काठमाडौं। पूर्वअर्थमन्त्री एवं सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले उद्योगको लाइन काटेर महिनौंसम्म छलफल र बहस गर्नु राज्यका लागि घाटाको विषय भएको बताएका छन्।
उद्योगी र विद्युत प्राधिकरणबीच विद्युत् बक्यौता विषयमा जारी विवादलाई लिएर पूर्वअर्थमन्त्री शर्माले यस्तो टिप्पणी गरेका हुन्।
‘देशलाई औद्योगिकीकरण गर्दै विद्युत् खपत बढाउने काम गर्नुपर्ने बेला उद्योगमा विद्युत् लाइन काट्ने निर्णय ठिक कि बेठिक भनेर बहस चल्नु दुर्भाग्यपूर्ण छ,’ शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसबारे कुरा स्पष्ट छ, प्रयोग गरेको बिजुलीको बिल तिर्नुपर्छ, प्रयोग नगरेको तिर्नुपर्दैन। प्राधिकरणले फर्जी बिल काटेको भन्ने आरोपको खण्डन गर्न सक्नुपर्छ।’
शर्माले टाइम अफ डे (टिओडी) मिटरमा रेकर्ड नभएको बिल बनाई नभएको आम्दानीको आत्मरतिमा रमाउनु गलत भएको बताएका छन्। ‘उद्योगको लाइन काटेर महिनौंसम्म छलफल, बहस, अड्डा अदालत गरेर उद्योग बन्द गर्ने/गराउने कार्यले निकासी भइरहेका सिमेन्ट, जस्तापातालगायत सामग्रीको उत्पादन बन्द हुँदा उद्योगीलाई मात्र हैन, देशलाई नै घाटा हुन्छ,’ शर्माले लेखेका छन्।
देशलाई औद्योगिकीकरण गर्दै विद्युत् खपत बढाउने काम गर्नुपर्ने बेला उद्योगमा विद्युत् लाइन काट्ने निर्णय ठिक कि बेठिक भनेर बहस चल्नु दुर्भाग्यपूर्ण छ,’ शर्माले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले तत्काल टिओडी मिटरको रेकर्ड सार्वजनिक गर्न माग गरेका छन्। यसले नै तिर्नुपर्ने र नपर्ने कुराको छिनोफानो गर्ने उनको भनाइ छ। ‘औद्योगिकीकरणका लागि सबैले आफूसक्दो प्रोत्साहन गरौं, नसके निरुत्साहन नगरौं,’ शर्माले लेखेका छन्।