काठमाडौं। प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समिति प्रभावकारी नभएको सांसदहरूले गुनासो गरेका छन्। सोमबार विद्युत् विकास विधेयकमा छलफल गर्न बसेको बैठकमा उपस्थित सांसदहरूले समिति सुस्त भएको बताएका हुन्।
समितिअन्तर्गत सहरी विकास, भौतिक पूर्वाधार तथा यातायात, खानेपानी र ऊर्जा जलस्रोत तथा सिँचाइ गरी दुई वटा विकासे मन्त्रालय पर्छन्।
समितिले करिब २ महिनापछि सोमबार बैठक राखेको हो। दसैंअघि भौतिक मन्त्रालयसँग छलफल गरेको समितिले जाजरकोट भूकम्प, काठमाडौंमा खानेपानी समस्या हुँंदा पनि मेलम्ची नआउनुको कारण खोज्न छलफल नडाकेको उनीहरूको भनाइ छ।
त्यस्तै, बालकुमारी घटनामा मन्त्री जानुको कारणबारे बुझ्न समितिले समयमै बैठक आह्वान गर्न नसकेको सांसदहरू निशा डाँगी, बिना लामा, शिव परियार, सुशीला श्रेष्ठलगायतले बताए।
सांसद माधव सापकोटा र ठाकुर गैरेले विद्युत् प्राधिकरणले उद्योगमा बिजुली काट्दा उद्योगी असन्तुष्ट भएकाले यसमा समितिले तत्काल छलफल गर्नुपर्ने माग गरे। उनीहरूले पनि पूर्वाधार समितिले पूर्वाधार निर्माणका विषयमा प्रभावकारी भूमिका वहन गर्न नसकेको बताए।
सांसद प्रतिमा गौतमले गाउँ जादा पूर्वाधार समितिको सदस्य भन्न सक्ने अवस्था नरहेको सुनाइन्। समितिले प्रभावकारी अनुगमन नगर्दा राजमार्गको समस्या झनै विकराल बनेको उनको भनाइ थियो।
समिति सभापति दीपक सिंहले सबै सांसदहरूको समयानुकूल नहुँदा २ महिनापछि मात्रै बैठक राख्नुपरेको बताए। सांसदका गुनासोमा आफ्नो ध्यानाकर्षण भएको सभापति सिंहको भनाइ छ।