काठमाडौं । बाग्मतीको सहायक नदि नख्खु खोला आसपासमा करिडोरको पहिलो प्याकेज अन्तरगतको काम ४२ प्रतिशत सम्पन्न भएको छ । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत बिकास समितिले उपत्यकाका बाग्मती नदीलगायत यसका सहायक नदीहरुमा करिडोर बनाउने योजना अनुरुप नख्खु करिडोरमा दुई ओटा प्याकेज बनाएर काम अगाडी बढाएको छ ।
करिडोरको पहिलो प्याकेजको काम दुई बर्षमा सकाउने गरी २०७५ मा सम्झौता भएको हो । करिव ६० करोड लागतमा सम्पन्न गर्ने गरी कालिका कन्ट्रक्सनले करिडोर निर्माणको जिम्मा लिएको छ । २०२१ सालको नापी अनुसार खोलाको बहाब क्षेत्र १३ मीटर र दुबैतर्फ किनाराबाट १२÷१२ मिटर करिडोरको मापदण्ड निर्धारण गरी काम अगाडी बढाएको समितिका इन्जिनियर कमल अर्यालले बताए ।
पहिलो प्याकेज बाग्मती दोभानदेखि कान्तिपुर कोलोनीसम्म ३५ सय मिटर रहेको छ । त्यहाबाट अगाडी भने दोस्रो प्याकेज बनाएर २२ सय मिटर काम अगाडी बढाउने तयारी भएको छ । दोस्रो प्याकेजको करिडोर निर्माण अगाडी बढाउन २०७६ भदौ २४ गते दुई बर्षभित्र निर्माण सकने गरी अमर कन्ट्रक्सन प्रालिसँग सम्झौता गरिसकेको छ । उनले भने ‘अहिले दुबै प्याकेजको काम निरन्तर अगाडी बढेको र बिचमा कुनै समस्या नआए निर्धारित समयमा नै निर्माण सक्ने छौ ।’
नख्खु खोलाको करिडोर निर्माणमा दुबै तर्फ ढलको पाईप बिछ्याउने, २ सय भन्दा बढी म्यानहोल, सबै ठाँउमा ७ मिटर चौडाइ सहित कालोपत्रे सडक, तटबन्ध निर्माण र अन्य ठाउँको सडकमा ट्राफिक संकेत, जेब्रा क्रसिङ बनाउने गरी योजना अगाडी बनाइएको आयोजना प्रमुख लिलाप्रसाद ढकालले बताए ।
उनका अनुसार उपत्यकाका नदीमा करिडोर निर्माणमा गर्ने कार्य पुरानो भए पनि अहिले समितिले प्राथमिकताका दिएको छ । ‘सोहि कारण सकेसम्म चाडै करिडोर निर्माण सम्पन्न गर्न समिति अगाडी बढेको छ,’ उनले भने ‘करिडोर निर्माण गर्दा विविध समस्या आएकाले पनि निर्माण कार्यमा ढिलाई हुदै गएको छ ।’ करिडोर निर्माण कार्य निर्माण सम्पन्न हुने मिति भने अहिले तय गर्न नसकिने समितिको भनाई छ ।