काठमाडौं। एघारौं राष्ट्रिय पोल्ट्री दिवस अवसरमा चितवनमा अन्डा र कुखुराको मासुको महत्त्व बुझाउन ‘चिकेन एन्ड एग फेस्टिभल’ आयोजना गरिएको छ। नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा भरतपुर महानगरपालिका–२ क्षेत्रपुरको नमस्ते चोकमा महोत्सव गरिएको हो।
यस वर्ष ‘कुखुराको अन्डा र मासुको परिकार, स्वस्थ जीवनको आधार’ मूल नारासहित पोल्ट्री दिवस मनाइएको हो। महोत्सव अवसरमा कुखुराको मासु र अन्डा निःशुल्क वितरण गरिएको थियो।
नेपाल पोल्ट्री महासंघ उपाध्यक्ष टीकाराम पोख्रेलले कुखुराको मासु र अन्डाको महत्त्व बुझाउन नसक्दा खपत बढाउन नसकिएको बताए। कुखुराको मासु र अण्डाको महत्त्व विद्यालय स्तरबाट बुझाउन सके फलदायी हुने उनको भनाइ थियो।
मञ्चका अध्यक्ष रघुनाथ भट्टले पछिल्लो समय देखिएको आर्थिक मन्दीले कुखुरा व्यवसायीमा असर पारेको जनाए। यो समय कुखुराको मासु र अन्डाको प्रयोग बढाउन सके केही हदसम्म राहत पुग्ने उनको भनाइ थियो।
स्वास्थ्यका लागि सेतो मासु फलदायी हुने जनाउँदै उनले सबै खाले रोगीका लागि उपयुक्त हुने अन्डाको महत्त्व बुझाउन जरुरी रहेको बताए।
दिवस अवसरमा सप्ताहव्यापी कार्यक्रमसमेत समापन गरिएको छ। सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अन्डा र कुखुराको मासुको महत्त्वबारे जानकारी गराइएको थियो।
यस क्रममा २६ सरकारी विद्यालयका एक हजार ९ सय ४७ जना विद्यार्थीलाई अन्डा र मासुको महत्त्वबारे जानकारी गराइएको छ। २०१७ पुस १७ मा बाराको परवानीपुर सेन्ट्रल ह्याचरी खोलिएपछि नेपालमा आधुनिक पोल्ट्रीको सुरुआत मानिँदै आएको छ। यही मितिलाई पोल्ट्री दिवसका रुपमा मनाउँदै आइएको छ।