काठमाडौं। चालू त्रैमासमा बैंकहरूको वित्तीय विवरण (ब्यालेन्ससिट) थप बिग्रिने भएको छ। आर्थिक मन्दीले कर्जा असुली (रिकभरी) मा समस्या बढ्दै गएपछि ब्यालेन्ससिट थप बिग्रिने भएको हो।
चालू वर्षकै प्रथम त्रैमासिकमा पनि अधिकांश बैंकहरूको ब्यालेन्ससिट बिग्रिएको थियो। चालू त्रैमास अर्थात् चालू वर्ष दोस्रो त्रैमास (पुस मसान्त) मा अधिकांश बैंकहरूको खराब वित्तीय विवरण सार्वजनिक हुने स्वयं बैंकरहरू बताउँछन्।
समग्र अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीले बैंकहरूको रिकभरी प्रभावित हुँदा चालू वर्ष दोस्रो त्रैमासमा अधिकांश बैंकको वित्तीय विवरण नकारात्मक हुन सक्ने नेपाल बैंकर्स संघ उपाध्यक्ष सन्तोष कोइराला बताउँछन्।
‘अवस्था सहज छैन, समग्र बैंकिङ क्षेत्रको रिकभरी नै चुनौतीपूर्ण बनेको छ। बैंकहरूको एनपिएल पुसमा बढ्ने नै देखिन्छ,’ माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) समेत रहेका कोइरालाले क्यापिटल नेपालसँग भने, ‘पुस महिनामै बैंकहरूले ठूलो मात्रामा सरकारलाई कर तिर्नुपरेका कारण त्यसको प्रभावमा प्रायः बैंकहरूको वित्तीय विवरण नै नकारात्मक हुने देखिन्छ।’
समग्र अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीले बैंकहरूको रिकभरी प्रभावित हुँदा चालू वर्ष दोस्रो त्रैमासमा अधिकांश बैंकको वित्तीय विवरण नकारात्मक हुन सक्ने नेपाल बैंकर्स संघ उपाध्यक्ष सन्तोष कोइराला बताउँछन्।
बजारमा नगद प्रवाह नहुँदा बैंकहरूले कर्जाको ब्याज उठाउन नसकेका कारण बैंकहरूको रिकभरीमा चुनौती थपिँदै गएको उनको भनाइ छ।
चालू वर्ष प्रथम त्रैमासमा ६ वाणिज्य बैंकको ब्यालेन्ससिट नकारात्मक आएका थिए। उक्त अवधिमा कुमारीको २ अर्ब १६ करोड, हिमालयन १ अर्ब ८५ करोड, एनआइसी एसिया ९८ करोड, नेपाल इन्भेस्टमेन्ट मेगा ८५ करोड, सिटिजन्स २३ करोड र सिद्धार्थ बैंक ५ करोड रुपैयाँ वितरणयोग्य नाफा नकारात्मक थियो।
यस्तै गत वर्ष चौथो त्रैमासमा कृषि विकास बैंक र कुमारी बैंकको वितरणयोग्य नाफा ऋणात्मक थियो भने १२ वाणिज्य बैंकको वितरणयोग्य नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा घटेको थियो। गत आवमा वितरणयोग्य नाफा नकारात्मक हुने वाणिज्य बैंकसँगै यस्तो नाफा घटेका केही बैंकहरूले सेयरधनीलाई प्रतिफल अर्थात् लाभांश घोषणा गर्न सकेका छैनन्।
राष्ट्र बैंकले बैंकहरूको खराब कर्जा अनुपात अर्थात् एनपिएल ५ प्रतिशतमाथि गएको अवस्थामा शीघ्र सुधारका कामहरू गर्न निर्देशन दिने गरेको छ। केन्द्रीय बैंकको सुपरीवेक्षकीय कारबाहीबाट बच्नकै लागि भए पनि बैंकहरूले यस्तो अनुपात ४ प्रतिशत तल नै कायम गर्न विविध मौद्रिक व्यवस्थापकीय उपाय अपनाउने गरेका छन्।
साथै, गत वर्ष चौथो त्रैमासमा ८ वाणिज्य बैंकको एनपिएल ३ प्रतिशतमाथि थियो भने चालू वर्ष पहिलो त्रैमासमा १३ वाणिज्य बैंकको एनपिएल ३ प्रतिशतमाथि कायम रहेको तथ्यांक सार्वजनिक भइसकेको छ।
राष्ट्र बैंकले बैंकहरूको खराब कर्जा अनुपात अर्थात् एनपिएल ५ प्रतिशतमाथि गएको अवस्थामा शीघ्र सुधारका कामहरू गर्न निर्देशन दिने गरेको छ।
केन्द्रीय बैंकको सुपरीवेक्षकीय कारबाहीबाट बच्नकै लागि भए पनि बैंकहरूले यस्तो अनुपात ४ प्रतिशत तल नै कायम गर्न विविध मौद्रिक व्यवस्थापकीय उपाय अपनाउने गरेका छन्। यद्यपि, चालू वर्ष पहिलो त्रैमासमा ६ वाणिज्य बैंकको एनपिएल ४ प्रतिशतमाथि र कृषि विकास बैंकको ५.३३ प्रतिशत कायम छ।
गत आर्थिक वर्षदेखि नै समग्र अर्थतन्त्रमा देखिएको आर्थिक शिथिलताको मुख्य प्रभावमा बैंकिङ क्षेत्र पर्दा चालू वर्ष दोस्रो त्रैमासमा बैंकहरूको खराब कर्जा बढ्ने र वितरणयोग्य नाफा घट्ने देखिएको हो। राम्रो भनिएका ऋणीले समेत गत वर्षदेखि नै समयमै साँवा–ब्याज भुक्तान नगर्दा बैंकहरूमा एनपिएल चालू आर्थिक वर्ष अस्वाभाविकरूपमा बढिरहेको तथ्यांकले देखाउँछ।
गत आर्थिक वर्ष असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा एनपिएल औसत ३.०२ प्रतिशत रहेकोमा चालू आवको कात्तिक मसान्तसम्म आइपुग्दा बढेर ३.६६ प्रतिशत पुगेको छ।
यसबीच वाणिज्य बैंकहरूको एनपिएल ०.६९ प्रतिशत बिन्दुले बढेर ३.६१ प्रतिशत, विकास बैंकहरूको ०.७० प्रतिशत बिन्दुले बढेर ३.१९ प्रतिशत र वित्त कम्पनीहरूको ०.७७ प्रतिशत बिन्दुले बढेर ८.३७ प्रतिशत पुगेको छ।
चालू आवको चार महिनामै बैंकहरूको खराब कर्जा अनुपात बढ्नुको मुख्य कारण अर्थतन्त्रमा देखिएको शिथिलता नै रहेको बैंकर्स संघ उपाध्यक्ष कोइरालाको बुझाइ छ। जसले गर्दा पुस मसान्तमा अधिकांश बैंकहरूको एनपिएल थप बढ्ने मात्रै नभएर वितरणयोग्य नाफासमेत ऋणात्मक हुने अनुमान कोइरालाको छ।
‘अहिले कर्जा असुलीमा धेरै चुनौती छ, हरेकले बैंकको साँवा–ब्याज तिर्नेभन्दा समस्या सुनाउने गर्छन्,’ कोइरालाले भने, ‘यस्तो अवस्थामा धेरै बैंकहरूको एनपिएल थप बढ्ने मात्रै नभएर वितरणयोग्य नाफा नै नकारात्मक हुन सक्छ।’
चालू आवको चार महिनामै बैंकहरूको खराब कर्जा अनुपात बढ्नुको मुख्य कारण अर्थतन्त्रमा देखिएको शिथिलता नै रहेको बैंकर्स संघ उपाध्यक्ष कोइरालाको बुझाइ छ।
आर्थिक मन्दी प्रभावमा व्यावसायिक वातावरण नभएको विश्लेषण गर्दै साना÷ठूला व्यवसायीले ठूलो परिमाणमा बैंक कर्जा लिएर व्यवसाय विस्तार गर्न सकेका छैनन्। जसक कारण नयाँ कर्जा माग नहुने हुँदा महँगो ब्याजदर कबुलेर लिएको निक्षेप बैंकहरूले परिचालन गर्न पाएका छैनन्।
यस्तो समस्या ठूलाभन्दा साना तथा मझौला व्यवसायमा बढी रहेको उनले बताए। बैंकहरूले सरकारलाई करसमेत ठूलो मात्रामा तिर्नुपर्दा त्यसको प्रभाव पुस मसान्तको वित्तीय विवरणमा पर्ने उनको भनाइ छ।
गत आर्थिक वर्ष कात्तिक मसान्तमा बैंकिङ क्षेत्रको औसत एनपिएल १.९८ प्रतिशत थियो। साथै, वाणिज्य बैंकहरूको औसत १.८३ प्रतिशत, विकास बैंकहरूको २.३२ प्रतिशत र वित्त कम्पनीहरूको ६.९९ प्रतिशत कायम थियो।
एक वर्ष अवधिमा बैंकिङ क्षेत्रको एनपिएल १.६८ प्रतिशत बिन्दुले बढ्दा वाणिज्य बैंकहरूको १.७८ प्रतिशत बिन्दु, विकास बैंकहरूको ०.८७ प्रतिशत बिन्दु र वित्त कम्पनीहरूको १.३८ प्रतिशत बिन्दुले वृद्धि भएको हो।
यस्तै चालू वर्ष पहिलो त्रैमासमा कृषि विकास बैंकको ५ प्रतिशतमाथि एनपिएल हुँदा कुमारी बैंकको ४.८९ प्रतिशत, हिमालयन बैंक ४.६७, नेपाल इन्भेस्टमेन्ट मेगा ४.८३, लक्ष्मी सनराइज ४.६९ र ग्लोबल आइएमईको ४.३८ प्रतिशत एनपिएल कायम थियो।