काठमाडौं। उहिले,अष्टनारायण मानन्धर सिंहदरबार आसपास हिँड्दै गर्दा राणाजीहरूले साइकल चलाएको देखेर अचम्म मान्थे। हुन पनि १ सय वर्षअघि साइकल चढ्नु भनेको सानोतिनो कुरा थिएन। साइकल जोकोहीको ल्याकतको विषय पनि थिएन।
अरूले साइकल चलाएको देख्दा उनलाई पनि खुब साइकल चलाउन मन लाग्थ्यो। तर कहाँ पाउनु?
एक दिन उनले भाग्यवश साइकल चलाउन पाए। साइकल चलाउन नजानेका अष्टनारायण कमलादीको ओरालोमा गल्र्यामै लडे। उनको खुट्टामा चोट लाग्यो। त्यो चोटले उनको साइकल चलाउने हुटहुटी झनै बढायो।
उनी साइकल सिक्न चाहन्थे, तर कसले दिन्थे र? त्यो बेला धनाढ्यको प्रतीक मानिने साइकल जो कोहीको पहुँचमा पनि थिएन।
उनी साइकल सिक्न र साइकलकै व्यापार गर्ने सोचले १९८० सालमा कलकत्ता हान्निए। कलकत्ताबाट उनले ६ वटा हर्कुलस साइकल किनेर वीरगन्ज, हेटौंडा, भीमफेदी, कुलेखानी, चन्द्रागिरि हुँदै काठमाडौंसम्म बोकाएर ल्याए।
अष्टनारायणले असनस्थित पुख्र्यौली तरकारी पसल हटाएर साइकल पसल राखे। उनले पसलको नाम बुबा र आफ्नो नाम जोडेर ‘पञ्चनारायण अष्टनारायण साइकल’ राखे।
त्यो बेला साइकल पसल राख्दा उनले थुप्रैको भनाइ खानुप¥यो। ‘बुद्धि बिगारेर खानेकुरा बेच्न छाडेर फलामको डल्लो बेच्न थाल्यो’ भन्नेहरूको कमी थिएन। तर, उनले कसैको कुरा सुनेनन्। पसल राखेरै छाडे।
त्यो बेला साइकल बेच्न पनि कहाँ सजिलो भयो र! उनलाई २० रुपैयाँ पर्ने ६ वटा साइकल बेच्न झन्डै ६ महिना लाग्यो।
अहिले,
अष्टनारायणले १९८० सालमा सञ्चालन गरेको साइकल पसल अहिले उनका पनाती तिरेक मानन्धरले चलाउँछन्। उक्त पसलमा २२ कर्मचारी छन् भने २० लाख रुपैयाँसम्मको साइकल पाइन्छ।
हाल ‘प्याङ्क साइकल’ को नामले परिचित उक्त पसल साइकल बेच्नेमात्र नभई कस्टम गर्ने, मर्मत गर्ने सेवाका साथै साइकल भाडामा र किस्ताबन्दीमा पनि पाइन्छ। त्यस्तै प्याङ्क साइकलले साइकलमा लाग्ने ब्याट्री आफंैले एसेम्बल पनि गर्छ, जसका लागि छुट्टै कारखाना पनि छ।
‘पञ्चनारायण अष्टनारायण साइकल पसल’ को प्याङ्क बाइकसम्मको यात्रा पनि रोचक छ।
सुरुवाती दिनमा ठिकठिकै चलेको उनको पसल भारत बेलायतबाट स्वतन्त्र भएपछि नयाँ रफ्तार लियो। सन् १९४८ पछि भारतमा हिरो, एभन, एटलासलगायत ठूला साइकल फ्याक्ट्री खुले।
बेलायतबाट आयातित हर्कुलस साइकलभन्दा भारतमा निर्मित साइकल निकै सस्तो भयो। यही मौकाको फाइदा उठाउँदै अष्टनारायण हिरो, एभन, एटलासजस्ता साइकलको आधिकारिक वितरक बने।
सस्तो भएपछि साइकल सामान्य नेपालीको पहुँचमा पुग्यो। सन् १९८० सम्म नेपालमा साइकलका लागि स्वर्ण यूग बन्यो।
अष्टनारायणपछि उनका छोरा तीर्थनारायण र उनका भाइहरूले पसल चलाउन थाले। तीर्थनारायणको पालामा नेपालमा सामान्य प्रकारको माउन्टेनबाइक साइकल भित्रियो। त्यो बेला मुस्ताङ, सान्तोसालगायत साइकल चर्चित थिए।
८० को दशकमा उनीहरूको ३ गियरवाला ‘हिरो हक’ साइकल आउँदा पसलमा भीड नै लाग्थ्यो।
यो बीचमा तिरेकका बुबा त्रिरत्नले नेपालमै साइकल उत्पादन गर्न हेटांैडामा जग्गा किनेर हिरो कम्पनीसँग सहकार्य गर्ने योजना अघि बढाएका थिए। तर, दुर्भाग्यवश उनको सडक दुर्घटनामा निधन भयो। उनको निधनसँगै यो योजना पनि रोकियो।
साइकलको त्यो क्रेज ९० को दशकमा घट्दै गयो। त्यसताका मान्छेहरू मोटरसाइकल र गाडीमा सिफ्ट हुन थालिसकेका थिए। सन् २००० सम्म आइपुग्दा उनीहरूको पसल करिब बन्द हुने अवस्थामा पुग्यो।
पुल्चोक क्याम्पसमा मेकानिकल इन्जिनियरिङ सकेर विदेश जाने तयारी गरेका तिरेकलाई ८० वर्ष पुरानो आफ्नो पसल बन्द हुन दिन मन लागेन। उनले आफैंले पसल चलाउने सोच बनाए।
‘हामी साइकलसँगै हुर्कियौं। हाम्रा लागि साइकल स्वतन्त्रताको प्रतीक पनि थियो। हामी साइकलमा नयाँ–नयाँ ठाउँ घुम्न जान्थ्यौं। काठमाडौंका कुनाकाप्चा पुग्थ्यौं। कतिपटक घुम्दाघुम्दा हराएको अनुभव पनि छ,’ उनी भन्छन्, ‘बाल्यकालसँग र पुर्खासँग जोडिएको ८० वर्ष पुरानो साइकल पसल बन्द गर्नुभन्दा नयाँ ढंगले चलाउँछु भन्ने सोच आयो।’
यो योजना उनले आफ्ना हजुरबुबा तीर्थनारायणलाई सुनाए। तिरेकको योजना सुनेर तीर्थनारायण खुसीले गदगद भए।
पसल त चलाउने तर कसरी? भएको साइकल पनि बिक्न छाडेको समयमा कसरी नयाँ व्यवसाय सुरु गर्ने?
उनले व्यापारको बाटो परिर्वतन गर्ने सोचे। उनले साइकललाई आवश्यकता नभई पर्यटन र स्वास्थ्यसँग जोडे। तिरेकले ताइवानबाट एड्भान्स माउन्टेन बाइक ल्याए।
पहिले आफ्ना साथीभाइसँग साइकल यात्राको योजना बनाए। उनीहरू काठमाडौंका विभिन्न ठाउँको ‘साइक्लिङ डेस्टिनेसन’ बनाउँदै हिँडे।
यो क्रममा उनले साइकल ग्रुप बनाएर डाँडाकाँडा पु¥याए। रानीवन, इचङ्गु, मुड्खु, तीनपिप्ले, नैकापलगायत ठाउँ घुमाउँदै हिँडे। बिस्तारै उनको साइकलको बिक्री बढ्दै गयो।
उनका काकाहरूले ३/४ हजारमा सामान्य साइकल बेच्दा पसल बन्द गर्नुपर्ने अवस्था आएकोमा उनले ८÷१० हजारको माउन्टेन बाइक बिकाइ छाडे।
योसँगै उनले आफैंले फ्रेम डिजाइन गरेर नेपालमा ल्याएर फिट गरेर बेच्न थाले। यो काममा उनको इन्जिनियरिङको पढाइले साथ दियो।
उनले पसलको नाम लामो भएका कारण नामको सर्टफर्म मिलाएर ‘प्याङ्क बाइक’ राखे।
उनले आफ्नो डिजाइन नेपालीहरूलाई सुहाउने साइकल बनाएपछि बिस्तारै साइकल चढ्नेको संख्या बढ्दै गयो। एक हिसाबले भन्दा उनले नेपालीहरूलाई फेरि साइकल चढ्ने बानी बसाले।
त्यस्तै साइकल कम्युनिटी बनाउने क्रममा काठमाडौं साइकल सिटी, नेपाल साइकल सोसाइटीसँग सहकार्य गरे भने विभिन्न बैंकहरूको सिएसआरमा साइकल प्रयोग गर्ने व्यवस्था मिलाए।
‘मैले मान्छेहरू लामो समय साइकल चलाउँदा थाकेर चलाउन नसक्ने समस्या अनुभव गरेँ। त्यो समस्या हटाउन इलेक्ट्रिक साइकल बनाउने सोच बनाएँ,’ उनी भन्छन्।
उनले सन् २००६ ताका लिड एसिड ब्याट्रीको इलेक्ट्रिक साइकल बजार ल्याए। तर, यसमा भने उनी असफल भए। एसिड ब्याट्रीको ब्याकअप धेरै नहुने र चार्ज गर्न धेरै समय लाग्ने हुँदा यो इलेक्ट्रिक साइकल ग्राहकको रोजाइमा परेन।
कोभिडपछि संसारमा इलेक्ट्रिक साइकलको बिक्री ९ सय प्रतिशत बढ्यो। यो समयमा लिथियम आयोन ब्याट्रीको मूल्य पनि घटेका कारण उनले फेरि इलेक्ट्रिक साइकल बनाउने निणर्य गरे।
तिरेकले ब्याट्री सेल ल्याएर नेपालमै इलेक्ट्रिक साइकल एसेम्बल गर्न थाले। त्यसका लागि उनले छुट्टै फ्याक्ट्री नै बनाए।
हाल उनको पसलमा विभिन्न भूगोलमा चलाउन ७ वटा लेभलका साइकल पाइन्छ। ती साइकललाई ग्राहकको रोजाइ र बजेटअनुसार कस्टमाइज गर्न सकिन्छ।
त्यस्तै साइकल किनिसकेपछि त्यसमा फिचर्स थप्न वा घटाउन मिल्ने व्यवस्था पनि मिलाएका छन्। हाल उनको पसलमा साइकल भाडा, एक्सचेन्ज, रिकन्डिसन, अपग्रेड गर्ने मिल्ने सुविधा छ।
त्यस्तै उनले पछिल्लो समय खाना डेलिभरी गर्नेका लागि साइकल भाडामा पनि दिन थालेका छन्। यसका लागि दैनिक ५० रुपैयाँ भाडामा साइकल पाइन्छ।
केही समयअघि उनले पठाओ फुडसँग सहकार्य गरेर ५ सयथान साइकल भाडामा लगाइसकेका छन् भने अन्य डेलिभरी कम्पनीसँग पनि सहकार्य गर्दैछन्।
उनको पसलमा बच्चाले चलाउने १ हजार पर्ने साइकलदेखि कार्बन फाइबरको २० लाख पर्नेसम्मको साइकल पाइन्छ।
उनको साइकल नेपालमात्र नभई भारत, भुटान लगायतमा पनि निर्यात हुन्छ।
उनले वार्षिक करिब ३ हजारआसपास बिक्री गर्छन्। साइकलसँगै हुर्किएका उनी आजीवन साइकलसँगै बाँच्ने संकल्प गरेका छन्।
‘मेरो छोराले यो व्यवसाय गर्छ कि गर्दैन थाहा छैन, तर मेरो जीवन साइकलमै समर्पित भयो। यो व्यवसायलाई ठूलो कर्पोरेसन बनाउने मेरो सपना छ,’ तिरेक भन्छन्।