काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका तुलनामा विपद्पछिको खोज, उद्धार र राहतमा सरकारी संयन्त्रको प्रभावकारिता देखिने गरी बढेको बताएका छन्।
बुधबार ललितपुरमा आयोजित भूकम्प प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन तथा पुनःनिर्माणसम्बन्धी कार्यक्रममा उनले सरकारका तीनै तहको सक्रियता र समन्वयका कारण जाजरकोट भूकम्पमा उद्धार, उपचार र राहतको अभियान सफल भएको दाबी गरे।
प्रधानमन्त्री दाहालले भूकम्पपूर्वको तयारी, भूकम्पपछि तत्काल उद्धार, उपचार र राहतको प्रबन्ध तथा दीर्घकालीन रूपमा त्यसको प्रभावको समाधानमा सबैका प्रयास केन्द्रित गर्नुपर्ने बताए।
जाजरकोट भूकम्पबाट प्रभावितको उद्धार र राहतसँगै पूर्ण क्षति भएका घरका परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माण गर्न प्रतिघरपरिवार ५० हजार उपलब्ध गराइएको जानकारी दिँदै उनले सांसद विकास कोषको बजेटसमेत थप गरी १० अर्ब विपद् व्यवस्थापन कोषमा राखिएको सुनाए।
अस्थायी आवास निर्माणमा स्थानीय तहको नेतृत्व स्थापित हुनेगरी प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले प्रदेश र स्थानीय तहले पुनःनिर्माणका लागि पहल लिनुपर्नेमा जोड दिए।
प्रभावित क्षेत्रमा क्षतिको आकलन तथा आवश्यकता पहिचानको काम लगभग सम्पन्न भएको जानकारी दिँदै प्रधानमन्त्री दाहालले यसका आधारमा उपयुक्त कार्ययोजना तय गरी प्रदेश र स्थानीय तहको अगुवाइ तथा तीनै तहको समन्वयमा पुनःनिर्माणको कार्य प्रारम्भ गरिने बताए।
प्रधानमन्त्री दाहालले हालैका भूकम्पलाई जोखिमको पूर्वसंकेतका रूपमा लिँदै ठूला विपद्को सामना गर्न सक्ने क्षमता विकास गर्न जोखिम आकलन, न्यूनीकरण, पूर्वतयारी र पूर्वसूचना प्रणालीको कामलाई गति दिन निर्देशन दिए।
नेपाल भूकम्प, प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले निजी आवासलगायत सबै भवन तथा संरचनाको बीमा गराउने सम्बन्धमा मुख्यसचिवको नेतृत्वमा अध्ययन थालिएको उनको भनाइ छ।