काठमाडौं । निजी लगानीमा राजधानीको तिनकुनेमा सुविधासम्पन्न (मल्टिस्पेस्यालिटी हस्पिटल) अस्पताल निर्माण भइरहेको छ। अस्पताल आगामी दुई वर्षभित्र सञ्चालनमा ल्याउने तयारी छ।
मेडिकल क्षेत्रका अनुभवी व्यावसायिक व्यक्तिको लगानीमा ३०० बेड क्षमताको काठमाडौं इन्टरनेसनल हस्पिटल प्रालि सञ्चालनमा आउने भएको हो। हस्पिटलमा चितवन मेडिकल कलेजका संस्थापकको लगानी रहेको छ।
निर्माणको चरणमा अस्पताल बनाउन ७ अर्ब ४६ करोड ३० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। अस्पताल सन् २०२५ असारभित्र सञ्चालनमा ल्याउने तयारी छ।
यसअघि ५ अर्ब ५५ करोड ७० लाख रुपैयाँ लागत अनुमान गरिएकामा २ अर्ब रुपैयाँ बढेर साढे ७ अर्ब रुपैयाँ पुगेको छ। अस्पतालमा २५ प्रतिशत स्वपुँजी र बाँकी ७५ प्रतिशत बैंकको ऋण लगानी हुनेछ। जसअनुसार ५ अर्ब ५६ करोड २० लाख रुपैयाँ बैंकको ऋण र बाँकी १ अर्ब ९० करोड १० लाख रुपैयाँ संस्थापकहरुको स्वपुँजी (इक्विटी) लगानी हुने काठमाडौं इन्टरनेसनलले जनाएको छ।
परियोजनाको दायरा परिवर्तनको कारण अस्पतालको लागत ३४ प्रतिशत बढेको अस्पतालले बताएको छ। संयुक्त अन्तर्राष्ट्रिय आयोग (जेसीआई) को मान्यता मापदण्ड पालना गर्दा अस्पताल निर्माण लागत उच्च बन्न पुगेको हो।
थप जग्गा अधिग्रहण र जेसिआईको मापदण्ड पूरा गर्न संरचनात्मक परिवर्तनले लागत बढाएको बताइएको छ। अस्पतालमा संस्थापकले ४२ प्रतिशत स्वपुँजी लगानी गरिसकेका छन्। गत असारसम्म ४७ प्रतिशत वित्तीय प्रगति भएको अस्पतालले जनाएको छ।
जग्गा खरिद सम्पन्न भई दुई तल्ला पूर्वाधार तयार भइसकेको छ। निर्माणाधीन अस्पताल हेलिप्याड सुविधासहित १२ तलाको हुनेछ। अस्पताल पूर्वाधार २७ हजार ७ सय २६ वर्गमिटरमा फैलिएको छ। अस्पतालले ५ अर्ब ६५ करोड ऋणको रेटिङ गराएको छ।
प्रस्तावित अस्पतामा पहिलो वर्ष १०० र दोस्रो वर्ष २०० बेड थपेर तेस्रो वर्षदेखि ३०० बेड सञ्चालनमा ल्याइनेछ। यस्तै, प्रतिबेड लागत पनि बढेर २ करोड ५० लाख रुपैयाँ पुगेको अस्पतालले जनाएको छ ।
अस्पतालमा मेडिकल क्षेत्रका अनुभवी डा. हरिश्चन्द्र न्यौपानेको बहुमत स्वामित्व रहेको छ। न्यौपाने चितवन मेडिकल कलेजका अध्यक्ष पनि हुन्। अधिकांश लगानीकर्ता चितवन मेडिकल कलेजका संस्थापक रहेका छन्। उनीहरुसँग १५ वर्ष अस्पताल सञ्चालन अनुभव रहेको छ।
यही समूहले चितवन मेडिकल कलेजमा ७०० बेडको अस्पताल सञ्चालन गरेको छ। मेडिकल कलेज सन् २००७ देखि भरतपुरमा सञ्चालनमा आएको हो। चितवन मेडिकल कलेजमा डा.न्यौपाने र उनको परिवारको बहुमत सेयर स्वामित्व छ।
केही वर्षदेखि काठमाडौं उपत्यकाको स्वास्थ्य सेवा उद्योगले ठूला र उच्च प्रतिस्पर्धात्मक क्षमता विकास गरेका छन्। राजधानीको केन्द्रमा रहेकाले अस्पतालले ठूलो व्यावसायिक लाभ पाउने सम्भावना देखिएको छ।
निजी क्षेत्रबाट नर्भिक, ग्रान्डी, स्टार, बयोधा र नेपाल मेडिसिटीजस्ता बहुविशेषता भएका अस्पताल सञ्चालनमा आएका छन्। नयाँ अस्पतालले यी पुरानासँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।
यही समूहले चितवन मेडिकल कलेजमा ७०० बेडको अस्पताल सञ्चालन गरेको छ। मेडिकल कलेज सन् २००७ देखि भरतपुरमा सञ्चालनमा आएको हो। चितवन मेडिकल कलेजमा डा.न्यौपाने र उनको परिवारको बहुमत सेयर स्वामित्व छ।