काठमाडौं। बिहीबारदेखि भृकुटीमण्डपको प्रदर्शनी हलमा आठौं संस्करणको रियलस्टेट एक्स्पो सुरु हुने भएको छ। १५ पुससम्म चल्ने एक्स्पो ६५ हजार बढी दर्शकले अवलोकन गर्ने र ६० बढी स्टल रहने आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिए।
यस पटकको मेलाले सर्वसाधारणमा घरजग्गा व्यवसायको वर्तमान अवस्था तथा यसका समस्या र समाधानका उपायसहित भावी अवसरका विषयमा सूचना तथा जानकारी उपलब्ध गराई व्यवसाय विस्तारमा थप योगदान दिने आयोजकको अपेक्षा छ।
व्यवसायी र उपभोक्तालाई एकै थलोमा भेला गराई घरजग्गा कारोबारबारे जानकारी दिने तथा नेपाली रियलस्टेट व्यवसायको स्थिति, छनोट र मूल्यबारे एक्स्पोमा जानकारी लिन सकिनेछ।
मेलामा सहभाागी स्वदेशी तथा विदेशी कम्पनीले आ–आफ्ना सेवा तथा उत्पादन प्रदर्शन गर्नेछन्। मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेन्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्री उत्पादक तथा बिक्रेता, इन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बिमा कम्पनीको सहभागिता रहनेछ।
मेलामा विद्युतीय सामान, फर्निचर, पाइप, स्यानिटरी वेयर्स फिटिङ, पेन्टस्, सवारी साधन, सजावटका सामान, बिमा, बैंकिङ तथा वास्तुकलालगायत व्यवसायमा संलग्न व्यवसायीले आ–आफ्ना उत्पादन प्रदर्शनीका साथै परामर्श सेवासमेत उपलब्ध गराउनेछन्।