काठमाडौं। आजभन्दा करिब ३० वर्ष अगाडि नेपालमा भर्खर आधुनिक घरहरू निर्माण सुरु हुने प्रक्रिया बढ्दै थियो। सोही क्रममा रङरोगनको माग पनि बिस्तारै बढ्दै थियो।
चितवन भरतपुरका तीन दाजुभाइ गुणनिधि, लक्ष्मण र मधुसुदन अर्यालले अवसर खोजी गरिरहेका थिए। सुरुमा उनीहरूले कपडा धुने सर्फ, नेल पोलिसलगायत उत्पादन गरे पनि चित्तबुझ्दो व्यापार भएन।
५० को दशक सुरुमै बढ्दो आधुनिक घर निर्माणको अवसर देखेर तीनै दाजुभाइबीच रङ उद्योग सुरु गर्ने सल्लाह भयो। भरतपुरमै उद्योग स्थापना भयो। अपरेसन, मार्केटिङ र सप्लाइको काम दाजुभाइमा बाँडियो। समयको आवश्यकता, अर्याल दाजुभाइको टिमवर्क र मिहिनेतले पेन्ट्स उद्योगमा उनीहरू सफल हुँदै गए। जसका कारण तीन दशकदेखि अनवरत यात्रामा छ जस्मिन पेन्ट्स।
उद्योगको नेतृत्व गरिरहेका छन् लक्ष्मणले। सामान्य पारिवारिक पृष्ठभूमि अनि सामान्य लगानीबाट सुरु भएको जस्मिन पेन्ट्स अहिले स्वदेशी पेन्ट्स उद्योगको क्षेत्रमा उत्कृष्ट बन्न सफल भएको छ।
अर्यालका अनुसार मुलुकभरिका करिब ६० जिल्लाका १ हजार डिलरले जस्मिन पेन्ट्सको व्यापार प्रवर्द्धनमा सहयोग गरिरहेका छन। अहिले उद्योगमा मात्रै २ सयभन्दा बढीले रोजगारी पाएका छन।
उद्योगले हालै ताइवानको इनाेभेसन टेक्नोलोजी पेन्ट्स कम्पनी लिमिटेडसँग टेक्नोलोजी कोलाबोरेसन पार्टनरसिपसमेत गरेको छ। भविष्यमा नवीन प्रविधि र उपभोक्ताको मागअनुसार अझ उत्कृष्ट उत्पादन बजार ल्याउने उद्योगको योजना छ।
दैनिक २० टनसम्म उत्पादन क्षमता
सुरुवाती समयमा दैनिक १ टनमात्रै उत्पादन गरेको यस उद्योगले हाल दैनिक २० टनसम्म उत्पादन गर्दछ। जस्मिन पेन्ट्सका हाल अत्यधिक रुचाइएका उत्पादनमा बाहिरी भित्ताका लागि कुल पेन्ट्स, रोयल ग्लेज, वेदर केयर छन् भने भित्री भित्ताका लागि होम, ट्रिम, म्याजोलिका इमल्सन छन।
यस्तै अन्य रङरोगनका लागि आवश्यक इनामेल, डिस्टेम्पर, प्राइमर, ड्याम कन्ट्रोल पनि उद्योगमा उत्पादन तथा बिक्री हुँदै आएको छ। साथै, आगामी दिनमा थप नयाँ उत्पादन ल्याउने गरी काम भइरहेको कम्पनीका नेसनल सेल्स म्यानेजर डिल्लीराम पौडेलले बताए।
सामाजिक उत्तरदायित्व
उद्योगले सामाजिक उत्तरदायित्वअन्तर्गत खासगरी बालबालिका र वृद्धवृद्धालाई सहयोग गर्दै आइरहेको छ। साथै, मिसीका फाउन्डेसनमार्फत विभिन्न स्कुलमा पनि सहयोग गर्दै आइरहेको छ। २०७२ को भूकम्पपछि पर्यटकका लागि नेपाल सुरक्षित छ भन्ने सन्देश दिँदै जस्मिन पेन्ट्सको झण्डा सगरमाथामा फहराइएको थियो।
विश्वकै ठूलो ढाका टोपी निर्माण गरी त्यसको विभिन्न मेला र पर्वहरूमा प्रदर्शन गर्दै आएको अर्याल बताउँछन्। वार्षिकोत्सवका अवसरमा उद्योगले रक्तदान तथा विभिन्न सहयोगलगायत सामाजिक काम गरिने अर्यालले जानकारी दिए।
अवार्ड र सर्टिफिकेसन
२०५१ सालबाट पेन्ट्स उत्पादन सुरु गरेको जस्मिनले विभिन्न माइलस्टोन पार गर्दै नेपालकै नम्बर एक पेन्ट्स बन्न पुगेको कम्पनीका निर्देशक मधुसुदन अर्याल बताउँछन्। उनका अनुसार उद्योगमा अहिले अर्बभन्दा बढी लगानी पुगिसकेको छ। यसबीचमा कम्पनीका उत्पादनले आइएसओ गुणस्तर चिह्न ९००१⁄२००० सर्टिफिकेसन पाइसकेको छ।
यस्तै जस्मिन पेन्ट्सले सन् २०१८ मा ‘इन्टरनेसनल बिआइडी क्वालिटी अचिभमेन्ट गोल्ड अवार्ड लन्डन‘ र 'नेपाल बेस्ट ब्रान्ड लिडरसिप अवार्ड २०१८' पाइसकेको छ। साथै, भरतपुर महानगरपालिकाले त्यस क्षेत्रकै उत्कृष्ट उद्योग तथा उत्कृष्ट करदाताका रूपमा सम्मानित गरेको छ।