काठमाडौं। नेपाल–चीन मित्रताको सम्बन्धमा नेपाल–ल्हासा सीधा हवाई उडान दोस्रो सेतुको रुपमा स्थापित भएको पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताएका छन्। बिहीबार हिमालयन एयरलाइन्सको काठमाडौं– ल्हासा उडानको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
मन्त्री किरातीले भने, ‘सन् १९६५ मा निर्माण भएको अरनिको राजमार्गले उत्तरतर्फको ढोका खुल्यो र व्यापारको आकार पनि बढ्यो। त्यसैले अरनिको राजमार्गलाई चीनसँगको सम्बन्धको पहिलो सेतु मानिन्छ। अब दोस्रो प्रमुख सेतु हुनेछ– नेपालबाट तिब्बतमा हुने सीधा हवाई उडान।’
तिब्बतको ल्हासामा प्रतिवर्ष लगभग १ करोड पर्यटक घुम्न आउने गर्छन्, जसमध्ये ठूलो संख्या चिनियाँ बौद्ध धर्मावलम्बीको हुने गर्छ। यसमा २५ प्रतिशत चिनियाँ पर्यटक मात्रै नेपाल भित्र्याउन सकिए अर्थतन्त्रमा ठूलो टेवा पुग्नेछ।
नेपाल र चीनबीचको सम्बन्धमा केही ऐतिहासिक व्यक्तिले कोसेढुंगाको काम गरेका छन्। पाँचौं शताब्दीमा बुद्धभद्रले बुद्धसूत्रको अनुवाद गर्दै चीनमा बुद्ध धर्मको प्रचार गर्ने काम गरे।
सातौं शताब्दीमा बेहुली बनेर तिब्बत गएकी राजकुमारी भृकुटीले नेपाली कला र संस्कृतिलाई तिब्बतभर छर्ने काम गरिन्। १३औं शताब्दीमा अरनिकोले चीनलाई कर्म थलो बनाएर नेपाली वास्तुकलालाई चीनमा परिचित गराए।चिनियाँले गौतम बुद्ध जन्मिएको देश र एक असल मित्र राष्ट्र भनेर मान्छ।
एक चीन नीतिप्रति नेपालको प्रतिबद्धता रहेको छ। कोम्निङ, बेइजिङ, संघाई, क्विङ्डाओ, चोंकुइङ, कोङिमङपछि ल्हासामा समेत गरेर ६ गन्तव्यमा उडान हुन थालेको हो। हिमालयन एयरलाइन्स ल्हासामा उडान गर्ने पहिलो विदेशी कम्पनीको रुपमा रहेको छ।