पोखरा। ११औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसका अवसरमा नेपाल टोपी प्रतिष्ठान गण्डकीले सम्भवतः विश्वकै ठूलो ढाका टोपी लेकसाइड परिक्रमा गराएको छ।
‘हाम्रो टोपी हाम्रो शान’ भन्ने नारासाथ हरेक वर्ष मनाइँदै आएको नेपाली टोपी दिवसमा यसपालि सम्भवतः विश्वकै ठूलो ढाका टोपीलाई हल्लनचोकदेखि फिस्टेल गेटसम्म परिक्रमा गराइएको प्रतिष्ठान अध्यक्ष महेश्वरसिंह भण्डारीले बताए।
नेपाली टोपी प्रतिष्ठान गण्डकीको संयोजन र जस्मिन पेन्ट्सको सहयोगमा उक्त ढाका टोपी परिक्रमा गराउन रेवान पोखराले समेत सहयोग गरेको थियो।
२५औं सडक महोत्सव चलिरहँदा प्रतिष्ठानले नेपाली टोपीसहित राष्ट्रिय पोसाकको पहिचान, सम्वर्द्धन र अन्तर्राष्ट्रियरूपमा प्रवर्द्धन गर्न उक्त परिक्रमा आयोजना गरेको प्रतिष्ठान गण्डकी सचिव सचिन रानाभाटले जानकारी दिए।
प्रतिष्ठानले पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, महानगरका वडाध्यक्षहरू, महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, रेवान पोखरा अध्यक्ष नरेश भट्टराई, पोखरा पर्यटन परिषद अध्यक्ष पोमनारायण श्रेष्ठलगायत अंग्रेजी नयाँ वर्ष मनाउन पोखरा आएका अन्तर्राष्ट्रिय पर्यटकलाई समेत नेपाली टोपी लगाएर नेपाली मौलिक संस्कृतिबारे जानकारी गराएको थियो।
१० वर्षयता नेपाली युवाले अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ तारिखलाई ढाका टोपी दिवसका रूपमा मनाउँदै आएका छन्। नेपाली टोपी दिवस मनाउनुको प्रमुख उद्देश्य नेपाली टोपीलाई विश्वभरि फैलिएका नेपाली नागरिक एवं नेपालीमूलका नागरिकको अन्तर्राष्ट्रिय पहिचानका रूपमा स्थापित गराउनु र राष्ट्रियता बचाउनु रहेको प्रतिष्ठान गण्डकी अध्यक्ष भण्डारी बताउँछन्।
ढाका टोपी नेपाली पहिचान हो। नेपाल भाषामा काँचो धागोलाई कचिका भनिन्छ। महिलाले कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई सचिका भनिन्छ। म्हपूजा र भाइटीका गर्दा लगाउने काँचो धागोको एक किसिमको मालालाई जजंका भनिन्छ।
त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ। धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ जसलाई खसभाषामा ढाका टोपी भन्ने गरिएको हो।
ढाका टोपीको ढाका शब्दलाई बंगलादेशको राजधानी ढाकासँग जोडेर ढाका टोपीलाई नेपालको आफ्नै होइन, आयातित हो, बंगलादेशको राजधानी ढाकाबाट ल्याइएको कपडा वा प्रविधिबाट उत्पादित कपडाबाट बनेको हो भनेर गलत प्रचार गरिएको छ। जुन एउटा अपभ्रम र मिथ्यामात्र रहेको प्रतिष्ठानले जनाएको छ।