काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबाेन) को आधा कार्यकाल अध्यक्ष जिम्मेवारी सम्हालिरहेका रमेशकुमार हमालको कार्यकाल पुस २० गते सकिँदै छ। हमाल तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाको बाँकी कार्यकाल अर्थात २१ महिनाका लागि बोर्ड अध्यक्ष नियुक्त भएका हुन्।
ढुंगानालाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ पुसमा ४ वर्षका लागि बोर्ड अध्यक्ष बनाएको थियो।
तर, सर्वोत्तम सिमेन्ट सेयर कारोबार प्रकरणमा मुछिएपछि सरकारले ढुंगानालाई २०७८ असोज १९ मा पदमुक्त गरेपछि बाँकी कार्यकालको जिम्मेवारी २०७८ पुस १८ मा हमालले पाएका थिए।
सरकारले चाहे बोर्ड अध्यक्ष हमाललाई पुस २० सम्म दोस्रो कार्यकालका लागि नियुक्ति दिन सक्छ। तर, संघीय संसदको लेखा समितिले पुस १३ मा हमालको व्यक्तिगत सम्पत्तिलगायत उनको कार्यकालमा भए/गरेका विविध काम कारबाहीमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएको छ।
समितिको निर्देशनपछि हमालको बोर्ड अध्यक्षमा पुनर्नियुक्तिको सम्भावना न्यून भएको छ। हमालको पुनर्नियुक्तिमा पूर्णविराम लागेको संकेतसँगै बोर्ड अध्यक्षको आकांक्षी पूर्वप्रशासकहरू शक्तिकेन्द्र धाउन थालेका छन्।
अध्यक्षको आकांक्षीमा राजनीतिकसँगै व्यापारिक शक्तिकेन्द्रमा लबिङ सुरु गर्नेमा बोर्डकै वर्तमान कार्यकारी निर्देशकहरू र पूर्वकार्यकारी निर्देशकहरू छन्।
त्यस्तै, नेपाल राष्ट्र बैंकका पूर्वनिर्देशक, पूर्वकार्यकारी निर्देशक र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का पूर्वप्रमुख कार्यकारी अधिकृतलगायत ९ जना पूर्वप्रशासकहरू बोर्ड अध्यक्षको आकांक्षा राख्दै शक्तिकेन्द्र धाइरहेका छन्। यसरी व्यापारिक घराना र राजनीतिक शक्ति केन्द्रमा बोर्ड अध्यक्षका लागि लबिङ गर्नेमा बिमा प्राधिकरणका पूर्वअध्यक्षसमेत छन्।
सार्वजनिक लेखा समितिले हमालको व्यक्तिगत सम्पत्ति शुद्धीकरणका विषयमा अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई छानबिन गर्न र अख्तियार दुरुपयोग अनुसन्धानलाई ३ वर्षयता प्रिमियम मूल्यमा जारी भएका सेयरबारे छानबिन गर्न निर्देशन दिएको छ। यसले गर्दा हमालको पुनर्नियुक्ति अन्योलमा परेको छ।
आफ्नो कार्यकाल समाप्त हुनु एक महिनाअघि घर बिदा लिएर विदेश भ्रमणमा रहेका हमाललाई लेखा समितिले बोलाएको समयमा उपस्थित नहुँदा भविष्यमा सार्वजनिक पदमा रहन योग्य नहुने निणर्य समितिले गरिसकेको छ।
समितिले हमाललाई आर्थिक चलखेल गरेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई ३० दिनभित्र उनको व्यक्तिगत सम्पत्ति छानबिन गरी विवरण पेस गर्न निर्देशन दिएको छ।
यसले गर्दा हमालको पुनर्नियुक्ति अन्याेलमा परेको छ। आफ्नो कार्यकाल समाप्त हुनु एक महिनाअघि घर बिदा लिएर विदेश भ्रमणमा रहेका हमाललाई लेखा समितिले बोलाएको समयमा उपस्थित नहुँदा भविष्यमा सार्वजनिक पद रहन योग्य नहुने निणर्य समितिले गरिसकेको छ।
हमालले पदीय रूपमा अवाञ्छित र अपारदर्शी काम गरेको निष्कर्ष निकाल्दै लेखा समितिले धितोपत्र बोर्डलाई १० बुँदे निर्देशन जारी गरेको छ। यसरी आर्थिक चलखेललगायत विषयमा छानबिनमा परेको व्यक्तिलाई सरकारले बोर्ड अध्यक्षमा पुनर्नियुक्ति दिने सम्भावना प्रायः शून्य छ।
हमालको कार्यकाल समाप्त भई अध्यक्ष पद रिक्त भएपछि अर्थ मन्त्रालयले ३ जनाको नाम सिफारिस गरी मन्त्रिपरिषद पठाउनुपर्छ। सोही ३ जनाबाट उपयुक्त १ जनालाई ४ वर्षका लागि बोर्ड अध्यक्षमा नियुक्त गर्नुपर्छ।
बोर्ड अध्यक्षका लागि पुरानासँगै नयाँ आकांक्षीहरू पनि आउने आकलन गरिएको छ। यस पटकको बोर्ड अध्यक्षका लागि राजनीतिक पहुँचमा नेकपा माओवादी र नेपाली कांग्रेस निकटको दाबेदारी बढी हुने देखिएको छ।
बोर्ड अध्यक्षका दाबेदारमा आकलन गरिएका व्यक्तिमा बोर्डकै कार्यकारी निर्देशकत्रय डा. नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र कृष्णराज पोखरेल छन् भने बोर्डकै पूर्वकार्यकारी निर्देशक निरज गिरी पनि अध्यक्षको दाबेदार बन्न शक्तिकेन्द्र धाइरहेका छन्।
हमालको २१ महिने कार्यकाल सफल बनाउन सहयोग गरिरहेका कार्यकारी निर्देशकत्रय अधिकारी माओवादी, पोखरेल कांग्रेस र श्रेष्ठ एमालेनिकट छन्।
बोर्ड अध्यक्ष आकांक्षीमा आँकिएका कार्यकारी निर्देशक अधिकारी प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ का नातेदार हुन्। माओवादी अध्यक्ष प्रचण्डका टाढाको नाताले भान्जा पर्ने बर्दियावासी डा. नवराज अधिकारीलाई बोर्ड अध्यक्ष बनाउन मामा प्रचण्डको सहयोग हुने देखिन्छ।
बोर्डमा आकांक्षा राखेर बसेका चार्टर्ड एकाउन्टेन्ट पोखरेल हालै बेतन कर्णाली जलविद्युत कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक बनेका छन्।
कर्मचारी सञ्चय कोषका प्रशासक, बोर्डका सञ्चालक, नेपाल चार्टर्ड एकाउन्टेड संस्था (आइक्यान) का अध्यक्ष, युनाइटेड अजोड (तत्कालीन युनाइटेड) इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत भइसकेका अधिकारी नेकपा समाजवादीनिकट थिए। विभिन्न ठाउँमा आवेदन दिए पनि नियुक्ति नपाउने अवस्था भएपछि पार्टी परिवर्तन गरेर कांग्रेस हुँदै आफैंले स्थापना गरेको बेतन कर्णालीमा प्रबन्ध निर्देशक भएर गए।
बोर्डका अर्का कार्यकारी निर्देशक ललितपुरका मुक्तिनाथ श्रेष्ठ पनि अध्यक्ष पदको आकांक्षी मानिएका छन्। एमालेनिकट रहेका श्रेष्ठले पहिलोपटक बोर्ड अध्यक्षका लागि आकांक्षा राखेर राजनीतिक लबिङ गर्न थालेका हुन्।
यस्तै, यसअघि पनि तेस्रो पटकसम्म बोर्ड अध्यक्षका लागि दाबेदारी दिएका पूर्वकार्यकारी निर्देशक निरज गिरी चौथोपटक पनि आकांक्षा राखेर शक्तिकेन्द्र धाइरहेका छन्। गिरी नबिल सेक्युरिटिज लिमिटेडका अध्यक्ष हुन्। कांग्रेसनिकट गिरी पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका प्रदेशवासी हुन्।
उनी राजनीतिक लबिङमा कांग्रेसी नेताबीच घरदैलाेमा जुटेको बुझिएको छ। साथै, गिरीलाई बोर्डको आगामी कार्यकालका लागि अध्यक्ष बनाउन व्यावसायिक घराना चौधरी ग्रुप र विशाल ग्रुपले सहयोग गर्ने संकेत गरेका छन्।
यस्तै बोर्ड अध्यक्षका लागि नेप्सेका पूर्वकार्यकारी अधिकृत (सिइओ) हरू चन्द्रसिंह साउद र सीताराम थपलिया पनि आकांक्षीका रूपमा देखिएका छन्। डढेलधुराबासी साउद पूर्वप्रधानमन्त्री देउवा पत्नी आरजु राणाका विश्वासिला व्यक्तिका रूपमा परिचित छन्।
उनलाई नेप्सेको सिइओ बन्न आरजुको मुख्य हात रहेको बताइन्छ। साथै, नेप्सेका पूर्वसिइओ नुवाकोटबासी थपलिया कांग्रेसनिकट हुन्। उनी पूर्वअर्थमन्त्री डा. रामशरण महतको विश्वासपात्रका रूपमा पनि चिनिएका व्यक्ति हुन्।
यसैगरी बोर्ड अध्यक्षमा तत्कालीन बिमा समिति हालको बिमा प्राधिकरणका पूर्वअध्यक्ष चीरञ्जीवी चापागाईकाे पनि दावेदारी रहने आकलन गरिएको छ।
बोर्ड अध्यक्षमा वर्तमान अध्यक्ष हमालको पुनर्नियुक्ति नभए प्रबल दावेदारीमा आउन चापागाईले राजनीतिसँगै व्यापारिक सहयोग जुटाउने गृहकार्य सुरु गरिसकेका छन्।
माओवादीनिकट रहेका राष्ट्र बैंकका पूर्वनिर्देशक चापागाई यसअघि नै बोर्ड अध्यक्षको दाबेदारीमा आउने तयारी गरेका थिए। तर, विभिन्न कारण यसअघि दाबदाेरी नदिएका चापागाईलाई प्रधानमन्त्री प्रचण्डसँगै विशाल ग्रुप र बोर्डका कर्मचारीले पनि सहयोग गर्ने संकेत गरेका छन्।
चापागाईले बिमा प्राधिकरण अध्यक्ष भएपछि १० वटा जीवन र ४ वटा निर्जीवन बिमा कम्पनीलाई लाइसेन्स दिएका थिए। जसको प्रक्रियामा अर्बौं रुपैयाँको चलखेल गरिएको आरोप उनलाई आज पनि लागेको छ।
उनको कार्यकालमा महामारीका रूपमा फैलिएको कोरोना बिमा विवाद र त्यसवापतको दाबी भुक्तानी समस्या आजसम्म पनि सुल्झिन सकेको छैन। कोरोना बिमाका कारण नेपालको बिमा क्षेत्र अन्तर्राष्ट्रिय जगतमै बदनाम हुन पुगेको बिमा विज्ञहरू बताउँछन्।
पुँजी बजारको नियामक निकायको अध्यक्ष पदका लागि बैंक तथा वित्तीय क्षेत्रका निर्देशक र कार्यकारी निर्देशकसमेत आकांक्षी देखिएका छन्।
यसअघि नै तेस्रो पटकसम्म बोर्ड अध्यक्षको दाबेदारी दिएका बैतडीबासी राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गोपाल भट्ट पुनः बोर्ड अध्यक्षका आकांक्षी हुन्। कांग्रेसनिकट भट्ट पूर्वप्रधानमन्त्री देउवा नजिकका भनेरसमेत चिनिन्छन्। उनले पुँजीबजार विषयमै विद्यावारिधि गरेका छन्।
बोर्डमै विज्ञ सञ्चालकसमेत भइसकेका राष्ट्र बैंककै पूर्वनिर्देशक अशोक पौडेल पनि अध्यक्षको दाबेदारीमा आउने भएका छन्। एमालेनिकट पौडेल पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाका विश्वासपात्र हुन्। रुपन्देहीका पौडेलले यसअघि नेपाल बैंक र नागरिक लगानी कोषको सिइओको प्रतिस्पर्धामा भाग लिएका थिए।