काठमाडौं। सन् २०२३ जनवरी १ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा विभिन्न क्षेत्रबाट चिन्ता र चासो व्यक्त गरिएको छ।
मंगलबार पोखरा पर्यटन परिषद्को आयोजनामा राष्ट्रिय सभाध्यक्ष गणेशप्रसाद तिम्सिना, हिमालय एयर लाइन्सका अध्यक्ष झाओ एनयोङ र पोखराका पर्यटन व्यवसायीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। छलफलमा राष्ट्रिय सभाध्यक्ष तिम्सिनाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्न आफूले गरेका प्रयासबारे चर्चा गरे।
पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न सरोकारवाला मन्त्री वा प्रधानमन्त्रीले कूटनीतिक प्रयास गर्नुपर्ने उनले सुझाए।
हिमालय एयरलाइन्सका अध्यक्ष्य झाओ एनयोङले पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न चिनियाँ, नेपाली पक्ष र कम्पनीले संयुक्त प्रयास गर्नुपर्ने बताए।
हिमालय एयरलाइन्सलाई नेपालमा आन्तरिक उडान अधिकार नभएकाले पोखराबाट काठमाडौं खाली जाँदा थप खर्च बेहोर्नुपर्ने उनको भनाइ छ। सबै पक्षबाट सहयोग भए हिमालयन एयरलाइन्स पोखराबाट नियमित चीनलगायतका अन्य गन्तव्यसम्म पनि उडान गर्न तयार रहेको प्रतिबद्धता उनले जनाए।
उनले चीनबाट वार्षिक १० करोड पर्यटकले बाह्य देशमा भ्रमण गर्दै आएको र त्यसको १ प्रतिशत्र मात्र नेपालमा आए १० लाख हुने हुँदा त्यसका लागि सरकारी पहल आवश्यक पर्ने उनले सुझाए।
पोखराको प्राकृतिक सुन्दरता, ट्रेकिङ, प्याराग्लाइडिङलगायतले चिनियाँ पर्यटकलाई आकर्षित गरिरहेको सन्दर्भमा नेपालले विमानस्थलमा लाग्ने विभिन्न शुल्कमा छुट दिएर एयरलाइन्स कम्पनीलाई उडानका लागि आकर्षित गर्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले राष्ट्रिय सभाध्यक्ष र हिमालय एयर लाइन्सलाई सकारात्मक प्रयासका लागि धन्यवाद दिए। पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि दबाब दिन पोखरा र गण्डकी प्रदेशका तर्फबाट जस्तोसुकै पहल र प्रयास गर्न तयार रहेको उनले बताए।