काठमाडौं। लघु जीवन बिमा कम्पनीलाई बिमालेख (प्रोडक्ट) पाउनै मुस्किल देखिएको छ। गरिब, न्यून आय भएका, पिछडिएका क्षेत्र तथा सीमान्तकृत समुदाय लक्षित लघु जीवन बिमा कम्पनीले प्रोडक्टका लागि कसरत गरिरहेका छन्।
तर, नेपाल बिमा प्राधिकरणको आनाकानी, विदेशी बिमांकीय मूल्यांकन (एक्च्युरी)लगायतका कारणले प्रोडक्ट प्राप्ति कठिनाइ बनेको बिमकहरु बताउँछन्। जीवन बिमक आफैंले बिमालेख तयार पारी प्राधिकरणसँग स्वीकृति लिनुपर्ने व्यवस्था छ। सोहीअनुसार प्रोडक्ट तयार पारी प्राधिकरणमा स्वीकृतिका लागि पठाइए पनि यसमा धेरै समय लाग्ने गरेको एक लघु जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बताउँछन्।
लघु बिमा निर्देशन, २०७९ ले लघु जीवन बिमा व्यवसायका लागि आजीवन लघु जीवन बिमा, सावधिक लघु जीवन बिमा, म्यादी लघु जीवन बिमा र अन्य लघु बिमा गरी चार प्रकारका बिमा व्यवसाय गर्न सक्ने व्यवस्था गरेको छ।
‘सुरु–सुरुमा प्राधिकरणले प्रोडक्ट दिनलाई आनाकानी गरेको थियो। तर, पछिल्लो समय त्यसमा केही सुधार भएजस्तो देखिन्छ,’ ती सिइओले क्यापिटल नेपालसँग भने, ‘यद्यपि, हामीले सहज रुपमा प्रोडक्ट प्राप्त गर्न सकेका छैनौं।’ बिमकले जति छिटो धेरै प्रोडक्ट ल्याएर बजारमा पुर्याउन सक्छन्, तिनको व्यवसाय त्यति नै राम्रो हुन्छ।
हाल लघु जीवन बिमा व्यवसाय सञ्चालनका लागि अनुमति पाएका तीन बिमकले सीमित प्रोडक्टमा मात्रै व्यवसाय सञ्चालन गरिरहेका छन्। यसले उनीहरुको व्यवसाय फस्टाउन सकेको छैन।
‘नेपालमा एक्च्युरी छैन। भारतीय एक्च्युरीको भर पर्नुपर्ने अवस्था छ। बिमकको एक्च्युरीले तयार पारेको प्रोडक्ट स्वीकृतिका लागि प्राधिकरण पठाउँछौं। तर, प्राधिकरणको एक्च्युरीले पनि यसको अध्ययन गरेर स्वीकृत गर्नुपर्छ,’ अर्का लघु जीवन बिमकका सिइओले भने, ‘यसकारण पनि प्रोडक्ट प्राप्त गर्न समय लागेको देखिन्छ।’
थुप्रै प्रोडक्ट स्वीकृतिका लागि प्राधिकरण पठाइएको उनले बताए। यद्यपि, फाइल यताबाट उता र उताबाट यता लग्नुपर्ने, नमिले फर्काउनुपर्ने र सच्याउनुपर्नेलगायत प्रक्रियाले पनि नयाँ प्रोडक्ट जारी गर्न कठिनाइ भएको उनको भनाइ छ।
हाल गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले माइक्रो लाइफ ट्रम इन्स्योरेन्स योजना, दीर्घायु बचत लघु बिमा योजना र ग्रुप माइक्रो ट्रम इन्स्योरेन्स योजना गरी हाल तीन वटा प्रोडक्ट बिक्री गरिरहेको छ। लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले समृद्धि कवाच माइक्रो ट्रम लाइफ र समृद्ध भविष्य लघु जीवन बिमा गरी दुई प्रोडक्ट बेचिरहेको छ।
यस्तै, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले ट्रम माइक्रो लाइफ इन्स्योरेन्स बेचिरहेको छ। यसले होल (पूर्ण) माइक्रो लाइफ इन्स्योरेन्स, मनी ब्याक माइक्रो लाइफ इन्स्योरेन्स, जोइन्ट लाइफ माइक्रो लाइफ इन्स्योरेन्स, चाइल्ड माइक्रो लाइफ इन्स्योरेन्स र इन्डोमेन्ट माइक्रो लाइफ इन्स्योरेन्स गरी पाँच प्रोडक्ट आउने तयारीमा रहेको जनाइएको छ।
नेपाल बिमा प्राधिकरणकी उप–निर्देशक (लघु बिमा शाखा) पुष्पा कुँवर हालसम्म एउटा कम्पनीले सबैभन्दा बढी तीन वटासम्म प्रोडक्ट प्राप्त गरेको बताउँछिन्। ‘फरक–फरक समय बिमकबाट बिमालेख तयार गरी स्वीकृतिका लागि प्राधिकरण आउने गरेको छ,’ कुँवरले भनिन्, ‘यसरी तयार पारेर आएका बिमालेखको मापदण्डलगायतका सम्पूर्ण पक्ष हेरेर प्राधिकरणले स्वीकृती दिँदै आएको छ।’
कुँवरले लघु जीवन बिमकबाट स्वीकृतिका लागि आएका केही प्रोडक्ट अझै पेन्डिङमा रहेको र त्यसको अध्ययन भइरहेको जानकारी दिइन्। ‘लघु जीवन बिमक आफैंले बिमालेख तयार गर्ने र स्वीकृतिका लागि मात्रै प्राधिकरण पठाउने व्यवस्था छ,’ कुँवरले भनिन्, ‘सोही व्यवस्थाअनुसार स्वीकृतिका लागि आएका बिमालेखलाई प्राधिकरणले मापदण्ड हेरेर स्वीकृति दिने काम गर्छ।’
लघु बिमालेख जारी गर्दा जारी भएको समय तथा जोखिम प्रारम्भ भएको मिति र समयसमेत उल्लेख गर्नुपर्ने, बिमकले बीमितबाट पूरा बिमाशुल्क प्राप्त नगरी लघु बिमालेख जारी गर्न नपाइने व्यवस्था छ।
लघु बिमा निर्देशन, २०७९ ले लघु जीवन बिमा व्यवसायका लागि आजीवन लघु जीवन बिमा, सावधिक लघु जीवन बिमा, म्यादी लघु जीवन बिमा र अन्य लघु बिमा गरी चार प्रकारका बिमा व्यवसाय गर्न सक्ने व्यवस्था गरेको छ।
निर्देशनमा जीवन बिमक आफैंले बिमालेख तयार पारी प्राधिकरणसँग स्वीकृति लिनुपर्ने व्यवस्था छ। जीवन लघु बिमालेखको हकमा बिमालेख अवधि एक वर्ष वा सोभन्दा बढी अवधिको र निर्जीवन लघुबिमा लेखको हकमा एक वर्ष वा सोभन्दा कम अवधिका लागि मात्र जारी गर्न सकिने व्यवस्था छ।
लघु बिमालेख जारी गर्दा जारी भएको समय तथा जोखिम प्रारम्भ भएको मिति र समयसमेत उल्लेख गर्नुपर्ने, बिमकले बीमितबाट पूरा बिमाशुल्क प्राप्त नगरी लघु बिमालेख जारी गर्न नपाइने व्यवस्था छ। तर, संघीय वा प्रदेश सरकार र सम्बन्धित स्थानीय तहले बिमालेखमा अनुदान उपलब्ध गराएका रहेछन् भने सोहीबराबरको रकम घटाई बाँकी बिमाशुल्क रकम लिई बिमा गर्न बाधा नपुग्ने भनिएको छ।
बिमालेखमा उल्लेख गरिएको बिमादर/गणनाका आधारमा बिमाशुल्क गणना गर्नुपर्ने, बिमालेखअनुसार गणना गर्दा आउने बिमाशुल्कमा कुनै पनि अतिरिक्त रकम थप गर्न नपाइने र एकपल्ट बिमालेख जारी भएपछि बिमा अवधिभरि बिमादर बढाउन वा घटाउन नपाइने व्यवस्था छ।
जीवन बिमा कम्पनीले ५ लाखभन्दा कम बिमांक भएको जीवन लघुबिमा गर्न सक्नेछन्। बिमा प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको कात्तिकसम्म कुल ४८ लाख ७८ हजार रुपैयाँको कुल बिमाशुल्क आर्जन गरेका छन्।
साउनदेखि कात्तिकसम्म गार्डियनले २७ लाख ७० हजार, क्रेस्ट माइक्रोले २० लाख ३६ हजार र लिबर्टी माइक्रो लाइफले ७२ हजार रुपैयाँको बिमाशुल्क आर्जन गरेका हुन्। यी तीन लघु बिमकले कात्तिकमा मात्रै कुल १८ लाख ९ हजार रुपैयाँको प्रथम बिमाशुल्क आर्जन गरेका छन्।
बिमालेखमा उल्लेख गरिएको बिमादर/गणनाका आधारमा बिमाशुल्क गणना गर्नुपर्ने, बिमालेखअनुसार गणना गर्दा आउने बिमाशुल्कमा कुनै पनि अतिरिक्त रकम थप गर्न नपाइने र एकपल्ट बिमालेख जारी भएपछि बिमा अवधिभरि बिमादर बढाउन वा घटाउन नपाइने व्यवस्था छ।
एक महिने अवधिमा गार्डियनले ८ लाख ३९ हजार, क्रेस्ट माइक्रोले ८ लाख ९७ हजार र लिबर्टी माइक्रोले ७२ हजार रुपैयाँको प्रथम बिमाशुल्क आर्जन गरेको तथ्यांक प्राधिकरणसँग छ। लघु जीवन बिमकले कात्तिकमा १८ लाख ९ हजार रुपैयाँको प्रथम बिमाशुल्क आर्जन गरेका छन् भने जीवन बिमा व्यवसाय गर्ने ठूला बिमकले सोही अवधिमा १५ करोड ५३ लाख ७८ हजार रुपैयाँको प्रथम बिमाशुल्क आर्जन गरेका छन्।
यस अवधिमा नेसनल लाइफले ६ करोड ६४ लाख १० हजार, नेपाल लाइफले ६३ हजार, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) एलआईसीले ६९ हजार, मेटलाइफले १ करोड २६ लाख १६ हजार, एसिएन लाइफले २ लाख ५६ हजार र सन् नेपाल लाइफले ८ लाख ५९ हजार रुपैयाँको प्रथम बिमाशुल्क आर्जन गरेका छन्।
यस्तै, कात्तिकमा रिलायबल नेपालले ८४ हजार, सिटिजन लाइफले २ करोड ५३ लाख ८६ हजार, सूर्यज्योति लाइफले २ करोड ९ लाख ४३ हजार, सानिमा रिलायन्स लाइफले २ करोड २ लाख २५ हजार र प्रभु महालक्ष्मी लाइफले ८४ लाख ६७ हजार रुपैयाँको प्रथम लघु बिमाशुल्क आर्जन गरेका छन्।
आर्थिक वर्ष २०७५/७६ को बजेटमा बिमा कम्पनीलाई आफ्नो कुल व्यवसायको १० प्रतिशत अनिवार्य लघुबिमा गर्नुपर्ने व्यवस्था थियो। तर, अहिलेसम्म केहीबाहेक बिमा कम्पनीले कुल व्यवसायको दुई प्रतिशत पनि लघु बिमा गरेका छैनन्।
त्यसो त, नेपालमा लघु बिमा कार्यक्रम अघि बढाएको एक दशक पुगिसकेको छ। २०७१ मा नेपाल बिमा प्राधिकरण (तत्कालीन बिमा समिति) ले लघुबिमा निर्देशिका जारी गरी कम्पनीलाई लघु बिमा ‘बिमालेख’ बिक्री गर्न निर्देशन दिएको थियो। त्यसपछि २०७३/७४ मा बिमा कम्पनीलाई कुल व्यवसायको ५ प्रतिशत लघु बिमा गर्न भनेको थियो।
लघु बिमा गर्दा लागत बढ्ने तर त्यसको प्रतिफल कम हुने भएपछि ठूला बिमा कम्पनी अनिच्छुक देखिँदै आएका छन्। सोही कारण लघु बिमा कार्यक्रम अघि सारिएको थियो। तर, त्यसमा प्रभावकारी कार्यक्रम अघि नबढेपछि लघुबिमा कम्पनी नै खडा गरेर लघु बिमा कार्यक्रम अघि सारिएको हो।
बिमा प्राधिकरणले लघुबिमा कारोबार गर्न भन्दै जीवन बिमा व्यवसायका लागि तीन र निर्जीवन बिमा व्यवसायका लागि चार कम्पनीलाई २०७९ मंसिरमा अनुमति दिएको थियो। जीवन बिमातर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स (विराटनगर, मोरङ), क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स (वीरेन्द्रनगर, सुर्खेत) र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स (पोखरा, कास्की) छन् भने निर्जीवन बिमा व्यवसायतर्फ नेपाल माइक्रो इन्स्योरेन्स (भरतपुर, चितवन), स्टार माइक्रोफाइनान्स इन्स्योरेन्स (जनकपुरधाम, धनुषा) र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स (धनगढी, कैलाली) ले कारोबार सुरु गरिसकेका छन्।
सैद्धान्तिक अनुमति (एलओआई) लिएको निर्जीवन बिमातर्फको ट्रस्ट माइक्रो इन्स्योरेन्सले तोकिएको पुँजी पुर्याएपछि कारोबार अनुमति पाएको छ। लघु बिमा कारोबार गर्न नयाँ कम्पनी बजार आएसँगै गाउँगाउँ र घरघरमा गएर बिमा हुने र त्यसले गरिबी निवारणमा थोरै भए पनि सहयोग पुग्ने प्राधिकरणको विश्वास छ।
लघु बिमा कम्पनीले कारोबार सुरु गरे पनि ठूला बिमा कम्पनीले १० प्रतिशत अनिवार्य लघु बिमा गर्नुपर्ने व्यवस्था यथावत् छ। ठूला कम्पनीको दबदबा रहेका कारण पनि लघु बिमकलाई व्यवसायमा फड्को मार्न कठिन भएको चर्चा पनि भइरहेको छ। यद्यपि, लघु बिमकको व्यवसाय सुरुआती चरणमै रहेकाले यसले गति लिन प्राधिकरणको विश्वास छ।