काठमाडौं। बसाइँसराइका कारण पछिल्लो दशकमा सहरी जनसंख्या करिब पाँच प्रतिशतले वृद्धि भएको प्रतिवेदन राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको छ।
तथ्यांक दिवस अवसरमा मंगलबार कार्यालयले सार्वजनिक गरेको ‘नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदन’ले राष्ट्रिय जनगणना २०६८ र २०७८ को बीचमा सहरी जनसंख्या २२.३१ प्रतिशतबाट बढेर २७.०७ पुगेको देखाएको हो।त्यसैगरी सहरोन्मुख जनसंख्या ३९.१९ प्रतिशतबाट बढेर ३९.७५ प्रतिशत पुगेको देखिएको छ।
सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालबाट सार्वजनिक प्रतिवेदनमा पछिल्ला १० वर्षमा ग्रामीण क्षेत्रको जनसंख्या ३८.५ प्रतिशतबाट ३३.१९ प्रतिशतमा झरेको छ।
सहरोन्मुख क्षेत्र भए पनि सहरी क्षेत्र मानिएको स्थानमा अझै पनि जनसंख्याको ठूलो हिस्सा रहेको देखिन्छ। ग्रामीण जनसंख्या अझै पनि एक तिहाइ रहेको छ। ग्रामीण क्षेत्रबाट सहरोन्मुख र सहरी क्षेत्रमा बसाइँसराइले सहरी क्षेत्रमा व्यवस्थापन गर्न कठिनाइ भएको र ग्रामीण क्षेत्रमा बसाइँसराइ कम गर्न दबाब परेको देखिएको कार्यालयका प्रवक्ता डा हेमराज रेग्मीले बताए।
जनगणना २०७८ अनुसार नेपालमा नगरपालिकाको जनसंख्या ६६.१७ प्रतिशत र गाउँपालिकाको जनसंख्या ३३.८३ प्रतिशत रहेको छ।
सहरोन्मुख जनसंख्या तराई क्षेत्रमा ८४ प्रतिशत र पोखरा महानगर र काठमाडौंका उपत्यकाका कारण असन्तुलित हुँदै सहरी जनसंख्या पहाडमा ५३ प्रतिशत र त्यसपछि तराईमा ३९ प्रतिशत केन्द्रित भएको देखिएको छ।
नेपालमा ६६.१७ प्रतिशत सहरी क्षेत्र छ भन्ने आधार अर्धसहरी वा सहरोन्मुख नगरपालिकाले नदिने हुँदा यस्तो अवस्थामा अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन गरी त्यसलाई स्थानीयकरण तथा पुर्नपरिभाषित गर्नुपर्ने अवस्थामा प्रतिवेदन तयार गरिएको कार्यालयले जनाएको छ।
भौगोलिक क्षेत्रका आधारमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरणविधिअनुसारको विश्लेषणले ग्रामीण जनसंख्या पहाडमा ६६ प्रतिशत र हिमालमा १६ प्रतिशत केन्द्रित भएको देखाएको छ।
सहरोन्मुख जनसंख्या तराई क्षेत्रमा ८४ प्रतिशत र पोखरा महानगर र काठमाडौंका उपत्यकाका कारण असन्तुलित हुँदै सहरी जनसंख्या पहाडमा ५३ प्रतिशत र त्यसपछि तराईमा ३९ प्रतिशत केन्द्रित भएको देखिएको छ।
हाल मुलुकमा २ सय ९३ नगरपालिका –९ महानगर र उपमहानगरसहित) र चार सय ६० गाउँपालिका गरी ७५३ स्थानीय तह छन्।
कार्यक्रममा मुख्यसचिव डा. अर्यालले तथ्यांक र प्रमाणमा आधारित नीति र कार्यक्रम बनाउन तीनै तहका सरकारका सम्बन्धित कार्यालयले ध्यान दिनुपर्नेमा जोड दिए।
तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी तोयम रायले संघीयताको मर्मअनुसार तथ्यांक बटुल्ने काम तीनै तहको समन्वयमा हुुनुपर्ने बताए।