बागलुङ। बागलुङमा गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला तथा सातौं बागलुङ महोत्सव सुरु भएको छ। बुधबार महोत्सव उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका हुन्।
महोत्सव उद्घघाटन गर्दै राष्ट्रपति पौडेलले नेपालका सातमध्ये सबैभन्दा बढी ‘ब्युटिफूल’ प्रदेश गण्डकी प्रदेश भएको र उद्योग, व्यवसायको सम्भावना धेरै रहेको बताए। उनले दुई छिमेकी चीन र भारतलाई जोड्ने सडक मार्ग कालीगण्डकी करिडोर भएकाले गण्डकीको समृद्धिमा सघाउ पुग्ने विश्वास व्यक्त गरे।
‘हिजो संविधान बनाउँदा पनि संविधानसभामा ठूलो लडाइँ लड्नुपरेको बागलुङको ढोरपाटनलाई बचाउनसमेत मैले भूमिका खेलेको हुँ’, राष्ट्रपति पौडेलले विगत स्मरण गरे।
कालीगण्डकी करिडोर र मध्यपहाडी राजमार्ग बागलुङको मात्र नभएर समग्र गण्डकी प्रदेशको गौरव भएको उनको भनाइ थियो।
कार्यक्रममा नेपाल उद्योग पाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले मेला, महोत्सवले स्थानीय उत्पादनलाई बजारीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
२१ पुससम्म सञ्चालन हुने महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेला स्तरमा विकास गर्ने अपेक्षाका साथ सञ्चालन गरिएको हो।
महोत्सव मूल आयोजक समिति संयोजक एवं बागलुङ उद्योग वाणिज्य संघ अध्यक्ष नरेश कँडेलका अनुसार महोत्सवमा १६९ स्टल राखिएका छन्।
धौलागिरि बहुमुखी क्याम्पस पसिरमा सुरु भएको महोत्सवमा विभिन्न जातजातिका झाँकी, स्थानीय कला–संस्कृति, कृषि उत्पादतनलगायत प्रदर्शनीमा राखिएको छ। महोत्सवमा बागलुङका स्थानीय उत्पादन बिक्री–वितरणका लागि राखिएको छ।
यसैगरी महोत्सवमा ताराखोलाको स्थानीय उत्पादन आलु, अल्लो कपडालगायत उत्पादन, सिगाना र बिहुँको सुन्तला प्रदर्शनी तथा बिक्रीमा राखिएको छ।
बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सव उद्घाटन अवसरमा संघीय सांसद चित्रबहादुर केसी, गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापा, पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष पवन प्रजापतिलगायत सहभागी थिए।