काठमाडौं। फर्जी बिलको जबर्जस्ती भुक्तानी माग्दै नेपाल विद्युत प्राधिकरणले उद्योगमा बिजुली काटेपछि त्यहाँ कार्यरत मजदुर बेरोजगार बनेका छन्। सरकारकै नालायकीका कारण आफूहरू बेरोजगार भएको भन्दै बिजुली माग्दै मजदुर आन्दोलनमा उत्रिएका हुन्।
शुक्रबारदेखि प्राधिकरणले विभिन्न ९ ठूला उद्योगमा लाइन काटेको थियो। लाइन काटेपछि रोजगार गुमाएका मजदुर बिजुली माग्दै नजिकको विद्युत प्राधिकरणका कार्यालय घेराउ गर्न पुगेका छन्।
बुधबार बिहान जगदम्बा स्टिल, त्रिवेणी स्पिनिङ मिल्स र हुलास स्टिलमा कार्यरत मजदुर आन्दोलनमा उत्रिएका हुन्। जगदम्बा स्टिलमा करिब ३ हजार ५ सय, त्रिवेणी स्पिनिङमा करिब २ हजार ५ सय र हुलास स्टिलमा करिब १ हजार ५ सय मजदुर छन्।
शुक्रबारदेखि उत्पन्न विवाद मिलाउन हालसम्म सरकारी निकायबाट कुनै पहल भएको छैन। उद्योगमा बिजुली नै काटिएपछि मजदुरलाई बिदा दिइएको छ। पहिलो चरणमा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई उद्योगले हटाइरहेको र बिस्तारै अन्य कर्मचारी पनि कटौती गर्ने योजना व्यवसायीले बनाइरहेका छन्।
उद्योग बन्द भएर रोजगार गुमेको भन्दै रिलायन्स स्पिनिङ मिल्सका मजदुर आन्दोलित भएका छन्। सुनसरी खनारस्थित मिल्सका मजदुर आइतबारदेखि सडक आन्दोलनमा उत्रिएका हुन्। यसरी प्राधिकरणले विद्युत् कटौती गरेपछि बेरोजगार बनेका सयौं मजदुर आन्दोलनमा उत्रिएका हुन्।
जगदम्बा स्टिलका प्रबन्ध निर्देशक साहिल अग्रवालले आफ्ना मजदुर बिजुली माग्दै प्राधिकरण घेराउमा पुगेको बताए। ‘हामी चाहन्छौं मजदुरहरूले आन्दोलन गर्नुपर्ने स्थिति नआओस्’ अग्रवालले भने, ‘बेरोजगार भएपछिको अन्तिम विकल्पका रूपमा उनीहरूले लिएको हुनुपर्छ।’
सर्वोत्तम सिमेन्ट अध्यक्ष विष्णु न्यौपानले जेनेरेटरका भरमा उद्योग चलाउन सहज नभएकाले ज्यालादारीका कर्मचारी धमाधम कटौती गर्न थालिएको बताए।
‘हाम्रो रहर होइन बाध्यता हो,’ अध्यक्ष न्यौपानेले भने, ‘रोजगारी गुमेका मजदुरहरूले आन्दोलन गर्न सुरु गरेका छन्, जुन हाम्रा लागि राम्रो होइन।’
काम गर्ने मजदुरलाई बाध्य बनाएर आन्दोलन गराएको बताउँदै यसको समाधान तत्कालै सरकारले गर्नुपर्ने उनको भनाइ छ।