पोखरा। आर्थिक समृद्धिका लागि महिलालाई उद्यमशिल बनाउन नीतिगत तहबाट विशेष कार्ययोजना हुनुपर्नेमा पर्यटन व्यवसायी महिलाले जोड दिएका छन्।
पोखरामा इयु नेपाल टे«ड एण्ड इन्भेष्टमेन्ट कार्यक्रमको आयोजना र महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को समन्वयमा शुक्रबार आयोजना गरिएको गण्डकी प्रदेशको सेवा क्षेत्रमा महिला उद्यमीका लागि लगानी पूर्वाधार तयारी विषयक कार्यक्रममा सहभागि पर्यटन व्यवसायीले महिलाल सो कुरामा जोड दिएका हुन्।
कार्यक्रममा सहभागी पर्यटन व्यवसायी शर्मिला न्यौपानेले राज्यले कनिका छरे जस्ता टुक्रे कार्यक्रममा महिलालाई भुलाइराखेको र नतीजामुखी कार्यमा ध्यान नदिएको बताइन्।“राज्यले सामाजिक न्याय र समानताका लागि उद्यमशीलतामा महिलालाई प्रेरित गर्न लैगिंकतामा आधारित लगानीमैत्री वातावरण तयार गर्नुपर्छ। तर, सरकार भएको अनुभुति छैन” न्यौपानेले भनिन्।
उनले महिला सशक्तिकरणका लागि आएको बजेट कहाँ र कसरी खर्च हुन्छ भन्नेसमेत थाहा नहुने बताइन्।
पर्यटन व्यवसायी समेत रहेकी गण्डकी प्रदेश सभा सदस्य देवका पहारीले महिलामैत्री वातावरणको अभावले महिलाले आयआर्जनमा जोडिन अवसरबाट बञ्चित हुनुपरेको बताइन्। उनले महिला उद्यमशीलताको लागि लगानीको वातावरण, व्यवसायमा प्रेरित गर्ने नीति, उत्पादनको बजारीकरणको सुनिश्चितता , महिलाको रुचि, दक्षता क्षमता अनुसारको तालिमको खाँचो औल्याउँदै आफुले निरन्तर आवाज उठाइरहेको बताइन्।
कार्यक्रममा प्रा.डा. चन्द्रा भद्राले महिला उद्यमशिलता सम्बन्धि हालसम्म भएका पहल र नीतिगत तहबाट ऐतिहासिक विश्लेषण गर्दै महिलाको क्षमता तथा दक्षताको मुल्याँकंन अझै पनि राज्यस्तरबाट हुन नसकेको बताइन्। उहाँले ७५ जिल्लामा नै स्थापना भएको महिला तथा बालबालिका विकास कार्यालय खारेज हुँदा महिलाका मुद्दाकेन्द्रित कार्यक्रम हुन नसकेको उनको भनाइ थियो। उनले लैगिकमैत्री अवधारणा प्रति राज्य अझै संवेदनशील हुन सक्दा विभिन्न कारणले महिला विभेद भोग्न बाध्य भएको बताइन्।
पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा पर्यटन बहुआयामिक क्षेत्र भएकाले महिलालाई उद्यमशीलतमा प्रेरित गर्न थुप्रै संभावना भएको बताइन्। पछिल्लो समय पोखराको पर्यटन प्रवद्र्धन र गुणस्तरीय सेवा प्रवाहमा महिला पर्यटन व्यवसायीको योगदान अतुलनीय रहेको जनाउँदै अझै सशक्तिकरणको खाँचो औल्याए।
ओटेफका सल्लाहकार पम्फा पहारीले संस्थाको स्थापनासँगै सामुहिक आवाजले गति लिन थालेको बताइन्। उनले विभिन्न तालिमले महिला आफ्नो पहिचान स्थापित हुने र व्यवसाय अग्रसरता देखाउने, आफ्नै नाममा व्यवसाय दर्ता गरेर व्यवसायिक पाइला अगाडि बढाउन सफल भएको बताइन्।
संस्थाका अध्यक्ष उमा भण्डारी रेग्मीले विभिन्न व्यवसायमा आवद्ध महिलालाई सशक्तिकरणका लागि विभिन्न कार्यक्रम गरिदै आएको बताइन्। उनले २०७४ पोखरामा पहिलो पटक महिला पर्यटन व्यवसायी संगठित भएर संस्था स्थापना पश्चात महिलामा उद्यमशीलता प्रतिको जागरण पनि बढ्दै गएको बताइन्। उनले महिला उद्यमीको क्षमता अभिवृृद्धि र दिगो वित्तीय व्यवस्थापनमा राज्यले ध्यान दिनुपर्ने बताए।
युरोपियन युनियनकी प्रतिनिधि दीपाञ्जली श्रेष्ठले गण्डकी प्रदेशको तथ्याङ्कमा करिब ४५ प्रतिशत महिलामात्र आत्मनिर्भर भएको जानकारी गराए। कार्यक्रममा संस्थाका महासचिव लक्ष्मी लामिछानेले कार्यक्रमको उद्देश्य पारेकिथिइन्।