काठमाडाैं । अधिकांश बैंक बित्तिय सस्था तथा अन्य कम्पनीहरुले लाभांश घोषणा गरिरहदा बीमा कम्पनीका लगानीकर्ताहरु भने कहिले लाभांस घोषणा होला भन्ने पर्खाइमै छन् । नेपाल वित्तीय प्रतिवेदन (एनएफआरएस) प्रणाली अनुसार वित्तीय विवरण तयार गर्न समय लाग्ने भएकोले बीमा कम्पनीहरुले साधारणसभा नै राख्न नसकेको बीमा समितिको ठहर छ ।
समितिले संचालनमा रहेका सबै बीमा कम्पनीहरुलाई समयमै नयाँ प्रणाली एनएफआरएस अनुसार बित्तिय बिबरण बनाउन निर्देशन दिएको छ । सो अनुसार कम्पनीहरुले बित्तिय बिबरण नै बनाउन ढिलाई गर्दा साधारणसभा र लाभांस घोषणा पनि अन्योलमा परेको छ ।
समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ‘नयाँ प्रणालीका कारण केही कठिनाई भएको होला, अब केही समयमै सबै बीमा कम्पनीहरुले लाभांश घोषणा गर्छन् ।’ नयाँ अभ्यास भएकाले सिक्न केहि समय लाग्ने कारण केही ढिला भएको समितिको भनाई छ ।
बीमा कम्पनीहरुको बीमांकिय मूल्यांकन ‘एक्च्युरियल भ्यालुएसन’ गर्न कम्तीमा तीन महिना लाग्ने भएकोले पनि साधारणसभा गर्न ढिलाई भइरहेको छ । यसले पनि कम्पनीहरुले लाभांस घोषणा गर्न सकेका छैनन् । प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण पौडेलले बीमांकिय मूल्यांकन गर्न लामो समय लाग्ने भएकोले कम्पनीहरुको साधारणसभा नै गर्न सकिएको छैन । यसले लाभांस घोषणामा पनि असर परेको छ ।
केहि कम्पनीहरुले भर्खरै मात्र आर्थिक बर्ष २०७४÷७५ को साधारण सभा गर्दैछन् । बीमा कम्पनीहरुले यसअघि परम्परागत विधिबाट वित्तीय विवरण बनाउदै आएका थिए । समितिले आर्थिक वर्ष २०७४÷७५ देखि सबै बीमा कम्पनीहरुलाई अनिवार्य एनएफआरएस प्रणालीअनुसार वित्तीय विवरण तयार पार्न निर्देशन दिएको हो । हाल १९ ओटा जीवन बीमा र २० वटा नीर्जिवन बीमा कम्पनीहरु संचालनमा रहेका छन् ।
जसमध्ये नयाँ निर्जीबन बीमा कम्पनी अजोड इन्स्योरेन्स कम्पनीले मात्रै साधारणसभा आह्वहान गरेको छ । यस कम्पनीले आर्थिक वर्ष २०७५÷७६ को एनएफआरस प्रणालीको वित्तीय विवरण स्वीकृत गरेर पुस ११ गते दोस्रो वार्षिक साधारणसभा गर्ने तयारी गरेको छ । त्यसपछि कम्पनीले लाभांश घोषणा गर्नेछ ।
त्यस्तै, सानिमा जनरल इस्योरेन्स कम्पनीको पनि प्रविदेदन तयार भैसकेको र साधारणसभा आह्वहान गर्न तयारी गरिरहेको समितिले जनाएको छ ।
सरकारी स्वामित्वका कम्पनीहरुको त लामो समयदेखि लेखापरिक्षण नै हुन सकेको छैन । जसका कारण साधारणसभा गरी लाभांश घोषणा गर्न ढिलाई भइरहेको छ । सरकारी स्वामित्वका राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीकोे लामो समयदेखि लेखापरिक्षण हुन सकिरहेको छैन ।