मुक्तिनाथ। नेपालको आकर्षक पर्यटन गन्तव्य मुस्ताङको मुक्तिनाथ क्षेत्रमा यतिबेला नेपाली धनाढ्यहरूको जमघट बाक्लो छ। उनीहरू अंग्रेजी नयाँ वर्ष २०२४ र यसको पूर्वसन्ध्या (न्यु इयर इभ) मनाउन यहाँ आएका हुन्।
हिजो आइतबार न्यु इयर इभ र आज सोमबार अंग्रेजी नयाँ वर्ष २०२४ मनाइरहेका धनाढ्यहरूमा गैरआवासीय नेपाली शेष घले, उनकी पत्नी जमुना गुरुङ, व्यवसायीहरू सुरज वैद्य, उनकी पत्नी ऋतु सिंह वैद्य, सोनाम लामा, श्याम लामा, अमेरिकामा व्यवसाय गर्दै आएका पासाङ जी शेर्पा लगायत छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष घले तथा उनकी पत्नी जमुना अस्ट्रेलियाको धनाढ्यहरूको सूचीमा छन्। घलेले करिब १२ अर्ब लगानीमा काठमाडौंमा पाँचतारे होटल शेराटन काठमाडौं निर्माण गरिरहेका छन्।
त्यस्तै, सुरज वैद्य नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन्। उनी व्यावसायिक घराना वैद्यज अर्गनाइजेसनका अध्यक्ष पनि हुन्। उनको अर्गनाइजेसन नेपालमा जापानी गाडी निर्माता कम्पनी टोयोटाको आधिकारिक वितरक हो। वैद्यकी पत्नी ऋतुसिंह वैध वैद्यज अर्गनाइजेनसका प्रबन्ध निर्देशक हुन्।
...
अर्बपति घले दम्पतीलाई न्यु इयर इभ र नयाँ वर्ष मनाउन विश्वका जुनसुकै देश रोजाइमा पर्न सक्थ्यो। आफ्नो बिजनेस मिटिङका लागि युरोप, अमेरिका वा अन्य विकसित देश गइरहने घले दम्पतीलाई यसपालिको न्यु इयर इभ र नयाँ वर्ष मनाउन भने आफ्नै जन्मभूमिमा पुग्ने चाहना पलायो।
र, सुविधा सम्पन्न तथा भौतिक पूर्वधार हिसाबले अतिलक्जरियस संरचना छाडेर अंग्रेजी नयाँ वर्ष २०२४ स्वागत र सुरुवातका लागि नेपालको ३ हजार ७ सय १० मिटर उचाइमा रहेको मुक्तिनाथ आइपुगे।
नेपालमा झन्डै १२ अर्ब रुपैयाँ लगानीमा पाँचतारे होटल शेराटन काठमाडौं निर्माण गरिरहेका छन्। त्यस्तै नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्ने गरी सबैभन्दा ठूलो परोपकारी संस्था एमआइटी ग्रुप फाउन्डेसनको समेत स्थापना गरेका छन। आइतबार मुक्तिनाथ आइपुगेका घले दम्पती मंगलबारसम्म यहीँ बस्नेछन्।
उनीहरू मुक्तिनाथ आइपुग्नुको मुख्य कारण एनआरएनएका पूर्वउपाध्यक्ष सोनाम लामाले एक वर्षअघि सञ्चालनमा ल्याएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’ हो। घले दम्पतीसँग अतिनिकट पूर्वउपाध्यक्ष लामा अमेरिकाका गैरआवासीय नेपाली हुन्।
मुक्तिनाथमा जन्मिएका लामाले एक वर्षदेखि सुविधासम्पन्न रिसोर्ट सञ्चालन गरिरहेका छन्। रिसोर्टसँगै मुक्तिनाथ मन्दिरमा विशाल बुद्धको मूर्तिसमेत बनाइदिएका छन्।
सोही बुद्धको मुर्ति अनावरण गर्न एक वर्षअघि मुक्तिनाथ आइपुगेका घले दम्पतीले २०२४ को न्यु इयर इभ र नयाँ वर्ष मनाउन पुनः आउने वाचा गत वर्ष नै लामासँग गरेका थिए। सोही वाचाअनुसार घले दम्पती विदेशका कार्यक्रम थाती राख्दै मुक्तिनाथ आएका हुन्।
त्यसैगरी घले दम्पतीसँगै व्यवसायी सुुरज वैद्य दम्पती पनि मुक्तिनाथ आएका छन्। घले दम्पती आइतबार हेलिकोप्टरमार्फत मुक्तिनाथ आएका थिए भने वैद्य दम्पती गाडीमा आएका थिए। त्यस्तै जिएमआई रेमिटका सञ्चालक श्याम लामासहितका व्यवसायी पनि मुक्तिनाथ आएका छन्।
अंग्रेजी नयाँ वर्ष २०२४ पूर्वसन्ध्यामा रिसोर्टका तर्फबाट अतिलोपोन्मुख डोल्पा नाच प्रस्तुत गरिएको थियो। कामको सिलसिलामा मुक्तिनाथ क्षेत्र आएर बसोबास गरिरहेका डोल्पालीहरूको एक समूहले आफ्ना गीतसँगै नृत्य प्रस्तुत गरेका थिए।
रिसोर्टबाट मुस्ताङको मनोमहक दृष्यावलोकन गर्दै रात्रिकालीन समयमा समेत टलक्क टल्किएका हिमशृंखलासँग उनीहरूले खुसी साटासात गरेका थिए। ३ सय ६० डिग्रीमा देखिएको हिमाल र पहाडसँग निकट रहँदै नयाँ वर्ष २०२४ स्वागत गरेका थिए।
भौगोलिक दृष्टिकोणले अति नै दुर्गम क्षेत्रका रूपमा रहेको मुक्तिनाथमा व्यवसायी सोनाम लामाले लगानी र अथक मिहिनेतपछि सुविधासम्पन्न रिसोर्ट निर्माण गरेका थिए। जसका कारण धनाढ्यहरूको न्यु इयर इभ र नयाँ वर्ष मनाउने प्रमुख गन्तव्य मुक्तिनाथ क्षेत्र परेको हो।
गत वर्षदेखि नै नयाँ वर्ष मनाउन मुक्तिनाथ आउने वाचाअनुसार २०२४ लाई स्वागत गर्न आउन पाउँदा निकै खुसी लागेको घले दम्पतीले बताए। व्यस्त तालिकाबीच एनआरएनए पूर्वउपाध्यक्ष लामाले बनाएको रिसोर्टको प्रचार प्रसारका लागि र न्यु इयर इभ र नयाँ वर्ष मनाउने प्रमुख गन्तव्यका रूपमा विस्तार गर्न आफूहरू यहाँ आएको घले दम्पतीले सुनाए।
‘सकेसम्म हरेक वर्ष न्यु इयर इभ र नयाँ वर्ष मनाउन मुक्तिनाथ आउने योजना बनाएका छौं,’ एनआरएनए पूर्वअध्यक्ष घलेले क्यापिटल नेपालसँग भने, ‘यदि विविध कारण आउन सकिएन भने पनि अरूलाई मुक्तिनाथ उत्कृष्ट गन्तव्यका रूपमा रहेकाले भ्रमणमा जान विश्वभरि सन्देश दिनेछौं। यसका लागि पनि हामी यहाँ आएका हौं।’
वर्षभरि विभिन्न काममा अल्झिनुपर्ने भएकाले नयाँ वर्षलाई पवित्र भूमिमा गएर स्वागत गर्ने र रमाइलोसँग मनाउने उद्देश्य बोकेर मुक्तिनाथमा परिवारसहित आएको वैद्य अर्गनाइजेसनका अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष वैद्यले बताए। ‘सहरको भीडभाडबाट टाढा र प्रकृतिसँग नजिक रहेर नयाँ वर्षको स्वागत गर्न पाउँदा र यहीँ मनाउन पाउँदा निकै खुसी लागेको छ,’ वैद्यले भने।
राष्ट्रिय सभा अध्यक्ष पनि मुक्तिनाथ
राष्ट्रिय सभा अध्यक्ष गणेश पराजुली पनि न्यु इयर इभ मनाउन मुक्तिनाथ आएका छन्। अध्यक्ष पराजुलीले लो मुस्ताङ हिमालयन रिसोर्टमै व्यवसायी र आफ्ना साथीहरूसँग बसेर अंग्रेजी नयाँ वर्ष २०२४ को स्वागत गरेका थिए।
स्याउ फार्मसँगै रिसोर्ट
मौलिकता झल्किने खालको डिजाइनसहित सञ्चालनमा रहेको लो मुस्ताङ हिमालयन रिसोर्टमा २८ कोठा छ। ४ भिल्लामा ६ डिलक्स कोठा र एउटामा ज्याकुजी, सौना तथा स्पासहित सुविधा छ।
नीलगिरि, धौलागिरिजस्ता मनमोहक हिमालको घेराभित्र रहेजस्तै देखिने रिसोर्टमा पर्यटक सेवाका लागि सौना, स्पादेखि घोडचढी सुविधा उपलब्ध छ।