काठमाडौं। डिजिटल वालेट आइएमई पे कन्दरा सांगीतिक ब्यान्डद्वारा सरकारको आन्तरिक पर्यटकीय अभियान पहिला घरदेश, अनि परदेश– आन्तरिक पर्यटनको प्रवद्र्धन सन्देश लिई नेपालमा ८ स्थानमा सम्पन्न गर्न लागेको कन्सर्टको टिकेटिङ पार्टनरका रुपमा रहने सम्झौता भएको छ।
कन्दराले हङकङ पोखरा, तगारोमा रुमाल, लेककी हे माया, तिमी परी, डाँडापारिलगायत कालजयी गीत प्रस्तुत गरी नेपाली फोक–पप संगीतमा आफ्नो अमिट छाप छाडेको कन्दरा ब्यान्डले २०८० पुस २७ मा पोखरा प्रदर्शनी केन्द्रबाट आफ्नो प्रत्यक्ष सांगीतिक कार्यक्रम सुरु गर्दै छ। पहिलो कार्यक्रम पोखराबाट सुरु गरी अन्तिम कार्यक्रम काठमाडौंमा समापन गर्ने लक्ष्य कन्दरा ब्यान्डको व्यवस्थापन कम्पनी–एल्फा स्क्वायरले जनाएको छ।
पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा हुन लागेको कार्यक्रममा गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उद्योग, पर्यटन, बन, तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पोखरा महानगर, पोखरा प्रज्ञा–प्रतिष्ठान, लाइन्स क्लब अफ पोखरा– सामीप्यलगायत संघ–संस्थाले प्रवद्र्धन गरिरहेका छन्।
कन्सर्टको एक्सक्लुसिव टिकेटिङ पार्टनर रुपमा आइएमई पे आबद्ध भएको छ, जसले आफ्नो आधिकारिक मोबाइल एपबाट टिकट बिक्री गर्नेछ।
‘कन्दरा ब्यान्डले नेपाली फोक–पप संगीतको क्षेत्रमा पु¥याएको योगदान र नेपाली कला संगीतबाट नेपालको आन्तरिक पर्यटनका लागि गरिरहेको यो अभियान– पहिला घरदेश, अनि परदेशको नारालाई आइएमई समूहले वहन गरेर टिकट बिक्री–वितरण जिम्मा लिएको हो’,आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने।