काठमाडौं। अंग्रेजी नयाँ वर्ष २०२४ को पूर्वसन्ध्यामा पर्यटकीय स्थलका होटल तथा रिसोर्ट बुकिङ उत्साहजनक देखिएको छ। पछिल्लो समय ‘न्यू एयर इभ’ मनाउन होटल तथा रिसोर्टमा पुग्नेहरुको संख्या बढेसँगै अग्रिम बुकिङ हुने क्रम बढेको देखिन्छ।
अंग्रेजी नयाँ वर्षमा घुम्न निस्कने नेपालीहरुको संख्या अधिक हुन थालेको छ। सोही कारण पोखरा, सौराहा, धुलिखेल, नगरकोट, इन्द्रस्थान, दोलखाको कालिञ्चोक, जिरी, चरीकोटलगायत क्षेत्रका होटल तथा रिसोर्टमा बुकिङ उत्साहजनक भएको व्यवसायीको भनाइ छ।
पोखरा पर्यटन परिषद् अध्यक्ष गोपी भट्टराईले न्यू इयर आन्तरिक पर्यटकले चलायमान भइरहेको बताए। खासगरी आन्तरिक पर्यटक नै न्यू इयरमा घुमघाममा बढी निस्कने गरेका छन्।
पोखरा क्षेत्रमा रहेका होटल तथा रिसोर्टमा अग्रिम बुकिङ आउने क्रम जारी रहेको उनको भनाइ छ।
पोखरामा स्वदेशी एवं विदेशी पर्यटक लोभ्याउन बिहीबारदेखि सडक महोत्सव आयोजना भइरहेको छ। हरेक वर्षको न्यू इयरमा रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान)ले सडक महोत्सव आयोजना गर्दै आएको छ।
सडक महोत्सवका कारण होटलमा पनि चहलपहल बढेको वरपीपल रिसोर्ट पोखराका सञ्चालक जितु गुरुङले बताए।
क्षेत्रीय होटल संघ चितवनका पूर्वअध्यक्ष एवं जंगल सफारी सौराहाका सञ्चालक सुमन घिमिरेले न्यू इयरलाई लक्षित गरी बुकिङ आउने क्रम जारी रहेको जानकारी दिए। न्यू इयरअघि तीन दिनसम्म बिदा भएकाले पनि यो वर्ष पहिलाको तुलनामा अझै धेरै पर्यटक आउने विश्वास उनको छ।
अहिले सोधखोजी आउने क्रम तीव्र रहेको उनले बताए। विदेशी तथा स्वदेशी पर्यटकलाई न्यू इयरअघिबाटै मनोरञ्जन दिन सौराहामा हात्ती महोत्सव भइरहेको छ।
क्षेत्रीय होटल संघ धुलिखेलका अध्यक्ष प्रेमकण्ठ माकजु होटल बुकिङ ४० प्रतिशत भइसकेको बताउँछन्। अहिलेको बुकिङ हेर्दा न्यू इयरसम्म भरिभराउ हुने लक्षण देखिएको उनको भनाइ छ।
काठमाडौंबाट नजिकैको गन्तव्य भएकाले पनि अन्तिम दिनसम्म पर्यट धेरै आउने उनको अनुमान छ।
काठमाडौंबाट नजिकैको गन्तव्य रहेको नगरकोट क्षेत्रका होटलमा पनि अग्रिम बुकिङ धमाधम बढ्न थालेको छ। खासगरी शुक्रबार र शनिबारका लागि बुकिङ उत्साहजनक रहेको नगरकोट कन्ट्री भिल्लाका सञ्चालक योगेन्द्र शाक्यले बताए। हुन त, न्यू इयरबाहेकका बिदाका दिनमा पनि होटल तथा रिसोर्ट भरिभराउ हुने गरेको उनले बताए।
धुलिखेल र नगरकोटको विकल्पका रुपमा अगाडि बढेको इन्द्रस्थान क्षेत्रमा सञ्चालित होटल बुकिङ लगभग प्याक भइसकेको इन्द्रस्थान हिमालय रिसोर्ट सञ्चालक हरिश्याम मगर बताउँछन्।
दोलखाको धार्मिक स्थल कालिञ्चोकमा रहेका होटल तथा रिसोर्ट पनि पूरै भरिएका छन्। त्यहाँका अधिकाशं होटल तथा रिसोर्टमा पर्यटकले अग्रिम बुकिङ गरिसकेको कालिञ्चोक कन्ट्री भिल्लाका सञ्चालक नोर्बु लामाले जानकारी दिए।
कालिञ्चोक क्षेत्रमा आउन चाहनेलाई अग्रिम बुकिङ गरेर मात्र आउन उनको आग्रह छ। त्यसो नगरिए बस्ने ठाउँ अभावका कारण दुःख पाइने उनले बताए।
दोलखा सदरमुकाम चरीकोटमा पर्यटकलाई लोभ्याउन पुस १३ देखि १० दिनसम्म महोत्सव आयोजना गरिँदै छ। कालिञ्चोकसँगै चरिकोट,जिरी र शैलुङमा घुम्न जाने पर्यटकले समेत होटल बुकिङ गरिसकेको व्यवसायी बताउँछन्।