काठमाडौं। फर्जी बिलको रकम नदिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को निर्देशनमा शुक्रबारदेखि ठूला उद्योगमा नेपाल विद्युत प्राधिकरणले बिजुली काटेपछि यतिबेला व्यवसायी त्रासमा छन्।
प्रयोग नै नगरेको बिजुलीको फर्जी बिल नतिर्ने अडानमा रहेका ६१ उद्योगमध्ये हालसम्म ९ वटा उद्योगमा बिजुली काटिइसकेको छ।
बिजुली काटिएपछि समस्यामा परेका उद्योगी व्यवसायी तत्कालै मध्यमार्गी बाटोबाट समस्या समधान गर्न सरकारलाई अनुरोध गरिरहेका छन्। तर, सरकारले उद्योगी व्यवसायीको कुरा सुनिरहेको छैन।
विद्युत् काटिएको ६ दिन वितिसक्दा समेत सरकारले समस्या समधानका लागि कुनै पहल नगरेपछि अहिले उद्योगी व्यवसायीहरु राजनीतिक लबिइङमा लागेका छन्। राजनीतिक दलका नेतृत्वसँग भेटेर आफ्नो समस्या सुनाउँदै तत्कालै समधान गरिदिन अनुरोध गरिरहेका छन्।
सभापति र अध्यक्षसँगको भेटमा आफूहरुले प्राधिकरणलाई कुनै पनि रकम तिर्न बाँकी नरहेको र मुद्दा अदालतमा विचाराधीन रहेकै बेला एक्कासि बिजुली काट्दा समस्या परेको गुनासो व्यवसायीले राखेका छन्।
नेपाल उद्योग परिसंघको अगुवाइमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरिसकेका छन्। सभापति र अध्यक्षसँगको भेटमा आफूहरुले प्राधिकरणलाई कुनै पनि रकम तिर्न बाँकी नरहेको र मुद्दा अदालतमा विचाराधीन रहेकै बेला एक्कासि बिजुली काट्दा समस्या परेको गुनासो व्यवसायीले राखेका छन्।
अर्बौं रुपैयाँ लगानी गरेर लाखौंलाई रोजगारी दिइरहेका उद्योगी, व्यवसायीलाई सरकारको तर्फबाट प्रोत्साहन दिनुपर्ने बेला उल्टै बिजुली काटेर दुःख दिन नहुने कांग्रेस सभापति देउवाको भनाइ छ। उनले उद्योगीको समस्या समाधानका लागि सरकारसँग कूरा गर्ने आश्वासनसमेत दिएको भेटमा सहभागी एक उद्योगीले बताए।
एमाले अध्यक्ष ओलीले यसअघि नै सार्वजनिक कार्यक्रममा उद्योगको बिजुली काट्नु गल्ती भएको भन्दै तत्काल जोडिदिन अनुरोध गरिसकेका छन्। प्रयोग नै नगरेको बिजुलीको रकम तिर भनेर औद्योगिक वातावरण बिगार्न सरकार लागिरहेको आरोप उनले लगाएका थिए।
उद्योगीसँग मंगलबारको भेटमा पनि उनले सरकारले बिजुली काटेर गल्ती गरेको भन्दै एमालेबाट सरकारसँग कुरा गर्ने प्रतिबद्धता जनाए।
परिसंघ उपाध्यक्ष अमित मोरसहितका उद्योगीले राजनीतिक नेतृत्वको ध्यानाकर्षण गराएका हुन्। सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णु न्यौपानेले प्राधिकरण र उद्योगीबीच संवाद हुन सके समस्या तत्कालै समाधान हुने बताए।
‘यसका लागि प्राधिकरण उद्योगी, व्यवसायीसँग बस्न तयार हुनुपर्छ,’ अध्यक्ष न्यौपानेले भने, ‘सरकारले पहल गरिदिओस।’ प्राधिकरणले भने जसरी कुनै पनि उद्योगले बिजुली प्रयोग गरेको पाइए तत्कालै तिर्न तयार रहेको बताइरहेका उद्योगीबाट भइरहेको समस्या समाधानको पहलमा प्राधिकरणले चासो नदिएको उनले औंल्याए।
प्राधिकरणले बिजुली काटेपछि बेरोजगार भएका श्रमिकले शनिबारदेखि नै चरणबद्ध आन्दोलन गरिरहेका छन्।