काठमाडौं। चितवनको भरतपुरमा ४ अर्ब रुपैयाँ लगानीमा सुविधासम्पन्न न्यूटन हस्पिटल सञ्चालनमा आउने भएको छ। अहिले अस्पताल पूर्वाधार निर्माण भइरहेको छ।
८ तलाको बन्ने अस्पतालमा ३ सय ५० बेड हुनेछन्। यसमध्ये १ सय बेड क्यान्सर उपचारका छुट्टाइएको अस्पतालले जनाएको छ। न्यूटन अस्पताल पूर्वाधार ६ हेक्टरमा फैलिएको छ। सन् २०२४ को मध्य (असार) भित्र सम्पन्न गर्ने लक्ष्य लिएको न्यूटनले जनाएको छ।
अस्पतालमा ऋणभन्दा स्वपुँजी लगानी रहेको छ। कूल लगानीको १ अर्ब ८९ करोड रुपैयाँ बैंकको ऋण र बाँकी २ अर्ब ११ करोड रुपैयाँ संस्थापकको स्वपुँजी लगानी हुनेछ।
४७ प्रतिशत बैंकको ऋण र ५३ प्रतिशत स्वपुँजी हुने गरी लगानी संरचना तयार पारिएको छ। अस्पतालको वित्तीय प्रगति ३७ र निर्माण ५० प्रतिशत सकिएको अस्पतालले जनाएको छ। अस्पतालमा संस्थापकले स्वपुँजीको ४२ प्रतिशत लगानी गरिसकेका छन्।
न्यूटनमा नारायणी सामुदायिक अस्पताल लिमिटेडको २२ प्रतिशत स्वामित्व रहेको छ। दुई दशकदेखि सञ्चालनमा आएको नारायणीमा १ सय ५० बेड छन्। न्यूटनका अध्यक्ष डा. भक्तमानको नेतृत्वमा सात जना सञ्चालक छन्।
व्यवस्थापनले निर्माणाधीन न्यूटन र नारायणी अस्पतालाई गाभेर एनपिआई ब्रान्डमा सञ्चालन गर्ने तयारी गरेको छ। गत वर्ष नारायणीले ४५ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ।
नारायणी ऋणमुक्त भएको छ। गत वर्ष नारायणीको अकुपेन्सी रेट ७२ प्रतिशत थियो। संस्थापकले नवलपरासी र गोरखामा पनि अस्पताल निर्माणको तयारी गरेका छन्।
निर्माणाधीन अस्पताल पूर्व पश्चिम राजमार्गको करिब ८ सय मिटर नजिक छ। प्रस्तावित अस्पतालले सीमावर्ती भारतीय राज्यसँग जोडिएको रणनीतिक स्थान हो।