काठमाडौं। भूकम्प प्रभावित रुकुम पश्चिम आठबिसकोट टाकुराको जनविकास माविका २६५ विद्यार्थीलाई चाइल्ड सपोर्ट अर्गनाइजेसन, आइजिसी बिजनेस होल्डिङ्स र क्यापिटल नेपालको सहयोगमा ट्रयाक सुट, स्कुल ब्याग, शैक्षिक र खेलकुद सामग्री वितरण गरिएको छ।
जाजरकोटको नलगाढलाई केन्द्रबिन्दु बनाएर गत कात्तिक १८ मा गएको भूकम्पले कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको थियो। भूकम्पमा परेर १ सय ५७ जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए।
रुकुम पश्चिमको जनविकास माविको भवन भत्किएर विद्यार्थीहरू प्लास्टिकको पालमा बसेरै अध्ययन गरिरहेका छन्। सोही स्कुलका ३ जना विद्यार्थीको भूकम्पमा परेर मृत्यु भएको थियो भने केही विद्यार्थी घाइते भएका छन्।
भूकम्पमा परेर केही विद्यार्थीले आफ्ना अभिभावकसमेत गुमाएका छन्। स्कुलमा अध्ययनरत २ सय ६५ विद्यार्थीलाई चाइल्ड सपोर्ट अर्गनाइजेसन, आइजिसी बिजनेस होल्डिङ्स र क्यापिटल नेपालको सहयोगमा ८ लाख बढीको सहयोग स्कुलमै पुगेर उपलब्ध गराइएको हो।
सहयोग तथा राहत वितरण कार्यक्रममा चाइल्ड सपोर्ट अर्गनाइजेसनका अध्यक्ष सन टेकनाकले भूकम्प प्रभावित विद्यालयका विद्यार्थीलाई सहयोग आवश्यक देखिएकै कारण रुकुम पश्चिमका आएर वितरण गरिएको बताए।
‘हामीले २०७२ भूकम्पपछि प्रभावित क्षेत्रका बालबालिकालाई पनि सहयोग गरेका थियौं। अहिले पनि दुःखमा साथ छौं’, उनले भने। राहतका लागिका लागि अर्गनाइजेसनका अध्यक्ष टेकनाकको पहलमार्फत नेपाल र जापानमा सहयोग उठेको थियो।
क्यापिटल नेपालका प्रबन्ध निर्देशक प्रकटकुमारले एकातिर विद्यालयको भवन भत्किएर पठनपाठन अवरुद्ध भएको र अर्काेतिर चिसोले प्रभावित विद्यार्थीको जनजीवन कठिन भएको समय सहयोग र राहत उपलब्ध गराउन पाउँदा दुःखको समय साथमा रहेको अनुभूति भएको बताए।
कार्यक्रममा स्कुलका प्रधानाध्यापक दीपक संगम थापाले पश्चिम रुकुमको विकट ठाउँमा भूकम्पपछि पर्याप्त राहत र विद्यार्थीलाई सहयोग नआइरहेका बेला संस्थाले स्कुलमै आएर सहयोग गरेकामा धन्यवाद दिए।
रुकुम पश्चिमको जनविकास माविको भवन भत्किएर विद्यार्थीहरू प्लास्टिकको पालमा बसेरै अध्ययन गरिरहेका छन्। सोही स्कुलका ३ जना विद्यार्थीको भूकम्पमा परेर मृत्यु भएको थियो भने केही विद्यार्थी घाइते भएका छन्।
त्यस्तै, जैमिनी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष केन्द्र रसाइलीले विपद् र दुःखमा सबै एकसाथ हुनुपर्ने बताउँदै राज्यबाट दु्रत उद्धार हुनुपर्नेमा एक कदम अगाडि संस्था र निजी क्षेत्र पुगेर राहत दिएको बताए।
चाइल्ड सपोर्ट अर्गनाइजेसनले विगत ५ वर्षदेखि नेपालका अनाथ बालबालिकाका लागि सक्रिय रुपमा काम गर्दै आएको छ। संस्थाले काठमाडौंको टोखा क्षेत्रमा करिब १४ आना जग्गा खरिद गरी १८ कोठे भवन निर्माण गरेको छ। उक्त भवनमा ३२ जना अनाथ बालबालिकालाई राखिएको छ। संस्थाले नेपालको स्वास्थ्य तथा शिक्षामा सहयोग पुर्याउँदै आएको छ।