काठमाडौं। नबिल बैंकको ३९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंक सञ्चालक समिति अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न साधारणसभाले राष्ट्र बैंकको स्वीकृतिअनुसार आव २०७९/८० को मुनाफाबाट सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गरेको छ।
बैंकले आव २०७९/८० मा ६ अर्ब ४० करोड मुनाफा गर्न सफल भएको साधारणसभामा जानकारी दिइयो।
नबिलले वित्तीय क्षेत्रमा करिब चार दशक समय अघिदेखि गुणस्तर बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। पछिल्लो समय यस बैंकले दिगो बैंकिङको अवधारणालाई आत्मसात् गर्दै डिजिटल बैंकिङका लागि एनबैंक एप सञ्चालनमा ल्याएको छ।
कार्यक्रममा अध्यक्ष पौड्यालले देशको अर्थतन्त्रको परिदृश्यलाई लक्षित गरी बैंकले आफ्ना गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए। बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशीलता कार्यक्रम सञ्चालन गरिरहेको छ।
समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालिन समाधान गर्ने, नवीन सोचमा आधारित उद्यमलाई प्रवद्र्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिने लक्ष्यसहित यो कार्यक्रम सुरु गरिएको हो।
हालसम्म तीन सय ३५ विद्यार्थी सहभागी कार्यक्रमले ५२ वटा उद्यम जन्माएको र ८७२ जनाले रोजगारी पाएको अध्यक्ष पौड्यालको भनाइ छ। अध्यक्ष पौड्यालले विगत वर्षमा बाँडफाँट गरेको नगद लाभांशका साथै बजार पुँजीकरणलाई दृष्टिगत गर्दा बैंकमा सेयरधनीले लगानी गरेका स्थापना कालको चुक्ता पुँजी हालसम्म ९६० गुणाले वृद्धि भएको बताए।
संयुक्त राष्ट्रसंघको दिगो विकासका लक्ष्यलाई केन्द्रबिन्दुमा राख्दै बैंकले गरिबी निवारण, शिक्षा, स्वास्थ्य आदिलाई आधार मानी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमसमेत अगाडि बढाइरहेको उनको भनाइ छ। बैंकले हाल २६६ शाखा, २२ एक्सटेन्सन काउन्टर र ३१३ एटिएमबाट ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ।