काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अत्यावश्यक बाहेकका कार्यक्रममा गएर आफ्नो समय खेर नफाल्ने बताएको एक साता नबित्दै पालिकाको प्रशासकीय भवन उद्घाटनमा जाने सूचना बाहिरिएको छ।
एकवर्षे कार्यकाल पूरा गरेको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै पुस १० अर्थात् अघिल्लो मंगलबार प्रधानमन्त्रीले पूर्वतयारीबाहेक र अत्यावश्यबाहेकका कार्यक्रममा नजाने सार्वजनिक घोषणा गरे। तर, प्रधानमन्त्रीले घोषणा गरेको एक साता पनि नबित्दै रामेछापको सुनापति गाउँपालिकाले आउँदो बिहीबार अर्थात् पुस १९ मा पालिका भवन उद्घाटन प्रचण्डबाट हुने सूचना जारी गरेको छ।
पालिका भवन उद्घाटन मात्रै होइन, प्रधानमन्त्री जाने दिन पालिकाले सार्वजनिक बिदा दिने घोषणासमेत गरेको छ। पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सुवेदीले जारी गरेको सूचनामा ‘भवन उद्घाटन अवसरमा पालिकाभित्रका बैंक, शिक्षण संस्था, सार्वजनिक संघ–संस्था, सम्पूर्ण सरकारी कार्यालयमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय भएको’ उल्लेख छ।
यस विषयमा जिज्ञासा राख्दा अधिकृत सुवेदीले पालिकाको छलफलबाटै उक्त निर्णय भएको बताए। तर, सार्वजनिक बिदा दिने विषय सान्दर्भिक नभएको सबैतिरबाट आएकाले निर्णय ‘रिभ्यू’ गरिने उनको भनाइ छ। अधिकृत सुवेदीले क्यापिटल नेपालसँग भने, ‘बिदाको निर्णय सान्दर्भिक नभएको कुरा सबैतिरबाट आइरहेको छ। त्यसैले हामी बिदाको निर्णय रिभ्यू गर्ने प्रक्रियामा छौं।’
तर, प्रधानमन्त्री प्रचण्डबाटै भवन उद्घाटन हुने विषय भने निश्चित भइसकेको छ। भवन उद्घाटनको तयारी पूरा भएको र उद्घाटनमा प्रधानमन्त्री आउने उनले जानकारी दिए। ‘बिदाको निर्णय रिभ्यू गरिए पनि भवन प्रधानमन्त्रीबाटै उद्घाटन गराइन लागेको हो,’ अधिकृत सुवेदीले भने।
पालिका भवन उद्घाटन मात्रै होइन, प्रधानमन्त्री जाने दिन पालिकाले सार्वजनिक बिदा दिने घोषणासमेत गरेको छ। पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सुवेदीले जारी गरेको सूचनामा ‘भवन उद्घाटन अवसरमा पालिकाभित्रका बैंक, शिक्षण संस्था, सार्वजनिक संघ–संस्था, सम्पूर्ण सरकारी कार्यालयमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय भएको’ उल्लेख छ।
आफ्नो क्षेत्रभित्र सार्वजनिक बिदा दिने अधिकार स्थानीय तहसँग भए पनि पालिकाको प्रशासकीय भवन उद्घाटनमै बिदा दिनु कत्तिको उपयुक्त हुन्छ भन्ने जवाफ सुनापतिसँग छैन।
पालिका अध्यक्ष ठूलो कान्छा तामाङ पालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको उपयुक्त नभएको बताउँछन्। अध्यक्ष तामाङले भने, ‘बिदाको निर्णय फिर्ता लिँदै छौं। बिदा दिने निर्णय हामीले नै गरेका थियौं।’
पुस १० मा देशबासीका नाममा गरिएको सम्बाोधनमा प्रधानमन्त्री प्रचण्डले देश कति बन्यो हैन, कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा आफू रहेकाले सानातिना उद्घाटनमा नजाने बताएका थिए। अबदेखि सरकारले कार्यशैली फेरेर काम गर्ने उनले जनाएका थिए।
प्रधानमन्त्रीले आफ्नो सार्वजनिक घोषणा एकपछि अर्को गरी मिच्दै जाने हो भने बचेखुचेको जनविश्वासमा ओरालो लाग्दै जाने निश्चित छ।
हुन त, उक्त घोषणा गरेको २४ घन्टा नबित्दै पुस ११ मा प्रधानमन्त्री प्रचण्ड बारपाक सुलिकोट गाउँपालिकाको कार्यक्रममा सरिक हुन गोरखा पुगेका थिए। प्रधानमन्त्रीको उक्त कार्याक्रम पनि अत्यावश्यक लाग्दैनथ्यो। यद्यपि बारपाक सुलिकोट प्रधानमन्त्रीको निर्वाचन क्षेत्र भएकाले खासै विरोध भएको थिएन।
तर, रामेछापको सुनापति गाउँपालिकासँग प्रधानमन्त्रीको कुनै साइनो छैन भने भवन उद्घाटन गर्न पुग्नैपर्ने आवश्यकता पनि होइन। यसरी प्रधानमन्त्रीले आफ्नो सार्वजनिक घोषणा एकपछि अर्को गरी मिच्दै जाने हो भने बचेखुचेको जनविश्वासमा ओरालो लाग्दै जाने निश्चित छ।
प्रधानमन्त्रीको सचिवालयले भने सुनापति गाउँपालिकामा विगतमै तय भएको कार्यक्रमअनुसार पालिका भवन उद्घाटन गर्न जान लागेको भनेर बचाउ गर्न सक्ने सम्भावना छ।