नेपाल जसरी भौगोलिक दृष्टिकोणले फरक छ। त्यसैगरी यहाँको प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा, संस्कृति, वेशाभूषा र भाषासमेत फरक–फरक छ। जसले गर्दा जहाँ गयो त्यहीँ नयाँ किसिमको अनुभव गर्न पाइन्छ।
र, ठाउँअनुसार फरक–फरक प्रकृति पनि भेटिन्छ। जसले धेरैको मन छोइरहेको हुन्छ। एउटा ठाउँमा घुमेपछि फेरि अर्को ठाउँमा जाने हुटहुटी चलिरहन्छ। यहाँको प्रकृति नै यस्तो लोभलाग्दो छ कि जति हिँडे पनि थकाइ नै लाग्दैन।
खासगरी एडभेन्चर टुरिज्मका लागि नेपाल निकै उपयुक्त गन्तव्य हो। हुन त सबैजना सबै ठाउँमा पुग्न सक्छन् भन्ने चाहिँ हुँदैन। तर, जो पुग्छन् उनीहरूले नयाँ अनुभव लिएकै हुन्छन्।
प्राकृतिक सुुन्दरता र सांस्कृतिक विविधता आफ्नो क्यामेरामा कैद गरी विश्वसामु प्रचार गर्ने सुरुवात भने सन् २०१८ बाट गरेको हुँ। हाम्रो सुरुवाती भिडियो नै लम्जुङमा ‘म्याड हनी हन्टर्स’ (भीर माहुरीको शिकार) भनेर बनाएका थियौं। त्यो भिडियो धेरैले रुचाएपछि हामीले व्यावसायिक रूपमै यात्रा सुरु गरेका हौं। हालसम्म नेपालका अधिकांश जिल्लाका गन्तव्य पुगिसकेका छौं। यात्रा क्रममा जुन जिल्ला पुग्यो, त्यहीँको प्रकृति राम्रो लाग्छ।
सहरको सुन्दरता मात खुवाउने सुन्दरता गाउँघरमा पाइन्छ। निश्चल बगेका ती नदी र झरनासँगै मुसुक्क मुस्कुराउने हिमाल देख्दा हाम्रोमात्र होइन, जो कोहीको पनि मन लोभ्याउँछ। यी सबै दृष्य हेर्न पदयात्रामै जानुपर्छ।
गन्तव्य पहिचान
यात्रामा निस्किँदा गन्तव्य छनौट गर्दा कतिपय ठाउँमा जाँदा चर्चाको शिखरमा रहेकालाई हेरिन्छ भने कति ठाउँ चर्चामा नभएकामा जाने गरेका छौं। चर्चामा रहेका गन्तव्यबारे अझै धेरै जानकारी गराउने र नयाँ ठाउँ खोज्ने उद्देश्यले हामी यात्रामा निस्किरहेका हुन्छौं।
दूरदराजका ठाउँ निकै सुन्दर हुन्छन्। पुग्नलाई केही कठिनाइ भए पनि पुगेपछि पाउने आनन्दको बयान गरी सक्नुको हुँदैन। उदाहरणका लागि धादिङको रुबी भ्यालीको सिम्ला भन्ने ठाउँलाई लिन सकिन्छ। त्यहाँ पुगेर बनाइएको भिडियो ७ लाखभन्दा बढीले हेरेका थिए। र, पछि धेरै पर्यटक त्यहाँ पुगेका थिए। हामीले खिच्ने भिडियो समय मिलाएर कुनै बेला धेरै चलेको र कुनै बेला गुमनाम रहेका गन्तव्य प्रचारमा लागेका हुन्छौं। अन्नपूर्ण बेसक्याम्पदेखि मोहोरे डाँडासम्मको भिडियो प्रचार गरेका छौं।
अहिलेसम्म घुमेका गन्तव्यमध्ये सबैभन्दा उत्कृष्ट बडिमालिका नै हो। हरियो चौरमा बसेर टाढासम्मको दृष्य प्रत्यक्ष हेर्दा कहिल्यै पनि मन नअघाउने ठाउँका रूपमा बडिमालिकालाई लिँदै आएको छु। सात कोससम्म हेर्दा पनि हरियो देखिन्छ।
योसँगै तराईको बर्दिया पनि निकै मन छोएको गन्तव्य हो। त्यहाँका स्थानीयको बोली वचनदेखि खानाका परिकारले धेरै मन लोभ्याएको छ। यस्तै से–फोक्सुन्डो ताल पनि मनमा बसेको गन्तव्य हो। निलो पानीको तालले जो कोहीको पनि मन लोभ्याउँछ। यस्तै मनाङको आइसलेक पनि उत्कृष्ट गन्तव्यभित्रै पर्छ। योसँगै इलामको सन्दकपुर पनि पुग्नैपर्ने गन्तव्यभित्र पर्छ। नेपाल, भुटान र तिब्बतका पाँच दर्जन हिमालको मनोरम दृश्य, असंख्य सिमसार, दर्जनौं प्रजातिका लेकाली फूल अनि दुर्लभ रेड पाण्डासँग साक्षात्कार त्यहाँबाट गर्न पाइन्छ।
पूर्वाधारमा जोड दिए पर्यटन सम्भावना अथक
गन्तव्यहरूमा पुग्ने पूर्वाधारमात्र बनाउन सके पर्यटन सम्भावना अथक छ। हामी त गाह्रो साह्रो परे पनि बाटोमा टि हाउस नभए पनि, भोकै हिँड्न परे पनि त्यो ठाउँको प्रचारप्रसार गर्ने भनेर हिँडेपछि गएकै हुन्छौं। तर, घुम्नका लागिमात्र आउने पर्यटकले पाउनुपर्ने आधारभूत सेवा सुविधा नै नपाउने स्थितिमा त कोही पनि जान रुचाउँदैनन्।
त्यसका लागि स्थानीय तहले पनि आवश्यक पूर्वाधार बनाउन सके नेपालले पर्यटकीय गन्तव्यरूमात्र बेचेरै धनी हुन सक्ने सम्भावना अधिक देखिन्छ।
हामी पुगेर भिडियो प्रशारण गरेपछि त्यहाँ पर्यटकको संख्या भने बढेकै हुन्छन्। तर, पर्यटकले पनि त हिँड्दा हिँड्दै पाउने सुविधा त त्यहाँको समुदायले दिन सक्नुप¥यो नि! र, हामीले खिच्ने भिडियोमा पनि सम्बन्धित गन्तव्य पुग्दा हुने दुःख, उपलब्ध सुविधा र आवश्यक पूर्वाधार आवश्यकता पर्छ भनेरसमेत उल्लेख गर्ने गरिएको हुन्छ।
जस्तो, रुबी भ्यालीको माथिल्लो भेग जाँदा महादेवखर्कसम्म ठाडो बाटो रहेको र १२ घन्टा हिँडेपछि बसाइका लागि गोठ भेटेर बसेको जानकारी गराएका थियौं। कतिपय गन्तव्यमा खानेपानीसमेत पाउन सकिँदैन। र, नेटवर्कको समस्या हुँदा सम्बन्धित गन्तव्य जाँदा त्यहाँका स्थानीयसँग सोधखोज गर्नसमेत पाइँदैन। अहिलेसम्मको सबैभन्दा लामो फोक्सुन्डोको यात्रा ११ दिनको थियो। र, अन्य क्षेत्रमा त ३ देखि ५ दिनसम्मको यात्रामा निस्किने गरेका छौं।
ट्राभलर हुनुअघि म विज्ञापन एजेन्सीमा काम गर्ने भएकाले बजारको माग र विज्ञापनको ट्रेन्ड राम्रोसँग ज्ञान थियो। त्यहीअनुसार ट्राभल भिडियोहरू बनाएर पनि व्यावसायिक यात्रामा लाग्न सकिन्छ भन्ने सोचसाथ अगाडि बढेको हुँ।
(नेपाल एट्थ वन्डर)