काठमाडौं। विश्वप्रसिद्ध अटो ब्रान्ड फोटोनले नेपालमा १४ र १५ सिट क्षमताका ‘हाई रुफ’ विद्युतीय भ्यान सोमबार सार्वजनिक गरेको छ।
फोटोन नेपालका अनुसार १५ सिटर इभी भ्यानको मूल्य ५७ लाख रुपैयाँ तोकिएको छ। यसमा ८० प्रतिशत फाइनान्सिङको व्यवस्था गरिँदै छ।
यी इभी भ्यान युरोपियन युनिययन डब्लििभटिए–प्रमाणित छन् जसको परीक्षण र निरीक्षण प्रख्यात जर्मन संस्था टियुभी रेनल्यान्डद्वारा गरिएको छ।
यी गाडीमा ३ लाख किलोमिटर वा ५ वर्षको वारेन्टी प्रदान गरिएको फोटोन नेपालले जनाएको छ। हाई रुफ इभी भ्यानमा ८५ किलोवाटको पावर, फराकिलो भित्री भाग र आरामदायी सवारीका लागि फुल एसी जडित छ। यो गाडीमा ५०.२३ किलोवाट पावरको क्याटल ब्याट्री छ।
फोटोन नेपालका सेल्ड हेड नवीन आचार्यले फोटोन हाई रुफ इभी भ्यान यो सेग्मेन्टअन्तर्गत यसको उन्नत प्रविधिका लागिमात्र नभई यसको विशाल इन्टेरियरका कारण चालक र यात्रु दुवैका लागि अतुलनीय आरामको सुनिश्चिततामा पनि विशिष्ट रहेको बताए। यसको कम मर्मत खर्चले सवारी धनीलाई थप बचत गर्न सघाउने उनको भनाइ छ।
फोटोनको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पका कार्यकारी निर्देशक विष्णुकुमार अग्रवालले फोटोन गाडी निर्मातामात्र नभई लगातार नयाँ प्रविधिसँग अद्यावधिक रहने इनोभेसनको आर्किटेक्ट रहेको बताए।
फोटोनले इभी चार्जिङ स्टेसनहरूमा पनि सक्रिय लगानी गरिरहेको जनाएको छ। १ सय ३० भन्दा बढी देशमा कुदिरहेको फोटोनसँग पेट्रोल र डिजेल सवारीसाधानदेखि अत्याधुनिक इभी, हाइड्रोजन, सिएनजी र एलएनजी सवारीसाधन उत्पादन लाइनअप छ।
आटोमोबाइल उद्योगका कमिन्स, जेडएफ, बेन्ज र पियाजोंसँगको सहकार्यमा फोटोनले विश्वव्यापी उत्कृष्टताको विरासत जारी राखेको जनाएको छ।