काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार ललितपुरको बालकुमारीमा भएको मानवीय क्षतिका घटनाबारे गृह मन्त्रालयसहित सुरक्षामा खटिएका अधिकारीसँग ‘ब्रिफिङ’ लिएका छन्।
रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवामाथि प्रहरीले गोली चलाउँदा शुक्रबार दुई जनाले अकाल ज्यान गुमाएपछि सरकार आलोचित भइरहेको छ। गोली लागेर २३ वर्षीय सुजन राउत र घाइते अर्का युवा वीरेन्द्र साहको मृत्यु भएको हो।
प्रधानमन्त्री प्रचण्डले सरकारी निवास बालुवाटारमा शनिबार बिहान उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतसँग घटनाबारे जानकारी लिएका हुन्।
प्रधानमन्त्री प्रचण्डलाई उनीहरुले घटनाबारे जानकारी गराउँदै सत्यतथ्य पत्ता लगाउन छानबिन समितिसमेत गठन गरिएको बताए। प्रचण्डले घटना दुःखद् भएको उल्लेख गर्दै छिटो र निष्पक्ष छानबिन गर्न निर्देशन दिएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए।
ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला चढ्दै आएको बा२ झ ५८६१ नम्बरको गाडीमा आगो लगाएपछि प्रहरीले विरोधमा उत्रिएका युवामाथि लाठीचार्जका साथै गोली चलाएको हो।
प्रधानमन्त्री प्रचण्डले सरकारी निवास बालुवाटारमा शनिबार बिहान उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतसँग घटनाबारे जानकारी लिएका हुन्।
कोरिया रोजगारीमा जान रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा दिन नपाएको भन्दै आन्दोलित युवामाथि प्रहरीले अनावश्यक बल प्रयोगका साथै गोली चलाएको हो।