काठमाडौं। यो साता सेयर कारोबार बजार सञ्चालन तीन दिन मात्रै भएकामा तीनै दिन बजार लगातार घटेर बन्द भएको छ। पहिलो कारोबार दिन २१.०३ अंक, दोस्रो दिन १७.२३ अंक र तेस्रो दिन १.९३ अंकले बजार घटेको हो।
यो साता तीन कारोबार दिनमा १६ अर्ब ६५ करोड १४ लाख रुपैयाँ बढीको ४ करोड ४५ लाख ८५ हजार बढी कित्ता धितोपत्र कारोबार भएको नेप्सेले जनाएको छ। यो साता धितोपत्र दोस्रो बजारको समग्र कारोबार मापक नेप्से परिसूचक १.९१ प्रतिशत घटेको छ।
गत साताको कारोबार दिन २ हजार १०९.१० बिन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन बिहीबार २ हजार ६८.९० बिन्दुमा झरेको हो।
नेप्सेका अनुसार यो साता गत साताभन्दा औसतमा कारोबार रकम ७० करोड ८४ लाखले र कारोबार कित्ता ३५ लाख ८९ हजारले घटेको छ।
यो साता गत साताभन्दा कारोबार रकम र कित्ता दुवै घटेको छ। गत साता औसतमा ६ अर्ब २५ करोड ८९ लाख रुपैयाँ बढीको १ करोड ८४ लाख ५१ हजार कित्ता धितोपत्र कारोबार भएकामा यो साता औसतमा ५ अर्ब ५५ करोड ४ लाख रुपैयाँ बढीको १ करोड ४८ लाख ६१ हजार कित्ता धितोपत्र खरिद–बिक्री भएको हो।
गत साता पाँच कारोबार दिनमा ३१ अर्ब २९ करोड ४६ लाख रुपैयाँ बढीको ९ करोड २२ लाख ५६ हजार बढी कित्ता धितोपत्र कारोबार भएको थियो। गत साताको तुलनामा यो साता १४ अर्ब ६४ करोड ३१ लाख रुपैयाँ कम धितोपत्र कारोबार भएको हो।
नेप्सेका अनुसार यो साता गत साताभन्दा औसतमा कारोबार रकम ७० करोड ८४ लाखले र कारोबार कित्ता ३५ लाख ८९ हजारले घटेको छ।
गत साताको तुलनामा यो साता १४ अर्ब ६४ करोड ३१ लाख रुपैयाँ कम धितोपत्र कारोबार भएको छ।
यो साताको सेयर बजारबाट लगानीकर्ताले ६२ अर्ब ४४ करोड बढी गुमाएका छन्। कुल बजार पुँजीकरण पनि गत साता ३२ खर्ब ७६ अर्ब ३३ करोड बढी रहेकामा यो साता ३२ खर्ब १३ अर्ब ८९ करोड रुपैयाँमा समेटिएको हो।
सरकारले वित्तीय प्रणालीमा पर्याप्त तरलता भएको बताइरहँदा पुँजी बजार सकारात्मक गतिमा अघि बढ्नुपर्नेमा अल्पकालीन लगानीकर्ताको सक्रियताका कारण बजारले गति लिन नसकेको ब्रोकरहरूको टिप्पणी छ।