काठमाडौं। नेपाल विद्युत प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरेका तर त्यसबापतको प्रिमियमसहितको महसुल नतिरेका थप १४ वटा उद्योगहरुको विद्युत आपूर्ति बिच्छेद गरेको छ। प्राधिकरणले शुक्रबार ५ करोड रुपैयाँभन्दा बढी बक्यौता भएका ग्राहकहरुको बिजुली लाइन काटेको हो।
गत पुस ६ गतेबाट बक्यौता रहेका ग्राहकहरुको लाइन काट्न सुरु गरेको थियो। पहिलो चरणमा १ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका ४ वटा उद्योग र त्यसपछि ५ गरी ९ वटा उद्योगको लाइन काटिएको थियो। शुक्रबार काटिएका १४ उद्योगकोसँगै डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिएका २३ वटा ग्राहकहरुको लाइन काटिएको छ।
शुक्रबार बाबा जुट मिलको ५ करोड ६१ लाख, निगाले सिमेन्टको १४ करोड २१ लाख, त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिजको१५ करोड ६६ लाख रुपैयाँ,हिमाल आइरन एण्ड स्टीलको ८ करोड १३ लाख, जगदम्बा इन्टरप्राइजेजको ४७ करोड ९८ लाख रुपैयाँ रहेको छ।
यस्तै हामा आइरन एन्ड स्टिलको ११ करोड ५५ लाख,एभरेष्ट पेपर मिलको २१ करोड ३६ लाख, कसमस सिमेन्टको ३५ करोड ८२ लाख, शुभश्री अग्नी सिमेन्टको ३८ करोड १० लाख रुपैयाँ तिर्नुपर्ने दाबी प्राधिकरणको छ।
बिजुली आपूर्ति बन्द गरिएका अन्य उद्योगहरुमा जगदम्बा सिन्थेटिकको ४७ करोड ५३ लाख, घराना फुड्सको ५ करोड ९ लाख रुपैयाँ, सिद्धार्थ पेटप्लास्टको ५ करोड २४ लाख, बुटवल सिमेन्टको ३२ करोड ९८ लाख, नारायणी स्पातको ७८ करोड ४९ लाख रुपैयाँ नतिरेपछि लाइन काटिएको प्राधिकरणले जनाएको छ।
विद्युत उपभोग गरेका कुल ६१ उपभोक्ताको २०८० मंसिर मसान्तसम्म कुल बक्यौता २२ अर्ब २४ करोड रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ। यसमध्ये करिब साढे १२ अर्ब रुपैयाँ बराबरको बक्यौता लाइन विच्छेद गरिएका ९ वटा ठूला उद्योगको छ।