काठमाडौं। मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले साढे ३ अर्ब रुपैयाँ नाफा गरेको छ।
प्राधिकरणले गत आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ४९ करोड १५ लाख रुपैयाँ नाफा कमाएको तथ्यांक सार्वजनिक गरेकाे छ।
तत्कालीन हवाई विभाग खारेज गरी सरकारले २५ वर्षअघि नागरिक उड्डयन प्राधिकरण स्थापना गरेको थियो। प्राधिकरणको २५औं वार्षिकोत्सव कार्यक्रममा महानिर्देशक प्रदीप अधिकारीले गत वर्ष सबै खर्च कटाएर खुद सञ्चालन नाफा ३ अर्ब ४९ करोड १५ लाख रहेको जानकारी दिए।
प्राधिकरणका अनुसार गत वर्ष एरोनटिकलतर्फ ११ अर्ब ७२ करोड १७ लाख र नन्एरोनटिकलतर्फ १ अर्ब ७८ करोड ८६ लाख गरी कुल १३ अर्ब ५१ करोड ३ लाख रुपैयाँबराबर आम्दानी भएको छ।
त्यसैगरी गत वर्ष कुल १५ अर्ब ८२ करोड ८३ लाख रुपैयाँ खर्च भएको छ । जसमा पुँजीगत खर्च ७ अर्ब ४४ करोड ३८ लाख, कार्यसञ्चालन खर्च ४ अर्ब २२ करोड ९९ लाख ,आयकर तथा अन्य खर्च ४ अर्ब १५ करोड ५ लाख थियो।
प्राधिकरण स्थापनायता हवाई उडान १ सय ९२ प्रतिशत, यात्रु संख्या ३ सय ६४ प्रतिशत र कार्गो शतप्रतिशतले वृद्धि भएको महानिर्देशक अधिकारीले बताए।
प्राधिकरणको आम्दानी पछिल्लो डेढ दशकमा १५ गुणाले वृद्धि भएको छ। २०५६/५७ मा ९१ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको प्राधिकरणले २०७९/८० मा आइपुग्दा १३ अर्ब ५१ करोड भएको छ।
प्राधिकरणका अनुसार सन् २०२३ अन्तिमसम्ममा तीन अन्तर्राष्ट्रिय र ५२ आन्तरिक गरी विमानस्थल संख्या ५५ पुगेको छ। २०२३ नोभेम्बरसम्ममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय हवाई यात्रु संख्या ४१ लाख ५४ हजार ३ सय ९३ थियो। २०२२ मा यो संख्या २९ लाख ४५ हजार ५ सय ४० थियो।
अन्तर्राष्ट्रिय यात्रु संख्या ४१.०४ प्रतिशतले बढेको प्राधिकरणले जनाएको छ। २०२३ नोभेम्बरसम्म कुल ७७ लाख ९४ हजार २ सय १७ पुगेको थियो। यो भनेको ३७.४८ प्रतिशतले बढी हो। गत वर्ष नोभेम्बरसम्म ५६ लाख ६८ हजार ९ सय ४१ यात्रु पुगेका थिए।