काठमाडौं। निजी वायुसेवा कम्पनी श्री एयरलाइन्स लिमिटेडको व्यापार २० प्रतिशत बढेको छ। श्रीले एक वर्षमा ४ अर्ब १४ करोड १० लाख रुपैयाँबराबर व्यापार गरेको छ। उसले सन्र २०२२ मा ३ अर्ब ४५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो।
एक वर्ष अवधिमा कम्पनीको आम्दानी ६८ करोड २० लाख रुपैयाँ बढेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ। २०२१ मा श्रीले १ अर्ब ३८ करोड ३० लाख रुपैयाँकाे मात्र कारोबार गरेको थियो। कम्पनीको कारोबार बढ्दै गएको वित्तीय विवरणले देखाएको छ।
श्री एयरलाइन्सको ऋण ३ अर्ब ८५ करोड ५६ लाख रुपैयाँ छ। २ अर्ब ५५ करोड रुपैयाँ दीर्घकालीन र १ अर्ब ३० करोड ३८ लाख रुपैयाँ अल्पकालीन ऋण छ।
दक्ष व्यवस्थापनका कारण श्रीको बजार हिस्सा बलियो देखिएको छ। हेलिकोप्टर सेवा प्रदायक श्रीले २०१७ मा बम्बार्डियर कम्पनीको सिआरजे मोडेलका जहाजबाट नियमित यात्रुवाहक उडान सुरु गरेको हो। त्यसपछि कम्पनीको व्यापारमा उल्लेख्य वृद्धि भएको छ। श्रीले १९९९ देखि हेलिकोप्टरबाट उडान सुरु गरेको थियाे।
श्री एयरलाइन्स नेपालको तेस्रो ठूलो वायुसेवा कम्पनी हो। श्रीको बजार हिस्सा १६ प्रतिशत छ। यसले स्थापनादेखि नै बजार हिस्सा साेही दरमा कायम गरिरहेकाे छ। श्रीको धनगढी र नेपालगञ्जमा बलियो उपस्थिति छ। यी सेक्टरकै कारण २०२२ मा श्रीकाे यात्रु संख्या ३३ प्रतिशतले बढेकाे थियाे।
त्यस्तै पोखरा र भरतपुर छोटो दुरीमा पनि श्रीले उडान गर्दै आएको छ। श्रीसँग जेट इन्जिनका साथै ४ वटा टर्बोप्रप जहाज छन्। त्यसमध्ये दुईवटा भाडामा छन्।
सन् १९९९ मा एयर अनन्यबाट उडान सुरु गरेकोमा पछि नाम परिवर्तन गरी श्री एयरलाइन्स भएको थियाे। गत वर्ष कम्पनी पब्लिक लिमिटेडमा परिणत भएको थियो। श्रीको मुलुकका विभिन्न १८ ट्रंक रुटबाट जहाजसाथै हेलिकोप्टरबाट चार्टर्ड उडान गरिरहेको छ।
श्रीसँग ८ जहाज छन्। जसमध्ये ४ वटा जेट र बाँकी ४ बम्बार्डियर र ६ वटा एयरबसका एमआई–८ सेग्मेन्टका हेलिकोप्टर छन्। कम्पनीमा सुधीर मित्तलको ९९.८९ प्रतिशत स्वामित्व छ। उनी कम्पनीका अध्यक्ष हुन्।