काठमाडौं। प्याजको मूल्य घट्न थालेको छ। भारतको प्रतिबन्धपछि बढेको प्याजको मूल्य चिनियाँ प्याज आएपछि घट्न थालेको नेपाल कृषि उपज आलु प्याज आयात तथा थोक विक्रेता संघ महासचिव प्रकाश गजुरेलले बताए।
‘अहिले दैनिकजसो २५/३० टन चिनियाँ प्याज आइरहेको छ। त्यसकारण यो हप्ता सुरुवातदेखि मूल्य घट्न थालेको हो,’ उनले भने।
गत मंसिर अन्तिम साता किलोको डेढ सयसम्म पुगेको प्याजको भाउ कालीमाटी बजारमा न्यूनतम ८० रुपैयाँसम्म झरेको छ। त्यस्तै भारतीय प्याजको मूल्य अधिकतम १ सय रुपैयाँमा झरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।
भारतले प्रतिबन्ध लगाए पनि भारतीय प्याज प्रशस्तै आइरहेको उनले बताए। ‘भारतले प्रतिबन्ध लगाए पनि दैनिक २० देखि ४० टन भारतीय प्याज आइरहेको छ। नेपालमा प्याज उत्पादन नहुने भएकाले ती प्याजबाट सरकारले पाउने राजस्व गुमिरहेको छ,’ उनले भने।
राजस्व चुहावट रोक्न सरकारले कूटनीतिक पहल गरेर यस्ता प्रतिबन्ध नलगाउन पहल गर्नुपर्ने उनको तर्क छ।
भारतले गत मंसिर २३ देखि प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो। त्यहाँको वैदेशिक व्यापार महानिर्देशनालयले राजपत्र प्रकाशित गर्दै डिसेम्बर अन्तिमसम्मको प्याज निर्यातको कसिलो व्यवस्था परिमार्जन गर्दै निर्यातमा नै प्रतिबन्ध लगाएको हो।
५ महिनामा ३ करोड बढीको प्याज आयात
पछिल्लो ५ महिनामा ३ करोडभन्दा बढीको प्याज आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार यो अवधिमा भारत र चीनबाट ३ करोड २५ लाख ७ हजार रुपैयाँको १ लाख ६७ हजार ८ सय ९२ किलो प्याज आयात भएको छ। यसबाट सरकारले ८१ लाख ८४ हजार राजस्व संकलन गरेको थियो।