तनहुँ। बन्दीपुर गाउँपालिका-४ बिमलनगरस्थित चुनपहरा चट्टान आरोहण (रक क्लाइम्बिङ) का लागि पर्यटक रोजाइमा पर्न थालेको छ।
कुनै बेला बाँदर कुद्ने भीरमा अहिले पर्यटक चट्टान आरोहणका लागि आउने गरेका छन्। यसबाट आम्दानी पनि हुन थालेको छ।
उक्त पहरामा २०६० सालदेखि चट्टान आरोहण सुरु भएको थियो। पहरामा १ सय ६० वटा फलामे नटबोल्ट गाडिएका छन्। त्यही नटबोल्टमा झुन्डिएर आरोहीले चट्टान आरोहण गर्छन्।
आन्तरिक एवं वाह्य पर्यटक गरी हालसम्म १ लाखभन्दा बढीले चट्टान आरोहण गरिसकेको बिमलनगर सिद्धगुफा विकास समिति अध्यक्ष लालकुमार श्रेष्ठले जानकारी दिए।
यस पहरामा आरोहणका लागि १ सय शुल्क कायम गरिएको छ। विदेशी तथा स्वदेशी पर्यटक चट्टान आरोहण गर्न यस स्थानमा पुग्ने गर्दछन्। पहरामा २८ वटा रुटको व्यवस्था गरिएको समितिले जनाएको छ। एकैपटकमा अठ्ठाइसजनाले चट्टान आरोहण गर्न सक्छन्।
‘यही पुस २० देखि नेपाली र जापानी एक-एक टोली चट्टान आरोहणका लागि आउने भएको छ,’ उनले भने, ‘नेपाली सेना, सशस्त्र र कमान्डो तालिम गर्नेबाहेक अन्यलाई शुल्क लिने गरिएको छ।’
पृथ्वीराजमार्ग बिस्तारका क्रममा चुनपहरा भत्काउन लागेपछि पहराको अस्तित्व संकटमा पर्ने देखिएपछि स्थानीयको पहलमा पहरा सुरक्षित गरिएको उनले बताए।
राजमार्ग चार लेनको बनाउँदा पनि चुनपहरालाई कुनै असर नपर्ने गरी व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताए। मर्स्याङ्दी नदी किनारबाट पर्खाल लगाएर सडकको मापदण्ड पूरा गर्न लागिएको उनको भनाइ छ।
‘चट्टान आरोहणका लागि प्रशिक्षणस्थल समेत रहेको यस पहरा भत्काएको खण्डमा अहिले भइरहेका साहसिक पर्यटकीय गतिविधि रोकिने हुनाले स्थानीयको पहलमा संरक्षण गरिएको हो,’ अध्यक्ष श्रेष्ठले भने।
यस चुनपहरा बचाउँ अभियान संयोजकसमेत रहेका श्रेष्ठले स्थानीयले कुनै पनि हालतमा चुनपहरा बचाउनुपर्ने चाहना राखेर अघि बढेका कारण जोगाउन सफल भएको बताए।
‘चुनपहरा हाम्रो गहना हो। यो पहरा काटियो भने यसले पर्यटनमा ठूलो असर पर्ने देखियो,’ उनले भने, ‘यस पहराले पर्यटनमा दिएको योगदान कम्तीको छैन। पहरा बचाउन भनेर केन्द्रसम्म धाएर लागेका थियौं।