काठमाडौं। नेपाली क्रिकेटर सन्दीप लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर भएका छन्।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालको इजालासले क्रिकेटर लामिछानेलाई दोषी ठहर गरेको हो। उनलाई कति वर्ष जेल सजाय गर्ने भन्ने निर्णय पुस २५ मा पेसी तोकेको छ।
न्यायाधीश ढकालको इजलासले क्रिकेटर लामिछानेलाई पीडित ‘गौशाला २६’ को कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको ठहर गरेको हो।
‘गौशाला २६ (छ) (१) २०७९/८० को नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाइ करणी भएको देखिँदा सहमतिको करणी भन्ने नदेखिएकाले प्रतिवादी सन्दीप लामिछानेले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (१), (२) र (३) (ङ) बमोजिमको कसुर गरेको ठहर्छ,’ फैसलामा छ।
नेपालको कानुनमा धाक, धम्की वा प्रलोभन देखाएर आफूभन्दा कमजोर अवस्था भएको महिलासँग यौनसम्पर्क राखे त्यसलाई बलात्कार ठहर हुने उल्लेख छ।
पीडित नाबालिग भएको भनेर वादीपक्षले गरेको दाबी भने अदालतले विभिन्न कागजातका आधारमा अस्वीकार गरेको छ।
२०७९ भदौ ५ मा गौशालास्थित एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको भन्दै क्रिकेटर लामिछानेविरुद्ध सरकारी वकिलले मुद्दा दायर गरेको थियो।
गत आइतबारदेखि यो मुद्दामा निरन्तर बहस भइरहेको थियो।