काठमाडौं। घरेलु तथा साना उद्योग प्रवर्द्धन क्षेत्रमा साझेदारी र सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा महासंघका महानिर्देशक गोकर्णराज अवस्थी र केन्द्रका कार्यकारी निर्देशक दीपक घिमिरेले हस्ताक्षर गरेका हुन्।
समझदारीअनुसार दुवै संस्थाको संयुक्त सहकार्यमा घरेलु तथा साना उद्योग प्रवद्र्धनका क्षेत्रमा साझेदारी र सहकार्यका कार्यक्रम सञ्चालन गरिनेछ।
सरकारको स्वीकृत वार्षिक कार्यक्रमबमोजिम कार्यान्वयन हुने विषयमा महासंघ र केन्द्रले एकआपसमा सहकार्य गर्ने, कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम कार्यान्वयन सम्बन्धमा महासंघले सहजीकरण गर्ने, घरेलु तथा साना उद्योगलाई प्रवद्र्धन गर्न आवश्यक सीप तथा प्रविधि हस्तान्तरणका क्षेत्रमा सहकार्य गर्न दुवै संस्था सहमत भएका छन्।
कार्यक्रममा महासंघ उपाध्यक्ष सुरकृष्ण वैद्यले उद्योगी, व्यापारी तथा व्यवसायीको ठूलो सञ्जाल रहेको महासंघले मुलुकको घरेलु तथा साना उद्योग विकासमा सरकारसँगको सहकार्यमा महत्त्वपूर्ण काम गर्दै आएको बताए।
केन्द्रका कार्यकारी निर्देशक घिमिरेले उद्योग व्यवसाय प्रवद्र्धनलगायत रोजगारी सिर्जना गर्ने मुलुकको अर्थतन्त्र विकासको महत्त्वपूर्ण मेरुदण्डको रुपमा रहेको महासंघसँग मिलेर काम गर्दा केन्द्रका कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे।
महासंघका घरेलु तथा साना उद्योग विकास समिति सभापति नरेन्द्रकुमार खड्काले लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले ल्याएका कार्यक्रम सफल बनाउन महासंघलाई समितिको सहयोग रहने बताए।