काठमाडौं। सीमित व्यक्तिले सरकारी सिस्टम कब्जा गरेर सेयर बजार ‘म्यानुपुलेसन’ गरेको नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्ययनबाट देखिएपछि अर्थमन्त्री डा. प्रकाशशरण महत नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का पदाधिकारीसँग असन्तुष्ट बनेका छन्।
बोर्डको पाँच सदस्य टोलीले गरेको अध्ययनबाट सीमित व्यक्तिले नेप्सेको सिष्टम कब्जा गरेर आफू अनुकूल चलाएको देखिएपछि अर्थमन्त्री डा. महत नेप्सेका पदाधिकारीसँग असन्तुष्ट बनेका हुन्।
उनले बुधबार नेप्सेका अध्यक्ष शोभाकान्त पौडेल, प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर कार्की र धितोपत्र बोर्डले गठन गरेको अध्ययन समितिका संयोजक तथा सदस्यलाई बोलाएर उक्त विषयमा छलफल गरेका थिए।
डा. महतले लाखौ लगानीकर्ताको भरोसा नेप्सेमाथि छ। नेप्सेलाई सीमित व्यक्तिले चलाएर सोझा साझा लगानीकर्तालाई फसाइरहेको अध्ययनबाट देखिएको सत्य बुझ्न र आवश्यक सुधार गर्न के गर्न सकिन्छ भनेर सरोकारवालालाई मन्त्रालयमै बोलाएका थिए।
बोर्डको पाँच सदस्य टोलीले गरेको अध्ययनबाट सीमित व्यक्तिले नेप्सेको सिस्टम कब्जा गरेर आफू अनुकूल चलाएको देखिएपछि अर्थमन्त्री डा। महत नेप्सेका पदाधिकारीसँग असन्तुष्ट बनेका छन्।
पुँजी बजार तथा नेप्सेको समेत नियामक निकायले लामो समय लगाएर गरेको अध्ययनमा सिष्टम कब्जा गरेर लामो समयदेखि सीमित व्यक्तिले लाभ लिइरहेको नेप्सेका कर्मचारी त्यसको हिस्सेदार बनेको प्रतिवेदन सार्वजनिक गरेको थियो।
आफूले चाहेको तथा आफ्नो लगानी भएका कम्पनीको मूल्य निरन्तर बढाइरहने, लकिङ पिरियड खुल्ने समय नजिकिँदै गएपछि भएभरको सेयर फ्याक्ने गरेको समेत अध्ययनबाट देखिएको हो।
नेपालको पुँजी बजार विस्तार हुँदै गइरहेका बेला सीमित व्यक्तिको हातमा सिष्टम जानु र आफूखुसी बजारलाई चलाउनु न्यायोचित नभएको अर्थमन्त्री महतले बताएका थिए।
साना लगानीकर्तालाई पुँजीबजारमा सहभागिता बढाउनुपर्ने बेलामा नेप्सेकै कर्मचारीबाट सीमित व्यक्तिका हातमा सिष्टम बुझाउने कार्य ठीक नभएको र तत्काल वास्तविक तथ्य सार्वजनिक गर्न समेत अर्थमन्त्री महतले कार्कीलाई निर्देशन दिए। अर्थमन्त्री महतले सफ्टवेयरमा कमजोरी छ र कमजोरीलाई निराकरण गर्न नेप्से सिइओलाई भनेका हुन्।
बोर्ड सञ्चालक समितिले आइटी विज्ञ सरोज लामिछानेको संयोजकत्वमा समिति बनाएर नेप्सेमाथि अनुसन्धान गरेको थियो। समिति सदस्यमा धितोपत्र बोर्डका निर्देशकहरु रेवत श्रेष्ठ र सनु खड्का तथा सहायक निर्देशक यमनाथ अर्याल र रविन्द्रदेव भट्ट थिए। अनुसन्धानका क्रममा नेप्सेले लापरबाही गरेको समेत फेला पारेको हो।
अध्ययन समितिले नेप्सेको स्थलगत निरीक्षणका क्रममा धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को विनियम २१ (ख)को उपविनियम (४) विपरीत कारोबार गेरेको देखिएको हो।
कारोबार व्यवस्थापन प्रणाली र धितोपत्र बजारको विद्युतीय कारोबार प्रणाली (नट्स) सञ्चालन तथा मर्मत सम्भारसम्बन्धी कार्य एउटै सेवा प्रदायक कम्पनीमार्फत भइरहेको फेला परेको छ।
नियमको परिपालना नभएको र स्वार्थ उत्पन्न भई कारोबारको विश्वसनीयतामा शंका उत्पन्न भएको अध्ययन समितिको निष्कर्ष छ।
कारोबार मिलान प्रणालीजस्तो संवेदनशील प्रणालीमा अझै पनि कारोबार स्क्रिप वाइज म्याचिङ इन्जिन स्ट्यान्डमा लोड ब्यालेन्स गर्न म्यानुअल कार्य गर्ने गरिएको, जसले गर्दा केका आधारमा र कुन स्क्रिप्टलाई कति रिसोर्स दिने भन्ने स्पष्ट दिग्दर्शन नभएको र व्यक्तिगत तजबिजका आधारमा रिसोर्स मिलान गर्दा पूर्वाग्रही हुन सक्ने देखिएको छ।
नट्स प्रणाली सञ्चालनका लागि अत्यावश्यक पूर्वाधार (पावर ब्याकअप, डाटा सेन्टर, वातानुकूलित प्रणाली आदि) तथा डाटा रिकभरी साइटको पर्याप्त व्यवस्था नहुँदा समय–समयमा कारोबार प्रणाली अवरुद्ध भई लगानीकर्ता कारोबारबाट वञ्चित हुनुपरेको अध्ययनबाट देखिएको छ।
नेप्सेको सूचना प्रविधि प्रणाली सञ्चालन गर्न पर्याप्त कागजात, म्यानुअल र मानक सञ्चालन प्रक्रिया (एसओपी) उपलब्ध नभएको देखिएको साथै प्राविधिक सञ्चालनमा तेस्रो पक्षमा अत्यधिक निर्भरता रहेको पाइएको जसले गर्दा व्यावसायिक जोखिम बढेको देखिएको हो।
नट्सको बिक्री तथा मर्मत सम्भार गर्ने कम्पनी वाइकोले नेप्सेले सञ्चालनमा ल्याएको डाटा सेन्टरका फेयरवेल, डाटाबेस एक्टिभजस्ता महत्वपूर्ण प्रणालीहरुमा सहज पहुँच पुर्याएको देखिएको र त्यससम्बन्धमा नेप्सेले कुनै पनि प्रकारको लग व्यवस्थापन गरेको नपाइएको जसले गर्दा वाइकोका कर्मचारीहरुद्वारा नेप्सेको प्रणालीमा गरिएको परिवर्तन थाहा हुने अवस्था नरहेको फेला परेको हो।