्यक्ष कृष्ण भट्टराई बताउँछन्। सामान्य प्याराग्लाइडिङ विश्वको प्रायः ठाउँमा उपलब्ध रहे पनि हाई अल्टिच्युड नभएको उनको भनाइ छ।
नेपालमा हाई अल्टिच्युड प्याराग्लाइडिङको उच्च सम्भावना रहेकाले यो स्कुल निकै महत्त्वपूर्ण हुने उनको धारणा छ। ‘हिमालै हिमाल मुलुकमा विभिन्न हिमशृंखलाबाट प्याराग्लाडिङ गर्न र एक्स्ट्रिम एड्भेञ्चरको मज्जा लिन यहाँ निकै उत्कृष्ट गन्तव्य बन्छ,’ उनले भने।
स्कुल सञ्चालनले साहसिक प्याराग्लाइडिङ उडानमा दक्ष जनशक्तिको उत्पादन गर्न समेत भूमिका खेल्ने उनले बताए। यसबाट विदेशी मुद्रा आर्जनमा समेत स्कुलले सहयोग गर्ने उनको दाबी छ। उनले अब हेलिबाट पर्यटक भएर हिमाल हेरिँदै आएकामा स्कुल सञ्चालनमा आएपछि अब हिमाल हेर्न प्याराग्लाइडिङको समेत सम्भावना बढ्ने देखिन्छ।